Comments Add Comment

‘नेत्रराज बा’ को कोदाली सन्यास

छोरानातिले खेती गरे गर्छन्, नगरे बाँझै रहोस् !

Netra ba 02

अर्जेन्टिनी फुटबल प्लेयर लियोनल मेस्सीले आफ्नो फुटबल यात्राबाट सन्यास लिएको विषयले समाचारहरुमा प्राथमिकता पाउँदै गर्दा आज असार १५ का दिन ‘नेत्रराज बा’ को कोदाली सन्यासको कथा लेख्दैछु ।

आफूले हिँड्न डुल्न सक्ने उमेरदेखि आफ्नो पेशा सुरु गरेका नेत्रराज भेटुवालले ७६ बर्ष पुगेपछि यसै हप्ताबाट आफ्नो कामबाट सन्यास लिए ।

असारको बेला छ । सबैजना आफ्नो आफनो खेतमा कसरी रोपाईँ गर्ने भन्ने धूनमा छन् । कोही आफनो खेतसम्म पानी कसरी पुर्‍याउने सोच्दै होलान् त कोही लाठे कताबाट खोज्ने भन्ने चिन्तामा । तर नुवाकोट ककनीका नेत्रराज भेटुवाल आफ्नो जीवनमा खेतमा काम गर्ने अन्तिम दिन भन्दै बाजागाजासहित आफ्नो खेतमा असारको धान रोप्दै थिए ।

रोपाईँका लागि पञ्जेबाजा बजाउने प्रचलन सामान्य हैन । बिषेश अवस्थामा मात्रै यसरी बाजागाजाका साथ रोपाई हुन्छ । भेटुवाल भन्छन्- अब उमेर पनि नेटो काट्दै छ, त्यसैले बाजागाजासहित खेतमा कोदालो खन्नबाट अवकाश लिन लागेको हुँ । उनी थप्छन्-अर्को बर्ष बाट खेतमा गएर कोदाली समाउने सोच छैन मेरो ।

००००

आइतबार बिहान ६ बज्दा नबज्दै मेरो मोबाइलमा घण्टी बज्यो । भर्खरै उठे्र आँखा मिच्दै फोन उठाएँ । फोनमा थोरै अनुरोधात्मक र थोरै आदेशात्मक शैलीमा आवाज आयो, शिवजी तयार हुनुभयो ? मैले पनि झूठ बोलेँ, करिब करिब तयार नै हो । उताबाट उद्धवजी को आवाज पूरा हुन पाउँदा नपाउँदै मैले आफ्नो जवाफ फर्काएँ ।

ropaiउद्धवजी र म, कुनै समयका सहकर्मी । आज उनको घरमा रोपाईँ अरे । हिजो भर्खर हाम्रो तय भएको योजनाअनुरुप हामी आज ककनी जाने भएका थियौँ । फेरि आजको रोपाईँ समान्य मात्र नभई केही फरक थियो । आज उद्धवजीका हजुरबुबा ७६ वर्षको उमेरमा खेतमा कोदाली चलाउनबाट सन्यास लिँदै हुनुहुन्थ्यो ।

बिहानको ९ बज्नै आँटेको थियो । चियाको चुस्की लिएर शेसमतीको पुलमा उद्धवजी र मेरो भेट भयो । सँगै पुराना सहकर्मी सुमन श्रेष्ठसँग पनि साथै हुनुहुँदोरहेछ । आफ्ना हजुरबुबाको अन्तिम रोपाईँ भएका कारण सुमनजीलाई पनि दृश्य छायाङ्कनका लागि साथै लैजाँदै हुनुहुँदोरहेछ उद्धवजीले ।

झण्डै तीन वर्षपछिको भेटघाटमा हामीबीच लामो छलफल चल्यो । त्यो समयमा उद्धवजी आफ्ना केही साथीहरुलाई फोन गरेर केही सम्झाउँदै हुनुहुन्थ्यो, कागजका प्लेट १२० थान अनि प्लाष्टिकका गिलास पनि १०० जति त्याउनुस् न ।

आफ्नै घरको रोपाईँ भएकाले उनलाई हामी जस्तो उत्साह मात्र थिएन, केही जिम्मेवारी पनि थिए । केही समयमा हामीसँग अन्य दुई साथीहरु, उद्धवजीका काका रामहरि भेटुवाल र उद्धवजीको तत्कालीन कार्यालयका हिस्सेदार मधुसुदन ढकाल पनि जोडिन आइपुग्नुभयो ।

ropai2हामी पाँच शेसमती पुलबाट ककनीको यात्रा तय गर्नु पूर्वसीमसीम पानी परिरहेको थियो । खै, यात्रामा साथ भएका साथीहरुलाई कस्तो अनुभूति हुँदै थियो, तर मलाई भने धेरै नै उत्सकता र खुसी थियो किनभने यो मेरो जीवको पहिरो रोपाईँ थियो, जहाँ म प्रत्यक्ष उपस्थित भएर हेर्ने अवसर पाउँदै थिएँ ।

उद्धवजीले एक जोर थप कपडा झेलामा हाल्नुस् भनेर नभन्नुभएको हैन, तर मैले मानिँन । हामी बर्षाती ओढेर ३ वटा बाइकमा ५ जना ककनीतिर हुईँकियौँ । ककनीको डाँडामा बसेर बिहानको खाजा खायौँ र ओरालो र्झन लाग्यौँ । सुनेको थिएँ, नेताहरुले भरिएको नुवाकोट जिल्लाको कुनाकुनामा पक्की सडक पुगेका छन् ।

बाइकमा चढ्दै गर्दा अत्याधिक डर महशुस भैरहेको थियो । कतै कतै सडक जस्तो तर, प्राय गोरेटो र घोडेटो जस्तो बाटो पार गर्दै हामी बल्ल तल्ल भेटुवाल थोक पुग्याैं । हामी हतारमा भएकाले बाईकलाई एक छेउमा राख्यौ र खेत भएतिर लाग्यौँ ।

ropai_panchebajaझण्डै १० मीनेट हिँडेपछि पञ्चे बाजाको आवाज सुनियो । परको डाँडाबाट हेर्दा कोही ट्याक्टर चलाउँदै थिए, कोही हलो । कोही आली लगाउँदै थिए त कोही रोपाईँ गर्दै । परबाट देख्दै माहोल बढो आनन्दको थियो भनेर महशुस गर्न सकिन्थ्यो । हामी हतार-हतार गर्दै खेतमा पुग्यौँ ।

ओहो ! यता पञ्चेबाजा, उता लाठे खेतका कोदालीका पाता गड्दै थिए र रोपार रोपाईँमा मस्त । ७६ वषर्ीय भेटुवाल बुबा कहिले अनुरोधात्मक आदेश दिँदै थिए त कहिले कोदाली समातेर आफैँ आली लगाउँदै थिए । साथीहरु सबै कुराका लागि तयार भएका आएका थिए । तर, म लगाएको बर्षादी नफुकाली खेतमा प्रवेश गरेँ ।

म खेतको एउटा पाटामा बसेर तल्लो कान्लामा लाठेहरुले काम गरेको हेर्दै थिएँ । म बसेको भन्दा माथिल्लो कन्लामा रोपारहरु बिउ रोप्दै थिए । म ७६ बर्षीय ती बृद्धको हातले अनुभवी तरिकाले कोदाली चलाएको हेर्दै थिएँ । झण्डै एक घण्टाभन्दा बढी त म आफ्ना वरपर देखेका दृश्यहरुलाई नियाल्दै थिएँ । सबैको शरीर हिलाम्य भएको थियो । असार महिनाको रोपाईँ हिलोबाट को कसरी अछुतो रहन सक्थे । मलाई पनि हिलोमा तलपतिन मन नलागेको हैन, तर कपडाको जुगाड नगरी आइपुगेकाले म हिलोबाट जोगिएर बसेको थिएँ ।

एक्कासी जोडले केही चिजले मेरो पछाडि लागेको महसुस भयो । कसैले मलाई हिलोको डल्लाले हानेको अनुभूति भयो । मेरा पछाडि केही युवती तथा प्रौढ महिलाहरुको अट्टाहास सुन्न सकिन्थ्यो । पछाडि फर्केर हेरेको मात्रै के थिएँ एक्कासी ३ जनाले निरन्तर म माथि हिलो बर्षाउन थाले र म पलभरमा नै निथ्रुक भएँ ।

shivaprashad lamichane
शिवप्रसाद लामिछाने

सारा लाठे र रोपाहारहरु उत्सुकतापूर्वक मतर्फ हेर्दै थिए । उनीहरुको अनुहारमा थोरै गिज्याउने भावको हाँसो दबिएको थियो । तर, के थाहा म त निथ्रुक्क हुनुमा धेरै मजा लिइरहेको थिएँ ।

खेतमा कोदाली चलाउनबाट अवकाश लिन लागेका भेटुवाल बुबा भन्दै हुनुहुन्थ्यो, लौ पाहुना बोलाएको बाबुलाई पुरै निथ्रुक्कै भिजाइ नै पो दिए । तर, मैले जवाफ फर्काएँ, हैन बुबा ठीकै छ, रमाइलो नै भयो ।

मेरो वाक्य टुङ्गन पाउँदा नपाउँदै फेरि ममाथि हिलोको बर्षात भयो । यसपटक मैले पनि उनीहरु तर्फ हिलो छेप्ने प्रयास गरेँ । तर, उनीहरु तीनजना पूर्ण नियतवस मलाई निथ्रुक्याउन लागि परेका थिए । मेरो केही बस चलेन । निथ्रुक्क म, थोरै पर भागेँ ।

कहिले पनि रोपाईँमा सहभागी नभएका मेरा लागि यो पक्कै ऐतिहासिक दिन थियो । साथै ७६ बर्षीय बृद्धले खेतमा कोदाली चलाउनबाट सन्यास लिने र बाजागाजासहितको रोपाईँ, म आफूलाई भाग्यमानी मानिरहेको थिएँ ।

रोपाईँको मज्जा लिन दुई विदेशी पर्यटक पनि खेतमा पुगेका थिए । उनीहरु पनि कहिले रोपारसँगै धान रोप्ने कला सिक्दै त कहिले उनीहरुसँग हिलो खेल्दै रमाउँदै थिए ।

ठूलो बर्षा हुँदै थियो । सँगै रोपाईँ निरन्तर चलिरहेको थियो । झण्डै ६ बजे रोपाईँ सम्पन्न भयो । सबैजना गाउँको बीचमा रहेको वीरेन्द्र प्राविको प्राङ्गणमा भेला भए र खाजा खाए । खाजासँगै आफ्ना दिनभरका अनुभव साटासाट गरे र आफ्नो-आफ्नो बाटो लागे ।

म पनि त्यही जमातको बीचमा थिएँ । थोरै समयमा नै प्राङ्गणमा हामी २/३ जना मात्र बाँकी रह्यौँ । छलफलका क्रममा गाउँले भन्दै थिए, तपाईँ आउनु भएको बाटो ०५२ सालमा नेत्रराज भेटुवालको पहलमा नै बनेको हो । विद्यालयतिर औंला तेर्‍याउँदै अर्कोले भने-यो विद्यालय पनि उनकै पहलमा बनेको हो ।

बाटोमा आउँदै गर्दा सिँचाइका लागि बनाइएको कुलो पनि उनकै पहलमा बनेको रे । भन्दै थिए, गाउँको यस्तो कुनै काम छैन, जहाँ उनको सहयोग, नेतृत्व र सहभागिता नभएको होस् ।

लामो गन्थनपछि थोरै समयमा दिनभरिका यादहरु आफ्नो मनमस्तिष्कमा खेलाउँदै गन्तव्य तर्फ लाग्यौँ ।

राति हजुरबुबासँग गफ गर्दैगर्दा उहाँ भन्दै हुनुहुन्थ्यो – “सबै छोरा नाति गाउँ छोडेर बाहिर बस्छन्, आफू बुढो गाउँमा खेती गर्‍यो, बस्यो । अब यो सालबाट कहिल्यै खेतमा गएर कोदाली चलाउँदिन । छोरानातिले गरे गर्छन, नगरे बाँझै रहोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment