Comments Add Comment

अमेरिकामा नेपालीलाई बँधुवा मजदुर बनाएको खुलासा

महिला र वालवालिकासँगै वयस्क पनि पीडित

America

१७ असार, काठमाडौं । नेपालबाट हुने मानव तस्करी भन्नासाथ हामी भारत र खाडी मुलुकलाई सम्झन्छौं । तर, अमेरिकामा पनि नेपाली महिला, बालबालिका र पुरुषलाई पनि बँधुवा मजदुरका रुपमा बलपूर्वक प्रयोग हुने गरेको स्वयं अमेरिकी सरकारले स्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले निकालेको २०१६ को मानव बेचविखनसम्वन्धी रिपोर्टमा अमेरिकामा नेपालीहरुलाई निर्माण, औद्योगिक र खानी क्षेत्रमा बलपूर्वक काममा लगाइने गरेको उल्लेख छ । साथै नेपाली महिला, बालबालिका र पुरुषरुहरुलाई जबरजस्ती घरेलु कामदार र माग्नेका रुपमा समेत लगाउने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साथै वयस्कहरुका मनोरञ्जन उद्योगहरुमा पनि नेपालीलाई उनीहरुको सहमतिविना नै बलपूर्वक प्रयोग गर्ने गरिएको अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।

नेपाली महिला तथा बालबालिकाहरुलाई भारतका साथै एशिया, उत्तरी अफ्रिकी देश र खाडी मुलुकहरुमा यौनकर्मीका रुपमा बेचविखन हुने गरेको पाइएको छ ।

नेपालमा मानव तस्करीको अवस्था भयावह रहेको तथा भूकम्पपछि झन बढेको अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमा उल्लेख छ । मानव तस्करीमा सामाजिक सञ्जाल र मोबाइल प्रविधिको समेत प्रयोग बढ्दो रहेको उसले बताएको छ ।

अमेरिकाले मानव तस्करीलाई रोक्न मानव बेचविखन सम्वन्धी कानुनलाई अन्तराष्ट्रिय कानुनअनुसार हुने गरी पुनरावलोकन गर्नुपर्ने, तस्करहरुलाई कारवाही गर्नुपर्ने र एजेन्टलाई कमिसन दिने व्यवस्था हटाउन सुझाव दिएको छ ।

साथै घरेलु कामदारका रुपमा बाहिर जान लगाइएको रोक हटाएर वैधानिक रुपमा जान सक्ने व्यवस्था गर्नुपर्ने र राष्ट्रसंघको टीआइपी २००० पीडितको संरक्षणसम्वन्धी व्यवस्था लागू गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment