Comments Add Comment

विज्ञान मन्त्रालयको आविष्कार, एउटा ऐनको प्रस्ताव बनाउन १७ बर्ष

मन्त्री आउँछन्, झण्डा हल्लाउँछन्

१४ असार, काठमाडौ । विश्वमा विज्ञान र प्रविधिको दवदवा चलिरहेको छ । हरेक दिन परिकल्पनै नगरिएका अनौठा आविष्कारहरु भइरहेका छन् । तपाई अनुमान गर्न सक्नुहुन्छ, नेपालमा यस्तै नयाँ-नयाँ प्रविधिको खोज अनुसन्धान र आविष्कार गर्ने उदेश्यले गठन भएको मन्त्रालयले चाहीँ के गरिरहेको होला ?

ministry of scienceनयाँ खोज तथा अनुसन्धान नगरेर नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालयले १७ बर्षदेखि एउटै ऐनको मस्यौदा बनाउने र छलफल गरेर बसिरहेको छ ।

मन्त्रालय स्थापना भएको १७ बर्षदेखि एउटै ऐन बनाउने बारे छलफल गरेपनि ऐन भने बन्न सकेको छैन ।

विस्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार, भण्डारण आदीको नियमन गर्नका लागि मन्त्रालयले १७ बर्षदेखि ऐन बनाउन लागेको हो । र त्यही ऐन बन्दै गरेको विषयलाई मन्त्रालयले हरेक बर्ष आफ्नो मुख्य उपलब्धीको रुपमा उल्लेख गर्ने गरेको छ ।

मन्त्रालयले यस बर्षपनि पारमाणविक पदार्थको नियमन सम्बन्धि ऐनको मस्यौदा बनेको विषयलाई मन्त्रालयको मुख्य उपलब्धीको रुपमा देखाउँदै छ ।

अनलाइनखबरसँग कुरा गर्दै मन्त्रालय स्रोतले भन्यो,’यस बर्ष त्यस्तो उल्लेखनिय काम केही भएको छैन । न्युक्लियर सम्वन्धि ऐन बनाउन लागिरहेको छ । अहिलेसम्मका लागि त्यहि नै महत्वपूर्ण उपलब्धी होला ।’

तर उक्त ऐनका लागि प्रस्तावित मस्यौदा अझै छलफलमा रहेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालय गठन ढिला हुदा धेरै समय भौतिक व्यवस्थापन गर्न खर्च भएकाले काम गर्न नसकेको हो ।

‘मन्त्रालयको पिडा भनेकै कति पटक फुट्छ कतिपटक जुट्छ भन्ने गन्नै गाह्रो भइसक्यो,’ उनले भने ‘साइन्स एण्ड टेक्नोलोजीको क्षेत्रमा केही भएको छैन र तत्काल गरिहाल्ने स्थिती पनि छैन ।’

मन्त्री आउँछन्, झण्डा हल्लाउँछन् 

कुनै नयाँ योजना नहुँदा मन्त्रालयमा मन्त्रीहरु झण्ड हल्लाउँदै आउने र त्यसरीनै फर्कने गरेको एक अधिकारीले बताए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘विज्ञान प्रविधि मन्त्रालयमा अहिलेसम्म अाएका मन्त्रीहरुले मन्त्रालयको गरिमा र विषयवस्तु नै बुझ्नुभएन ।’

मन्त्री र पहुँचवाला कर्मचारीहरुको ध्यान विदेशमा भइरहेका विभिन्न कार्यक्रममा भाग लिन जाने प्रतिस्पर्धा मात्र छ, ति अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment