Comments Add Comment

मेरा लागि सरस्वतीले आफ्नो राजनीतिक करिअर बली चढाइन्

pradeep gyawali (1)त्यो पहिलो ‘भेटवार्ता’

हाम्रो पहिलो भेट २०४० साल फागुन २६ गते भएको हो । त्यतिबेला म भूमिगत थिएँ । जीवनसाथीको आवश्यकता महसुस हुन थालेपछि विवाहका लागि पार्टीमा औपचारिक प्रस्ताव राखेँ ।

त्यतिबेला पार्टीको पूर्णकालीन कार्यकर्ताले आफूखुशी विवाह गर्न सक्दैनथे । सामान्यतया पार्टीले नै उपयुक्त पात्रको चयन गरेर विवाहको चाँजो मिलाउँथ्यो । यदि कसैको प्रेम सम्वन्ध छ भने पार्टीबाट अनुमोदन गराएर पार्टी नेताको उपस्थितिमा जनवादी बिहे गर्ने प्रचलन थियो ।

मेरो हकमा प्रेमसम्वन्ध टाढाको विषयवस्तु थियो, म महिला कामरेडहरुसँग बोल्न पनि धकाउँथे । त्यसैले पार्टीलाई नै जिम्मेवारी दिएँ ।

त्यतिबेला युवराज ज्ञवाली गुल्मी जिल्लाको पार्टी सचिव हुनुहुन्थ्यो भने म सदस्य थिएँ । उहाँमार्फत हाम्रो राजनीतिक अविभावक जीवराज आश्रितसम्म कुरा पुग्यो र मेरा लागि ‘उम्मेदवार’ खोज्ने प्रक्रिया अगाडि बढ्यो ।

आश्रितले चिनेजानेकी एक जना रहिछन् पाल्पामा । खास नाम सरस्वती र राजनीतिक नाम किरण । पार्टीले दिएको जिम्मेवारी अन्तरगत पाल्पाली ढाका उद्योगमा मजदुरको आवरणमा संगठनका लागि काम गरिरहेकी रहिछन् । पढ्दै पनि रहिछन् । दुवैलाई सिधासाधा देखेर आश्रितले यिनीहरुको जोडी मिल्छ भन्ने लेखाजोखा गर्नुभयो र मलाई त्यो खबर भयो ।

अनि हामी दुईजनाको भेटघाटको प्रवन्ध पनि पार्टीका साथीहरुले नै मिलाउनुभयो, तानसेनको एकजना कामरेडको डेरामा । त्यहाँ तेस्रो पक्षको मध्यस्थताबिना हामीले औपचारिक कुराकानी गर्‍यौं । त्यो कुराकानी सम्भावित वर-बधुका रुपमा भन्दा पनि पार्टीका दुई सहयोद्धाका रुपमा थियो । मूलतः राजनीतिक विषयमा नै संवाद केन्द्रित रह्यो ।

मैले जीवनमा कुनै पनि परस्त्रीसँग एक्ला एक्लै कुरा गरेको त्यो पहिलो पटक थियो । त्यसैले निकै शर्माएँ । खास विषयवस्तुमा प्रवेश गर्न पनि धेरैबेर लाग्यो ।

अन्ततः मैले कुरा उप्काएँ, ‘हाम्रो विवाहको विषयमा पार्टीमा छलफल चलेको छ, कमरेडको के राय छ ?’

मैले आफ्नो पारिवारिक पृष्ठभूमि, भूमिगत राजनीतिको जोखिम, कमजोर आर्थिक अवस्था लगायतका पक्षबारे विस्तृतमा चर्चा गरेँ ।

‘मेरो कुनै कमाइ छैन, पूर्णकालीन राजनीतिमा छु । जेजस्तो भए पनि जीवनमा एउटा सहयात्रीको आवश्यकता हुँदोरहेछ,’ मैले भनें, ‘यदि जोखिम लिन तयार हनुहुन्छ भने कुरा अगाडि बढाऔं । तर, मसित बिहे गरेर सुख पाइन्छ भन्ने नसोच्नुस् । ‘

उनले पार्टीको होलटाइमरसँग नै बिहे गर्ने सोच बनाएकी रहिछन् । उनका दाइ पनि पार्टीमा संगठित हुनुहुँदोरहेछ । उनलाई मैले पार्टीकी एक जुझारु र प्रतिवद्ध कार्यकर्ताका रुपमा पाएँ । उनको बाह्य पक्षमा म गइनँ । महिलाको रुप पक्षमा केन्द्रित हुने हाम्रो स्कुलिङ नै थिएन । खाली आफ्नो राजनीतिक जीवनलाई डटेर साथ दिन सक्छिन् वा सक्दिनन् र वर्ग मिल्छ कि मिल्दैन भन्ने मात्रै मेरो चासोको विषय थियो ।

उनले पनि आफ्नो र परिवारको बारेमा सबै कुरा बताइन् । उनी आइए पढ्दै रहिछन् । परिवार हुनेखाने नै रहेछ । कुरा गर्दै जाँदा हामीबीच वर्गीय असन्तुलनको अवस्था विद्यमान हुन सक्ने आभास मलाई भयो । मेरो परिवार निम्नमध्यम वर्ग थियो भने उनको मध्यम वा उच्चमध्यम भन्न सकिनेजस्तो देखियो ।

कुराकानीको अन्त्यतिर उनले सोधिन्, ‘तपाईं कतै जागिर पनि गर्नुहुन्छ कि ?’

‘सारा रामायण पढायो सीता कस्की जोई ?’ भनेजस्तो प्रश्न मलाई त्यति प्रितिकर लागेन । उनले मेरो मन बुझ्न सो प्रश्न गरेकी रहिछन् । म मुसुक्क हाँसेँ मात्र ।

उक्त भेटमा कुनै पनि निष्कर्ष निस्केन । तथापि, छलफललाई अगाडि बढाउँदै जाने सहमति भयो । हामी दोधार-दोधारकै अवस्थामा हात मिलाएर छुट्टयिौं ।

हात मिलाएर बिहे

उनलाई परिवारबाट विहेका लागि चर्को दबाव आइरहेको रहेछ । परिवारले ‘कोही केटा आफूले रोजेको छ भने सकार, नत्र हामीले खोजिदिएकोसँग बिहे गर’ भनेर लगातार दबाव दिएपछि उनले पार्टीमा कुरा राखिछन् । त्यसपछि मसम्म कुरा आइपुग्यो ।

पार्टीका कामरेडहरुले मलाई ‘के गर्ने हो, चाँडो टुंगो लगाउनुपर्‍यो’ भनेर ताकेता गरेपछि मैले फेरि एकपटक भेट्ने प्रस्ताव राखेँ । भेटघाटको प्रवन्ध पार्टीले मिलायो र म फेरि पाल्पा गएँ । यो जेठ महिनाको कुरा हो । दोस्रो भेटमा राजनीतिक कम र व्यक्तिगत कुराकानीहरु ज्यादा भए ।

उनले मलाई पार्टीको असल र इमान्दार मान्छेका रुपमा बुझ्न थालेकी रहिछन् । आफूमाथि परिवारबाट आएको दबावका विषयमा उनले कुरा राखिन् । मैले बिहेको विषयमा सकारात्मक भावबाट कुरा गरेँ । सो भेटबाट हामी एक-अर्काप्रति नजिकियौं ।

तेस्रो भेट साउनमा भयो । त्यतिबेला बिहे गर्ने लगभग निधो जस्तो भएको थियो । हामीले जीवनका विभिन्न आयामहरुको विषयमा कुरा गर्‍यौं । भविष्यको कुरा गर्‍यौं । मैले आफू कुनै पनिबेला पक्राउ पर्न वा मारिन पनि सकिने भन्दै उनलाई जस्तो परिस्थितिको पनि सामना गर्न तयार हुन सल्लाह दिएँ । उनले आफू पनि पूर्णरुपमा राजनीतिक जीवन नै बिताउने सोचमा रहेको भन्दै परिस्थितिसँग नडराउने अठोट गरिन् ।

पाँचौं भेटमा हाम्रो विवाह नै भयो । पाल्पामा एक कार्यकर्ताको घरमा वैवाहिक समारोहको आयोजना पार्टीले गरेको थियो । राति भएको बिहेमा भूमिगत नेता-कार्यकर्ता र स्थानीय शुभचिन्तकहरू सहित करिब ३०-३५ जना उपस्थित थिए । बिहेमा उनका दाजु आउनुभएको थियो । मेरा पनि दाजु हुनुहुन्थ्यो । प्रमुख अतिथि सिद्धिनाथ ज्ञवाली हुनुहुन्थ्यो ।

हामीसँगै अर्को एक जोडी कामरेडहरुको पनि बिहे भएको थियो । दुवैले एक अर्कालाई माला लगाइदियौं र हात मिलायौं । प्रमुख अतिथिले दुवैलाई टीका लगाइदिनुभयो । तीन घन्टा जतिमा कार्यक्रम सकियो ।

त्यसपछि उनको माइत मदनपोखरा गइयो । सुसुरालीमा मैले आफ्नो भूमिगत राजनीतिका बारेमा खुलाउन सक्ने अवस्था थिएन । ससुरा बाले खुट्टामा ढोग्नुभयो । आफ्नो सिद्धान्तविपरीत भए पनि उहाँलाई ढोग्नबाट रोकिनँ । आफ्नो परिचय पनि ढाटेँ । ‘म पोखरा क्याम्पसमा अध्ययन गर्दैछु’ भनेँ । हामीले मन्दिरमा गएर बिहे गरेका हौं भनेर अर्को झूठ बोल्यौं ।

सम्मानित सासू-ससुरासित झूठमाथि झूठ बोल्नुपर्दा मलाई नमज्जा लागिरहेको थियो । एउटा ज्वाइँका रुपमा ससुरालीमा गरिएको स्वागत-सत्कार पनि बोझिलो लाग्यो । साँझ पर्नासाथ हामी त्यहाँबाट हिँड्यौं ।

उनी अर्को कोठामा थिइन् । ढोकैबाट मैले ‘हवस्त कमरेड म गएँ, अभिवादन’ भनेर हात हल्लाएँ र सुइँसुइँ हिँडेँ ।  मानौं, हिजो भएको बिहे एउटा सामान्य भेटघाट मात्रै थियो

अभिवादन भन्दै बाटो लागें

ससुरालीबाट तानसेनमा रहेको सरस्वतीको डेरामा गयौं । त्यहाँ दुईवटा कोठा रहेछन्, उनको साथीको समेत । हामी छुट्टाछुट्टै कोठामा साथीहरुसँग गफिएर बस्यौं । केहीबेरपछि मलाई हिँड्न हतार भयो ।

त्यतिबेला मैले यति गैरजिम्मेवार पारा देखाएँ कि अहिले सम्झिँदा पनि हाँसो उठ्छ । म आफ्नो झोला बोकेर कोठाबाट निस्केँ । उनी अर्को कोठामा थिइन् । ढोकैबाट मैले ‘हवस्त कमरेड म गएँ, अभिवादन’ भनेर हात हल्लाएँ र सुइँसुइँ हिँडेँ ।

हिँड्नु अघि उनीसँग कुनै सरसल्लाह भएको थिएन । मैले उनलाई कि आफूसँगै लैजानुपर्ने थियो, कि यति दिनसम्म यस्तो हिसाबले छुट्टाछुट्टै बसौं भनेर सल्लाह गर्नुपर्ने थियो । तर, मैले उनलाई यत्तिकै छाडेर हिँडिदिएँ, मानौं हिजो भएको बिहे एउटा सामान्य भेटघाट मात्रै थियो ।

म हिँडेपछि बिचरा रणभुल्लमा परिछन् । विवाह भइसकेकी चेली, माइतीमा बसिरहन पनि अप्ठेरो । डेरामा बस्दा पनि सबैले श्रीमानको विषयमा सोधेर हैरान गर्ने । फेरि खर्चबर्चको उस्तै समस्या । लामो समय मैले उनलाई सम्पर्क नै गर्न सकिनँ । उनले पुरानै ठाउँमा काम गरेर दिन काटिछन् । मासिक ७५ रुपैयाँ तलव आउँथ्यो रे ।

केही महिनापछि बल्ल उनको डेरामा आएँ । आफूले प्रदर्शन गरेको गैरजिम्मेवारीपनाका लागि क्षमा मागेँ । हाम्रो लामो कुराकानी भयो । राजनीति र पारिवारिक जीवनलाई कसरी अगाडि बढाउने भनेर सरसल्लाह भयो ।

शुरुमा उनले आफू पनि पार्टीको पूर्णकालीन कार्यकर्ताका रुपमा सक्रिय हुने इच्छा व्यक्त गरिन् । तर, लामो छलफलपछि दुवैजना पार्टीमा पूर्णकालीन हुनु व्यवहारिक हुँदैन भन्ने निष्कर्ष निकालियो । त्यसपछि मैले राजनीति मात्र गर्ने र उनले कुनै पेशा अंगाल्दै पार्टी संगठनलाई सघाउने विषयमा दुवैजना सहमत भयौं ।

त्यसपछि पहिलोचोटि घर (गुल्मी) गइयो । घरमा दाइले विवाहको विषयमा सबैलाई भनिसक्नुभएको थियो । मेरो परिवारमा सबैजना खुशी थिए, विशेष गरेर आमा । पहिलोपल्ट केही दिन बसेर फर्के पनि आइएको परीक्षापछि भने उनी पूर्णरूपमै घरमा बस्न थालिन् ।

pradeep gyawali (2)

साथीहरुसँग कुराकानी गरेर गाउँको स्कुलमा उनले पढाउने चाँजो मिलाइयो । ०४२ को फागुनदेखि उनले गाउँको स्कुलमा पढाउन थालिन् । उनले जागिर खान थालेपछि परिवारलाई पनि भरथेग भयो । जागिर सँगसँगै उनले आफ्नो राजनीतिक जीवनलाई पनि निरन्तरता दिइन् । पारिवारिक जिम्मेवारी, पेशा र राजनीतिलाई सन्तुलनमा राखेर हिँडिन् । त्यही समयमा हो, उनले गुल्मीमा आफूलाई स्थापित गरेको । उनी अनेमसंघ गुल्मीकी संस्थापक जिल्ला अध्यक्ष भइन् । एउटा नितान्त नयाँ ठाउँमा उनले आफूलाई एउटा अग्निपरीक्षामा उत्तीर्ण गराइन् ।

त्यसपछि मेरो कार्यक्षेत्र परिवर्तन भएर अर्घाखाँची पुग्यो । पछि म जिल्ला सचिव भएँ । जिम्मेवारी बढेपछि श्रीमतीसँग भेटघाटको क्रम झनै घट्यो । म साथीहरुमार्फत पत्र पठाउथेँ । तर, उनी भने नियमित जवाफ पठाउन सक्दिनथिन्  । किनकि मेरो स्थायी ठेगाना थिएन ।

पहिलो सन्तानको बेदना

०४४ साल लागिसकेपछि आमाले नातिनातिनाको मुख हेर्ने चाह गर्नुभयो । हामीले पनि सल्लाह गर्‍यौं । जनआन्दोलन हुने चर्चा चल्न थालिसकेको थियो । आन्दोलनमा दुवैजना होमिनुपर्ने हुन्थ्यो र त्यतिबेला जे पनि हुन सक्थ्यो । त्यसैले सन्तान चाहिन्छ भन्ने सल्लाह भयो ।

केही समयपछि उनी गर्भवती भइन् । हामी छोरीको आशामा थियौं । बच्चा पेटमै हुँदा नाम पनि जुराइसकेका थियौं । तर, दुर्भाग्य के भयो भने ७ महिनाको बच्चा पेटमा हुँदा घरमा प्रहरी मलाई खोज्दै छापा मार्न आएछ । म अर्घाखाँचीमा थिएँ । प्रहरी आउँदैछ भन्ने थाहा पाएपछि उनले घरमा भएका चिठीपत्र र डकुमेन्टहरु लुकाएर हतार-हतार लिस्नुबाट र्झन खोज्दा लडिछन्, भैंसी बाँध्ने किलामा बजारिन पुगिछन् । लिस्नु पनि खसेर उनलाई पेटमै किचेछ ।

ढिलोमात्र यो खबर पाएँ  । त्यसपछि पाल्पासम्म पुगेर चेकजाँच गरायौं । पेटको बच्चा सामान्य नै छ भनेर स्वास्थ्यकर्मीहरुले बताए । तर, डेलिभरीचाहिँ हस्पिटलमा गराउनु भनेका थिए । त्यतिबेला अल्ट्रासाउन्ड गर्ने सुविधा पनि थिएन, चेतना पनि थिएन । बच्चा ठिकै छ भनेपछि अलि ढुक्क भयौं ।

तर, उनको प्रि-म्याचुअर्ड डेलिभरी भयो । बच्चा बाहिर आएपछि त सबै अत्तालिनुभएछ । छोरीको सास मात्रै थियो । हाड र छालाको झिनो शरीर । बाँच्छिन् कि बाँच्दिनन् जस्तो अवस्था थियो । १० दिनका दिन लुकीछिपी घर पुगेर पहिलो सन्तानलाई हेर्दा मलाई निकै पीडा भयो ।

जिल्लाका सारा नेता भूमिगत अवस्थाबाट खुल्ला भएर घर-घर पुग्दा पनि गाउँमा मेरो अत्तोपत्तो थिएन । मारिनुभयो भन्ने हल्ला छ भनेर सरस्वतीलाई सुनाउँदा रहेछन्

सरस्वतीले छोरीलाई जतिसक्दो स्याहारिन् । आमाले पनि पूर्ण हेरबिचार गर्नुभयो । तर, ५-६ महिना हुँदासम्म पनि छोरीमा केही प्रगति देखिएन । बोलाउँदा कत्ति पनि रेस्पोन्स नगर्ने र चल्दा पनि नचल्ने भएपछि आँखाको समस्या हो कि भनेर भैरहवा आँखा अस्पतालमा पुर्‍याइयो ।

तर, आँखाको समस्या होइन भनेर त्यहाँबाट बुटबल अञ्चल अस्पतालमा रिफर गरिदिए । त्यहाँ बाल विशेषज्ञ डाक्टर रामेश्वर श्रेष्ठलाई जँचाएपछि बल्ल थाहा भयो, छोरीलाई सेरेब्रल पाल्सी (मस्तिष्क पक्षाघात) भएको रहेछ । थप उपचारको प्रयास भयो, तर प्रगति भएन । यसको उपचार छ कि छैन भन्ने टुंगो पनि भएन ।

०४६ सालपछि काठमाडौंका नाम चलेका सारा बाल विशेषज्ञ डाक्टरहरुलाई देखायौं । अनि मात्रै थाहा भयो, यो रोगको उपचार छैन । उनी ठुली हुँदासम्म हिँड्न सक्दिन थिइन् । ०५७ सालदेखि अरुको सहारामा विस्तारै एक दुई पाइला चाल्न थालिन् । अहिले पनि उनको अवस्था त्यस्तै छ । मुखबाट बुझिने आवाज निस्कँदैन । खाना आफैं खान सक्दिनन् । अनुहारमा यदाकदा भावहरु देखिन्छन् । गीत सुनाइदिँदा अनुहार खुशी भएको जस्तो लाग्छ । १०-१५ वटा शब्द बोल्दा बुझेर होला, सामान्य प्रतिक्रिया जनाउँछिन् । यही नै हो उनको जीवन ।

मेरो मृत्युको हल्ला

०४६ सालको आन्दोलनमा म अर्घाखाँचीको सचिव थिएँ । प्रजातन्त्र आउनासाथ जिल्ला राजनीति पनि तातेकाले व्यस्तताका कारण म चाँडै घर जान सकिनँ । कुनै खबर पनि पठाउन पाइनँ । जिल्लाका सारा नेता भूमिगत अवस्थाबाट खुल्ला भएर घर-घर पुग्दा पनि गाउँमा मेरो अत्तोपत्तो थिएन ।

उता सरस्वतीलाई धेरैले मेरो विषयमा नकारात्मक हल्ला सुनाइदिँदा रहेछन् । ‘मारिनुभयो भन्ने हल्ला छ, तिमीलाई खबर आएको छैन ?’ भनेर सुनाउँदा उनलाई कस्तो भयो होला ? तैपनि त्यस्तो भएको भए पार्टीबाट आधिकारिक सूचना आउँथ्यो होला नि भनेर मन बुझाएर बसिन् । परिवारलाई पनि सम्झाइन् । जेठको अन्त्यतिर मात्रै घर पुगेँ । त्यतिबेला उनी मसित खुबै रोइन् ।

मेरै अगाडि छोरा जन्माइन्

०४७ सालको असारमा हाम्रो छोरा जन्मियो । त्यसको दुई दिनअघि घर पुगेको थिएँ । बच्चा जन्मिँदा कोठामा हामी दुईजना मात्रै थियो ।

मध्यरातमा उनी ‘मलाई व्यथाले चाप्यो’ भन्न थालिन् । म डरले कालोनीलो भएँ । के गर्ने कसो गर्ने भयो । घरका सबैजना गाउँमा भएको एउटा बिहेमा गएका थिए । आमा अर्को कोठामा सुत्नुभएको थियो ।

उनले सुत्नुभएको आमालाई उठाउन पनि दिइनन् । मलाई पानी तताउन अह्राइन् । म उनले जे भन्छिन्, त्यही गर्दै गएँ । च्याँ गर्दै बच्चा जन्मियो । उनको प्रसवपीडा मैले आफ्नै आँखाले देखेँ । बच्चा रोएको आवाजले आमा उठेर आउनुभो । यस्तो बेलामा पनि नबोलाउने भनेर मलाई गाली गर्नुभो । यो रातको १२ बजेको घटना हो ।

भोलिपल्ट बिहान गाउँका मानिस जम्मा भए । छोरो जन्मियो भनेर मलाई माला-अबीर लगाएर उधुम गरे । सारा दुःख भोग्ने उनी, बधाइ खाने म भएँ । निकै असहज लाग्यो ।

तेस्रो बच्चा जन्मिँदा म बुटवल थिएँ । उनी अर्घाखाँचीको डेरामा एक्लै रहिछन् । सुत्केरीका सामानहरु पहिलेदेखि नै जोरजाम गरेर राखेकी । कसैलाई पनि नबोलाइकन एक्लै जन्माइछन् । बच्चा जन्मिसकेपछि साथीहरु आएर उनलाई गाली गरेछन् ।

 ०६२/०६३ को आन्दोलनका बेला एउटा ठूलो हुरीले कौशलटारमा  घर भत्काइदियो । हामी फेरि डेरामै फर्कियौं

कौशलटारको घर हावाले उडायो

०५६ मा म जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएर काठमाडौं आएँ । त्यसको केही समयपछि उनी पनि जागिर छाडेर काठमाडौं आइन् । केही समय बुद्धनगर डेरामा बस्यौं । त्यसपछि कौशलटारमा एउटा सस्तो घर भेटियो । जस्ताले छाएको कच्ची घर थियो । हामीले आफूलाई सुहाउँदो ठान्यौं र १० लाख मूल्यमा किन्यौं । ८-१० वर्ष थेग्ला भन्ने थियो । तर ६२/६३ को आन्दोलनको बेला एउटा ठूलो हुरीले घर भत्काइदियो । हामी फेरि डेरामै फर्कियौं ।

त्यसपछि फेरि सुरक्षा र अन्य दृष्टिकोणले एउटा घर अत्यावश्यक देखियो । अनेकतिर ऋण-धन गरेर यहाँ (शंखमूल)मा एउटा घडेरी किन्यौं र घर बनायौं । घरको ऋणले अहिले पनि थिचिरहेको छ । प्रत्येक महिनाको मसान्त भएपछि बैंकको तनाव सुरु हुन्छ । साथीभाइसँग लिएको ऋण सापटी पनि तिरिसकेको छैन ।

घर सम्हालिन्, राजनीति छोडिन्

मेरो राजनीतिका निम्ति उनले आफ्नो राजनीतिलाई बलिबेदीमा चढाइन् । म राजनीतिका क्रममा जताजता जान्छु त्यतै-त्यतै हिँडथिन् । जहाँ बस्यो, त्यहीँ जागिर खाने गर्थिन् । प्रावि, निमावि र मावि, बोर्डिङ विभिन्न ठाउँमा पढाइन् । महिलालाई सिलाई-कटाई तालिम दिइन् । इन्सेकमा काम गरिन् । ग्रामीण विकास बैङ्कमा जागिर खाइन् । बुटवल नगरपालिकामा पनि केही समय अल्झिइन् । तर, मेरा कारणले उनका कुनै पनि जागिर स्थायी भएनन् ।

आर्थिक दृष्टिकोणबाट हामी निरन्तर संघर्षरत छौं । यदि उनले कुनै एउटा जागिर खाइरहेको भए अहिलेसम्म पेन्सन आइसक्थ्यो होला । घर चलाउन सजिलो हुन्थ्यो होला । तर, त्यो स्थिति भएन ।

अहिले उनले आफूलाई पूर्णरुपमा गृहिणीमा ढालेकी छिन् । विशेषतः छोरीका कारणले गर्दा उनी पूरै बाँधिइन् । यद्यपि राजनीतिप्रति उनको आस्था र विश्वास अहिले पनि टुटेको छैन । मलाई हर पाइलामा साथ दिएकी छिन् । उनले साथ नदिएको भए, उनले घर नधानेको भए म यहाँ आइपुग्ने थिइनँ ।

हामीबीच एकदमै दिगो समझदारी छ । श्रीमान र श्रीमतीबीचको सम्वन्धमा समझदारी नै सबैभन्दा ठूलो पूँजी हो जस्तो लाग्छ । अरुले विश्वास नगर्लान्, तर ३० वर्षभन्दा लामो बैवाहिक जीवनमा हाम्रो एकचोटि पनि झगडा परेको छैन ।

विवाहको दुई वर्षसम्म म सरस्वतीलाई तपाईं भन्थेँ । कामरेड भनेर सम्वोधन गर्थेँ । पछि उनले परिवार र समाजका अगाडि तपाईं भन्दा अप्ठेरो महसुस गर्न थालिन् । त्यसपछि तिमी भन्ने गरेको हुँ

उनी मलाई राजनीतिमा निरन्तर आडभरोसा दिन्छिन् । गलत बाटोमा नलाग्न सचेत गराउँछिन् । राजनीतिमा लागेर कुनै अनुचित लाभ उठाउनु हुँदैन भन्ने हामी दुवैको मान्यता एवम् अठोट छ ।

म दुई पटक सांसद-सभासद् र एकपटक मन्त्री पनि भएँ । त्यस क्रममा विभिन्न देश भ्रमण गरेको छु । तर, उनी एकपटक पनि मेरो विदेश भ्रमणमा सामेल भइनन् । उनी आफैंले जान इन्कार गर्थिन् । पार्टी र सरकारको सम्पत्तिमा आफू विदेश नडुल्ने उनको अडान छ । हामीसँगै विदेश गएको भनेको पोहोर साल अष्ट्रेलिया मात्रै हो । तर, त्यसमा उनी आफूले पढाएका पूर्वविद्यार्थीहरुको स्पोन्सरमा गएकी हुन् । म पार्टीको काममा गएको हुँ । यसरी एकसाथ जाने मौका जुर्‍यो ।

हात मिलाउन छोडियो

म घरभित्रको काम केही मेसो पाउँदिन, समय पनि पाउँदिनँ । खाना पकाउन आउँदैन । मैले पकाउने भनेको चिया हो । बिहानको चिया पकाएर खुवाउने कोशिस गर्छु । यो सिलसिला निकै पहिलेदेखिको हो । साँझमा फुर्सद हुँदा कहिलेकाँही भाँडा माझेर सघाउँछु ।

बिवाहको दुई वर्षसम्म म सरस्वतीलाई तपाईं भन्थेँ । कामरेड भनेर सम्वोधन गर्थेँ । पछि उनले परिवार र समाजको अगाडि तपाईं भन्दा अप्ठेरो महसुस गर्न थालिन् । त्यसपछि तिमी भन्ने गरेको हुँ । अहिले दुबैले ‘तिमी’ भन्छौं ।

हामी पहिले-पहिले भेट हुँदा जोशिलो हात मिलाउने गथ्र्यौं । ४६ सालमा प्रजातन्त्र आएपछि यो क्रम टुट्यो ।

(एमाले सचिव ज्ञवालीसितको वार्तामा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment