Comments Add Comment

नेपालले सात वर्षमा टेस्ट खेल्न सक्छ

नेपाल क्रिकेट संघ क्यान अहिले निलम्बनमा छ । नेपाली टोलीको अन्तराष्ट्रिय प्रतियोगिताका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आफैंले हेरिरहेको छ । र, स्थानीय संयोजनको जिम्मेवारी भावना घिमिरेलाई दिएको छ । घिमिरेले क्यानको कार्यकारी अधिकृत (सीईओ)बाट भने राजीनामा दिएकी छन् । यसै सन्दर्भमा घिमिरेसँग अनलाइनखबरले गरेको कुराकानीः 

Bhawana Ghimire (10)

नेपाल क्रिकेट संघ क्यानको कार्यकारी अधिकृत (सीईओ)को रुपमा २१ महिना विताउनुभयो । आफैंले फर्किएर हेर्दा कस्तो रहृयो कार्यकाल ?

म नेपाली क्रिकेट सिस्टममा चल्ने बनाउन चाहन्थेँ । त्यो सम्भव भएन । कम्प्लीट फेलियर भयो । हुनत यसका पछाडि धेरै कारण छन् । यो म आफैं असन्तुष्ट भएको एउटा मात्र पक्ष छ ।

अरुमा सन्तुष्ट छु । किनकी २१ महिनामा जति पनि हामीले नेटवर्क कायमै गर्‍यो, त्यो धेरै हो । अरु काम पनि भएको छ भन्ने मलाई लाग्छ ।

उसो भए धेरै काम गर्नुभयो । तर, मुख्य लक्ष्यमा चाहिँ असफल हुनु भो । होइन त ?

मैले नगरेर नभएको होइन, कोशिश गरेको हो । मेरो १०० प्रतिशत इफोर्ट त्यसमा थियो । मैले केसम्म भनेकी हुँ भने सिस्टममा चलाउनुपर्छ । यसका लागि म बाधक भएको छु भने राजीनामा दिन्छु, अर्को सीईओ ल्याउनुस् । तर, नेपालको क्रिकेट अब सिस्टममा चल्नुपर्छ ।

हामीले फाइनान्स म्यानेजर ल्यायौं र समयमै अडिट पनि बुझायौं । प्यान, भ्याट केही थिएन । त्यो भयो । ट्याक्स एक्जिमसन सर्टिफिकेट पनि थिएन । त्यो ल्यायौं । हामी प्रक्रियामा थियौं । तर, फाइनान्स म्यानेजरले छाडेपछि फेरि कमजोरीहरु रहन पुग्यो । यस्ता धेरै कारणहरु छन् ।

उसो भए तपाईको २१ महिने कार्यकालको मूख्य उपलब्धि के हो त ?

यो त तपाईहरुले मूल्यांकन गर्ने हो । अहिले संगठन निष्कृय भएको अवस्थामा मैले जे जति भनेपनि त्यसलाई नजरअन्दाज नै गरिन्छ । किनभने त्यो भन्दा ठूलो कुरा संस्था नै निस्कृय छ । तर, राम्रो कामहरु पनि भएका छन् ।

एउटा मात्र भन्नुपर्दा त्यो राम्रो काम ?

हाम्रो जुन अन्तर्राष्ट्रिय लुकआउट थियो, हाम्रो नेपाली क्रिकेटको (स्पोन्सर र कूटनीतिको सन्दर्भमा) एकदमै बढेर गएको छ ।

नेपाल बिगर क्रिकेटिङ कम्युनिटीको पार्ट भइसक्यो । मानिसहरु नेपाली क्रिकेटका बारेमा बोल्न चाहन्छन्, आईसीसी पनि बोलिरहेको छ

अहिले पनि क्रिकेट अष्ट्रेलिया हामीलाई सहयोग गर्न तयार छ । फिलिप हृयूजको म्याचका लागि पनि उनीहरुले फण्ड छुट्याएका छन् । र, उनीहरु नेपाली क्रिकेटलाई सहयोग गर्न इच्छुक पनि छन् । तर, हामीकहाँ त्यसलाई सपोर्ट गर्ने कुनै सिस्टम नै भएन ।

बीसीसीआईको सहयोगमा एउटा लेभेलमा दुई तीन चरणमा भारतको भ्रमण पनि गर्‍यौं । तर, त्यसलाई हामीलाई निरन्तरता दिन सकेनौं । अरु कुरा पनि छन् ।

म क्यानमा आवद्ध भएपछि स्पोन्सरसिपका लागि धेरै इच्छुक देखिए । हामीले एनटीसी ल्यायौं । तर, हामीसँग संरचना नै भएन, जुन मार्केटिङ टुल हो ।

मार्केटिङमा खराब होस् कि राम्रो, पब्लिसिटी पब्लिसिटी नै हो भनिन्छ । जे सुकै कारणले होस्, हामीले अन्तराष्ट्रिय स्तरमा पब्लिसिटी पाएका छौं । नेपाल बिगर क्रिकेटिङ कम्युनिटीको पार्ट भइसक्यो । मानिसहरु नेपाली क्रिकेटका बारेमा बोल्न चाहन्छन्, आईसीसी पनि बोलिरहेको छ । हाम्रो खेल, क्रिकेट समर्थक धेरै कारणले यो भएको हो ।

व्यवस्थापनको समस्या नयाँ होइन । तपाईले आफ्नो तर्फबाट समाधानको प्रयास गर्नुभो । तर, सफल हुनु भएन । खासमा के त्यस्तो जकडिएर बसेको रहेछ ?

मैले देखेको समस्या भनेको विधान नै हो । त्यसमा पुनरावलोकन हुन जरुरी छ । विधान यस्तो छ कि यसले विकेन्द्रीकरणलाई आत्मसात गरेको छैन । उसले केही मानिसहरुलाई शक्तिशाली बनाएको छ र व्यवस्थापनलाई निकै संकुचित बनाएको छ । केही अधिकार नै छैन भन्दा हुन्छ । यदि मलाई असफल भन्ने हो भने पहिला त सीईओ, अकाउन्ट म्यानेजर केही थिएन । अशोकनाथजीहरुले नै सबथोक चलाइरहनु भएको थियो । तर, पनि आईसीसीले ८४ हजार जरिवाना गर्‍यो । हामीलाई त कुनै दण्ड जरिवाना दिइएको छैन । यत्ति हो कि होल्ड भएको छ । यसको अर्थ नेपालको पैसा आईसीसीले दिँदैन भन्ने होइन । नेपालको पैसा आईसीसीले फिर्ता गर्छ । तर, हामीले त्यो पैसा सही ठाउँमा सदुपयोग हुन्छ भनेर उसलाई विश्वास दिलाउन सक्नुपर्छ ।

तपाईले विधानमा समस्या देखाउनु भयो । तर, क्यानको नेतृत्वले चाहने हो भने त विधान परिर्वतन गरेर समय अनुकुल बनाउन सक्छ नि होइन ?  

हो । नेतृत्व भनेको व्यवस्थापन, सीईओ वा अरु कोही होइन । बोर्डको अध्यक्ष, महासचिव र सदस्यहरु हो । बोर्डको साधारणसभामा सहभागीहरुले छलफल गरेर संशोधन गर्न सक्छन् । हामीले त केही सुुझाव दिन पनि मिल्दैन । यसमा आईसीसीको पनि भूमिका हुँदैन ।

यसको अर्थ क्यानको नेतृत्वमा जो आए वा जसले चुनेर पठाए उनीहरुले नेपाली क्रिकेट नै बुझ्न सकेनन् ?

त्यही भएर पूर्ण परिर्वतनको जरुरी छ । म यो भन्दिन कि उहाँहरुले क्रिकेटलाई माया गर्नु हुन्न । तर, हामीले जुन सोचिरहेका छौं, टेष्ट खेल्ने, विश्वकप खेल्ने, यो सहज छैन । हामी आफ्नै फण्डमा चल्न सक्ने अवस्था छैन । हामी बीसीसीआई होइनौं । नेपाली बोर्ड हो । र हामी ९८ प्रतिशत आईसीसीको फण्डमा चल्छौं । जब अरुको सहयोगमा चल्छौं भने उसले राखेका सर्तहरु पुरा गर्नेतिर पनि हामीले ध्यान दिनुपर्छ । फेरि आईसीसीले हामीलाई मात्र फण्डिङ गाइलाइन बनाएको त होइन । सदस्य ९५ देशलाई नै त्यही नियम लागू गरेको छ ।

क्यानमा रहँदा अध्यक्ष र कार्यबाहक गरेर धेरैसँग काम गर्नु भो । राखेपसँग पनि काम गर्नु भो । अब भोलि नयाँ कोही आउलान् । क्यानको नेतृत्वमा आएकाहरुमा खास के समस्या हुन्छ र उनीहरुले काम गर्न सक्दैनन् ?

bhawanaमैले जति पनि देखेँ, उहाँहरु काम गर्न चाहनुहुन्छ । तर, उहाँहरुको लक्ष्य समान हुँदैन । एउटै भिजन हुँदैन र साझा सहमति बन्दैन । गुटवन्दी ठूलो समस्या हो ।

उसो भए अब के गर्नुपर्छ, जसले नेपाली क्रिकेटलाई अगाडि बढाउन सक्छ ?

दैनिक काम गर्नेदेखि प्रतियोगिता गर्नेसम्मका व्यवस्थापनका कामहरु छन्, प्रोफेसनल म्यानेजमेन्टले चलाउनुपर्छ । महासचिव हुनुहुन्छ भने उहाँलाई विधानले अधिकार दिएको छ । तर, उहाँ दैनिक काममा संलग्न हुन आवश्यक छैन ।

तपाईले भन्दै आएको प्रोफेसनल म्यानेजमेन्ट कस्तो हुन्छ ?

हामीले भन्ने गरेको प्रोफेसनल म्यानेजमेन्ट भनेको क्रिकेट अपरेसन म्यानेजर हुन्छ । जसले कुन देशमा टुर जानेदेखि सबै तय गर्छ । फाइनान्स म्यानेजर, सीईओ र हरेक क्षेत्रमा डेभलपमेन्ट म्यानेजरहरु चाहिन्छ । टिम म्यानेजर, प्रशिक्षक हुनुपर्छ ।

बोर्डका सदस्य र अध्यक्ष टिम म्यानेजर बनेर जानु राम्रो होइन, योसँग हाम्रो क्रिकेट जोडिएको छ । बोर्डका सदस्यहरु जान सक्नुहुन्छ, तर, टिम म्यानेजरको सट्टा होइन । क्रिकेट बोर्डले खर्च गर्न सक्छ भने नेपाली क्रिकेटको दूतका रुपमा जाँदा हुन्छ ।

भनेपछि यो सबै हो, तपाईले क्यानको सीईओबाट राजीनामा दिनुको कारण ?

मैले सँधै चाहेको भनेको नेपाल क्रिकेट एउटा सिस्टममा जाओस् । यसका लागि मैले पर्खिएँ पनि । राम्रो दिन आउँछ भनेर पर्खिबसेँ तर, आएन ।

र, यस्तो समयसम्म पर्खिन सक्दिँन कि सबै कुरा ढिलो हुँदै जाओस्, प्रदर्शन पनि राम्रो नहोस् । अहिले क्यान पनि निश्कृय छ । दुई वटा क्यान भएपछि कसैले म सीईओ छैन भन्छन्, कसैले छ भन्छन् । अर्थात म क्यानको सीईओ छु, तर पनि केही गर्न सक्दिँन । न मैले कन्ट्रयाक्टमा राखेको खेलाडीलाई तलब खुवाउन सक्छु, न कर्मचारीलाई नै । न स्पोन्सरहरुसँग पैसा लिएर प्रतियोगिता नै गराउनसक्छु । भनेपछि म पदमा मात्र रहेँ, कुनै काम गर्न सकिँन ।

आइसीसीले स्थानीय संयोजकको भूमिका दिएकाले पनि यो निर्णय लिन मद्दत गर्‍यो ? किनकी सीईओबाट राजीनामा दिएपनि नेपाली क्रिकेटमा त हुनुहुन्छ नै ।

म आफ्नो टार्गेट आफैं निर्धारण गरेर काम गर्छु । पछिल्लो पटक मेरो लक्ष्य भनेको नामिबियासँगको खेल नेपालमा सफलतापूवर्क गराउने थियो । त्यसमा सफल भएँ । यदि अरु टुर्नामेन्टहरु नभएको र एमसीसी, नेदरल्याण्ड टुरहरु नभएको भए मैले अगाडि नै राजीनामा दिइसक्थेँ ।

अहिले चाँही तपाईलाई आईसीसीले दिएको मुख्य जिम्मेवारी के के हो ?

लोकल अपरेसन हो । अहिले क्याम्प भइरहेको छ, क्रिकेटरहरु खेलिरहेका छन्, के भरहेको छ हेर्ने हो । नेदरल्याण्डका लागि लजिस्टिक सपोर्ट गर्ने हो । एकदमै सामान्य जिम्मेवारी छ ।

नेपालको क्रिकेट भन्नासाथ सिनियर टिम मात्र त होइन । तपाई र आईसीसीले सिनियर टिम मात्र हेर्ने हो कि अरु पनि ?

मलाई विश्वास छ, ७ वर्षमा हामी टेष्ट खेल्न सक्छौं । र, यसका लागि एउटै शर्त हो आजैबाट क्रिकेटको विकासका लागि काम गर्ने । यो काम काठमाडौंबाट गरेर हुँदैन

निलम्बनपछि आईसीसीले नेशनल टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिन भनेको छ । घरेलु क्रिकेट संचालन गर्ने उसले भनेको छैन । नेशनल टिमप्रतिको उनीहरुको प्रतिवद्धतालाई मैले यहाँ बसेर सहजिकरण मात्र गर्ने हो ।

उसो भए हाम्रो उमेर समूह र महिला क्रिकेट टिमले कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाउँछ कि पाउँदैन ?

हाम्रो कुनै पनि टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा जानु पर्ने भयो भने आइसीसीले हेर्छ । तर, घरेलु क्रिकेट हेर्दैन ।

यदि दुई मध्ये कुनै पनि क्यानले घरेलु क्रिकेटबारे काम गर्छु भन्यो भने आईसीसीको आपत्ति हुन्छ कि हुँदैन ?

क्रिकेटको विकासका लागि आईसीसीले कुनै अब्जेक्सन गर्छ भन्ने मलाई लाग्दैन । राष्ट्रिय प्रतियोगिता खेलाउन, स्थानीय गतिविधि गर्न कुनै अवरोध हुँदैन । तर, अन्तर्राष्ट्रिय टुरको छनौटमा भने उसको आपत्ति हुनसक्छ ।

आईसीसीको पछिल्लो साधारण सभाले नेपालको निलम्बनलाई अनुमोदन गरेपछि अब लामो समय जान्छ कि भन्ने अनुमान गर्नेहरु धेरै छन् । त्यस्तै हो ?

हामी धेरै अनुमानमा चल्छौं । उनीहरुले बोर्डको निर्णय अनुमोदन मात्र गरेको हो । हाम्रो पनि बोर्डले गरेको कुनै पनि निर्णय साधारणसभाले अनुमोदन गर्नुपर्छ । यसको अर्थ नेपालको क्रिकेट वर्षौं निलम्बनमा जाने भयो भन्ने होइन । यदि हामीले कुनै निकास निकाल्छौं र आईसीसीलाई विश्वास दिलायौं भने निलम्बन छिट्टै हट्न सक्छ ।

आईसीसीको यो साधारणसभा अगाडि टेष्टमा दुई डिभिजन बनाउने, एकदिवसीय लिग बनाउने र १३ औं टिममा नेपालको दाबेदारी हुने भन्ने चर्चा थियो । भलै, यो त पास भएन । तर, तपाईँ नेपालले टेष्ट कहिले खेल्छ भन्ने देख्नुहुन्छ ?

मलाई विश्वास छ, ७ वर्षमा हामी टेष्ट खेल्न सक्छौं । र, यसका लागि एउटै शर्त हो आजैबाट क्रिकेटको विकासका लागि काम गर्ने । यो काम काठमाडौंबाट गरेर हुँदैन । क्रिकेटको हबहरु भैरहवा, बिराटनगर, वीरगञ्जबाट सुरु गनुपर्छ । यसका लागि हाम्रो हाइ पफर्मेन्स हुनुपर्छ र हाम्रो क्यानको बलियो उपस्थित त्यही क्रिकेट बेल्टमा हुनुपर्छ ।

तपाईलाई कहिलेकाहीँ लाग्दैन, मसँग भिजन पनि छ, डेडिकेसन पनि छ र अन्तर्राष्ट्रिय सम्वन्ध पनि छ । अब क्यानको सीइओ होइन, अध्यक्ष भएर गर्न पाए हुन्थ्यो ?

तपाईले भनेको जस्तो मेरो कल्पना छैन । अगाडि जे जिम्मेवारी आउँछ, त्यो गर्दै जाने हो । मेरो अहिलेको बाटोमा कुनै पनि एङ्गलबाट त्यस्तो लागेको छैन । भविश्यमा चुनौती र सम्भावनाहरु आउँछन् । तर, मलाई बलियो रुपमा लागेको के छ भने भिजनसहित जो कोही आए पनि नेपालले सात वर्षमा टेष्ट खेल्न सक्छ । त्यसका लागि काम गर्नुस्, हामीले एक स्टेप अगाडि बढ्दा सहयोगी हातहरु आउँछन् ।

उसो भए जो आए पनि क्रिकेटको विकास गर्न सक्छ ?

इच्छा छ भने किन हुँदैन । क्रिकेटको विकास गर्छु र नेपालमा टेष्ट खेलाउँछु भन्ने इच्छा र त्यस अनुसारको भिजन लिएर आउने हो भने सम्भव छ । तर, यसले उचालेर पछार्छु, यसलाई तह लगाउँछु भनेर आउनु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment