Comments Add Comment

पर्यटकको आकर्षक गन्तव्य साकेतधाम

१९ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरमा रहेको साकेतधाम आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्य वन्दै गएको छ ।

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झन्डै पाँच किलोमिटर उत्तरतर्फ पर्ने साकेतधाम विष्णु मन्दिर र वरिपरिको दृश्य नियाल्नका लागि दैनिक आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् ।

यहाँको मनोरम दृश्य र शान्त वातावरणमा रम्नका लागि पर्यटक पुग्ने गरेका हुन् । परापूर्वकालमा हिउँदका बेला पहाडबाट गाईगोरु चराउन तराई झर्ने गोठालाले यस क्षेत्रमा गाईगोरुको रक्षाका लागि भनी सिद्धविनायकको मूर्ति स्थापना गरी पूजाअर्चना गर्दै आएको यो क्षेत्र हाल भौतिक संरचनाले भरिँदै जान थालेको छ ।

विसं २०४८ मा गाई चराउन त्यस क्षेत्रमा गएकी एक स्थानीयवासी बालिकाले भगवान् विष्णुको अद्वितीय मूर्ति तुम्बीका खोलामा फेला पारेपछि यस क्षेत्रको महत्व झनै बढ्न गएको हो ।

सर्वसाधारण र बाबा रामदास स्वामीले भगवान् विष्णुको मूर्तिलाई रातभर जाग्राम बसी भजनकीर्तन गरी सिद्धिविनायकको डाँडामा विधिवत् रुपमा स्थापना गरेपछि यो क्षेत्रले अधिक चर्चा पाउन सफल भयो ।

दाताहरुको सहयोगमा विष्णु मन्दिर बनेपछि निकटवर्ती भारतीय क्षेत्र र यहाँका श्रद्धालु भक्तजनको दर्शनका लागि पुग्ने क्रममा बढोत्तरी भएको स्थानीयवासी पदम सिंह विष्टले बताए ।

विसं २०४९ मा स्थानीय समाजसेवी राम जोशी, आन्नद वल्लभ जोशी र हर्क विष्टलगायतले मन्दिरको वरपर रहेको सात हेक्टर क्षेत्रमा वन कार्यालयको सहयोगमा वृक्षरोपण गरी हराभरा वनाउने कार्य गरेका थिए ।

वृक्षरोपण गरिएको क्षेत्रसहित केही वन क्षेत्रलाई सम्मिलित गरी हाल १० दशमलव ६ हेक्टर क्षेत्रलाई धार्मिक वनका रुपमा विकसित गरिएको छ ।

विष्णु मन्दिर परिसरमा हाल सिद्धविनायक गणेश, नर्मदेश्वर शिवलिंग, भगवान् विष्णुको शेषमाथि पद्यमनाथ मूर्ति, हनुमानको मूर्ति र पूर्णागिरिको मूर्ति प्रतिस्थापन गरिएकाले यस क्षेत्रको नाम सिद्धनाथ स्थानबाट परिवर्तन गरी साकेत धाम सिद्धाश्रम विष्णु मन्दिर नामाकरण गरिएको स्थानीयवासी शिक्षक मदनबहादुर विष्टले बताए ।

विसं २०५६ सालमा योगी नरहरि नाथले साकेतधाम क्षेत्रमा ९४औँ कोटीहोम लगाएपछि नेपाल र भारतमा चर्चा पाउन सफल हुँदा बाह्य र आन्तरिक पर्यटकलाई तान्न सकिएको उनको भनाइ छ ।

साकेतधाम क्षेत्रलाई देशका महत्वपूर्ण लुम्बिनी, स्वयम्भू, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ जस्तै राष्ट्रिय सम्पदाका रुपमा विकसित गरिनुपर्नेमा यहाँका सामाजिक क्षेत्रका क्रियाशील अगुवाको धारणा रहेको छ ।

साकेतधाम क्षेत्रको विकासका लागि सरकारी निकायबाट हालसम्म पर्खाल बनाउनका लागि सहरी तथा भवन निर्माण कार्यालयले रु १४ लाख भीमदत्तनगरपालिकाले रु नौ लाख सहयोग भएको मन्दिरका संरक्षकका रुपमा रहनुभएका साधु रामदासले बताए ।

उनका अनुसार २५ बिगाहा क्षेत्रफलमा फैलिएको यस क्षेत्रको अवलोकनका लागि २०४९ सालदेखि यता १० लाख बढी व्यक्ति यहाँ पुगेका छन् । प्रत्येक महिनाका चार वटा शुक्रबार यहाँ अखण्ड पूजा र नवरात्रमा यहाँ भव्य मेला लाग्ने गर्दछ ।

मेलामा निकटवर्ती भारतीय क्षेत्र र यहाँका श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति हुने गरेको छ । मेलामा यहाँका गाउजी, हल्दुखाल, नौलाखेत लागायत गाउँबाट बाजागाजासहित भगवान् विष्णुको डोला ल्याएर घुमाउनेसमेत गरिँदै आएको स्थानीयवासी भवानी जोशीले बताए । हाल यस क्षेत्रमा विवाह, ब्रतबन्धन र अन्य शुभकार्यका लागि स्थानीयवासी पुग्ने गर्दै आएका छन् ।

युवायुवतीले धार्मिक वन क्षेत्रलाई पिकनिकका लागि उपयोग गर्दै आएका छन् । शान्त, एकान्त र चारैतिर वनले घेरिएको यस क्षेत्रमा घुम्नका लागि पुग्ने जोकोही पनि यहाँ रम्न चाहन्छन् । यस क्षेत्रमा पुग्नेहरु वर्णन गरेर थाक्दैनन् ।

बाबा रामदास स्वामी भन्छन्- ‘ब्रह्मदेव हुँदै विष्णु मन्दिर, रौटेला र झिलमिलालाई जोड्ने सडकको निर्माण गर्न सकिए पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिन्छ ।’ तेस्रो मुलुकका पर्यटकलाई उल्लेख्य रुपमा भित्र्याउन नसके पनि भारतीय पर्यटकलाई तान्न सकिने उनको भनाइ रहेको छ ।

नगरपालिकाले एक लाख रूपैयाँको लागतमा मन्दिर परिसर क्षेत्रमा ग्रिनपार्कसमेत निर्माण गर्ने योजना अघि सारेको छ । दाताहरुको सहयोगमा १४ कोठे अतिथि गृहसमेत निर्माण गरिएको छ ।

प्राकृतिक सौन्दर्यता र भौतिक साधन स्रोतले परिपूर्ण भए पनि सरकारी उपेक्षामा परेको साकेत धाम क्षेत्रलाई पर्यटन गन्तव्यको सूचीमा राख्न सके यसले पर्यटनको क्षेत्रमा फड्को मार्ने देखिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment