Comments Add Comment

थामखर्क विमानस्थलमा उडान स्थगित

१९ असार, खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा उडान स्थगित भएको छ । लगातारको वर्षासँगै मौसममा खराबी आएपछि आउँदो असोजसम्मका लागि उडान स्थगित गरिएको हो ।

केही दिनदेखि लगातार वर्षा भएपछि नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएर उडान स्थगन गर्न निर्देशन दिएको विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले जानकारी दिए । नेपाल एयरलायन्सको विमानले साताको मंगलबार र शनिबार थामखर्क–काठमाडाैं तथा शनिबार एक दिन थामखर्क-विराटनगरका लागि उडान भर्दै आएको थियो ।

उडान स्थगित भएपछि दक्षिणी क्षेत्रका २० गाविससहित छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणसमेत मर्कामा परेका छन् । यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा विमानस्थलसमेत अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणकोे ९ करोड २५ लाख २९ हजार रूपैयाँ सहयोगमा विमानस्थल कालोपत्र गर्ने भनिए पनि हालसम्म कुनै काम सुरु भएको छैन ।

विसं २०५६ बाट दक्षिणी क्षेत्रका सर्वसाधारणलाई लक्ष्य गरेर उडान सुरु गरिएको विमानस्थल हालसम्म कालोपत्र नहुँदा हिउँद महिनामा मात्र सञ्चालन हुँदै आएको छ ।

गत साल विस्तृत सर्भेक्षण गरिएको विमानस्थलको कालोपत्रका लागि यस वर्ष मन्त्रालयबाट साढे पाँच करोड रूपैयाँ बजेट छुट्याइएको छ । दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्क बाहेक क्षेत्र नम्बर १ मा लामीडाँडा र क्षेत्र नम्बर २ मा खानीडाँडा विमानस्थल रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment