Comments Add Comment

‘एक सय वटा किताब पढ्ने योजनामा छु’

उपन्यासकार बुद्धिसागरसँग आँसु संवाद

गजल र कविताबाट साहित्य लेखन सुरु गरेका बुद्धिसागरले पछिल्लो समय उपन्यासकारको चिनारी बनाएका छन् । ‘कर्नाली ब्लुज’ निकालेको पाँच वर्षपछि गत वर्ष दोस्रो उपन्यास ‘फिरफिरे’ ल्याए । उपन्यासमा उनी पात्र र भूगोलको दुःख मार्मिक रूपमा चित्रण गर्ने लेखक मानिन्छन् । दोस्रो उपन्यासमा पनि उनले दुःख र पीडाको कथामा पर्याप्त पाना खर्चेका छन् । मदन पुरस्कार गुठीले २०७२ को मदन पुरस्कारका लागि छनोट गरेको सात पुस्तकको ‘श्रेष्ठ-सूची‘मा बुद्धिसागरको ‘फिरफिरे’ पनि परेको छ ।

बुद्धिसागरसँग उनको उपन्यासको विषयवस्तु र प्रस्तुतिबारे केन्द्रित हुँदै गरिएको आँसु संवादः

Buddhisagar (2)

तपाईंलाई दुःख र पीडाका कुरा मात्र लेख्ने रुन्चे साहित्यकार भन्छन् नि !

– रुन्चे साहित्यकार ती हुन्, जो आफूले यति धेरै खतरा कुरा लेखिसके पनि समाजले कुनै मूल्यांकन गरेन भने गनगन गर्छन् । रुवाबासीमा उत्रिन्छन् । मचाहिँ समाजको यथार्थ र विषयको ओज विश्वास राख्ने लेखक हुँ । फिरफिरेमा समाजको अन्धविश्वास र बोक्सी प्रथाको बारेमा लेखेको छु । जुन स्वाभाविक रुपले सामाजिक विडम्बना र दुःखकै कुरा हो । यस्तो कथा पढ्दा नरोए भने कुरा बिग्रिन्छ । यो पक्कै पनि हाँस्ने कुरा हैन । पाठकले पात्रमा आफूलाई एकाकार गरेर पीडाबोध गर्छ र सुकसुकाउँछ । रुनु एक हिसाबले ध्यान पनि हो ।

आँसुको कुरामा किन यति मोह ?

– म पश्चिम नेपालमा जन्मेहुर्केको मान्छे । यस्तो समाजबाट आएँ, जहाँ गरीबी, विकटता  र अभाव मात्र थिए । जे चिज देखेँभोगेँ, त्यही कुरा लेख्छु । लेख्दा यथार्थ होस् भन्ने लाग्छ । शरीर स्वस्थ भए पनि खुट्टामा लागेको एउटा सानो घाउले हामीलाई धुरुक्क पार्छ । त्यो घाउ भनेको समाजको अँध्यारा पाटा र विसंगतिहरु हुन् । म त्यस्तै घाउको व्यथा लेख्न रुचाउँछु । स्वस्थ शरीर त आफैंमा सहीसलामत छँदै छ नि ।

दुःखपीडाले मान्छेहरुको मन सजिलै छुन सकिने भएकाले सजिलो बाटो रोज्नुभएको हो ?

– त्यस्तो हैन । संसारभरिका साहित्य पढ्यो भने तिनमा समाजकै असंगति र दुर्दशाबारे लेखिएको पाइन्छ । तर दुःखका कथा लेख्नासाथै त्यसले मान्छेलाई छोइहाल्छ भन्ने हुँदैन । कसैको निशाना खेर जान्छ । त्यही कथा राम्रो कथावाचकको हातमा पर्‍यो भने मार्मिकरुपमा प्रस्तुत गर्छ । अर्थात् प्रस्तुतिको शैली कस्तो छ, कसरी भन्यो भन्ने कुराले फरक पार्छ । जतिसुकै हाँसो र खुसीको यात्रा पार गरे आखिरमा मान्छेले पीडा नै सम्झिन्छ । समाजमा दुःखकै कथा टन्न छन् । आख्यानमा हामीले अझै त्यस्ता कुरा गहिराइमा गएर ल्याउन सकेका छैनौं जस्तो लाग्छ । बहस गर्नुपर्ने सामाजिक विषय धेरै छन् । अझै खोतल्नु जरुरी छ ।

उपन्यास लेखिरहँदा पात्रको दुःखमा आफैं चाहिँ कति रुनुहुन्छ ?

– म त्यस्तो अवस्थामा धेरै पुग्छु । फिरफिरेमै जुठी आमैलाई बोक्सीको आरोपमा मुडुलो बनाइँदा म भित्रैदेखि चर्किएँ । त्यतिबेला दिनमा एक हजार शब्द लेखिरहेको म पीडाले केही दिन त सयडेढ सय शब्दभन्दा बढी लेख्न नसक्ने भएँ । मलाई पात्रको जीवनमा आउने आँधीहुरीले निकै छुन्छ । किताब लेखिसकेर प्रकाशनमा ल्याएको लामो समयसम्म पनि त्यसको ह्याङ रहिरहन्छ ।

 अचेल मान्छेमा संवेदना हराइसक्यो भनिन्छ, मान्छेको मन छुने गरी लेख्न कति गाह्रो छ ?

– संवेदना हराएजस्तो त मलाई लाग्दैन । कथा पढेर रन्थन्यायो भन्ने पाठकहरु निकै भेटेको छु । उनीहरु पात्रकै पीडा, सपना र संघर्षलाई आफ्नै जीवन जसरी सुमसुम्याउँछन् । पात्रमा एकाकार भएर समभाव राख्छन् । कुनै पावरमा नभएका वर्ग बढी संवेदनशील हुन्छन् जस्तो लाग्छ । पावरमा भएका मानिसहरु चाहिँ विभिन्न समयमा संवेदनहीन देखिन्छन्  ।

जिन्दगीमा कुन बेला धेरै रुनुभयो ?

– म दुःखकै बाटो हिंडेर आएको यात्री हुँ । २०६० को दशकमा काठमाडौंमा बिताएको संघर्षका दिनहरु भुल्न सक्दिनँ । खाना खान कहाँ जाऊँ भनेर भौंतारिंदै हिंड्नुपर्ने अवस्था थियो । कहिले त पेट बाउँडिन्थ्यो दिनभरि । साथीहरुको घर पनि धाउँथेँ खाना पाउने आसले । तर धेरै साथी बनाउन सक्ने मेरो खुबी थिएन । कलेजमा भएका केही साथी पनि असल र निकट थिएनन् । अहिले फर्केर हेर्दा त्यो भोगाइ नै आफ्नो सम्पत्ति जस्तो लाग्छ । चाहेर पनि भोको हुनुको अनुभूति अब गर्न सक्दिनँ । साँच्चै केही नभएर नखानु र भएर पनि बनावटी रुपमा भोकै बस्नु फरक कुरा हुन्छ ।

खुसीले रोएको पनि कुनै क्षण छ कि ?

– दुई वर्षअघि छोरी (कृतिका) जन्मिँदा जीवनमै सबैभन्दा धेरै खुसी भएँ ।

 लोग्नेमान्छे रुनु हुन्न भन्ने परम्परागत सामाजिक मान्यता कस्तो लाग्छ ?

– त्यो मान्यताले पुरुषलाई डिप्रेसनतिर धकेल्छ । रुँदा मन हल्का हुन्छ । तनाव लुसुक्क कुनातिर लाग्छ । रुनु, हाँस्नु जस्ता कुरा प्राकृतिक हुन् । मन लागेको बेला धित मर्ने गरी रुन पाउनुपर्छ । रुनु जरुरी छ । रुँदा देख्लान् र के भन्लान् भनेर सोचियो भने पीडाले भित्रभित्रै खान्छ मान्छेलाई । कहाँकस्तो अवस्थामा रुन हुनेनहुने मान्छेको आफ्नो कुरा हो ।

 समाजमा बाँच्ने क्रममा कस्तोसम्म दुःख देख्नुभएको छ ?

– दुःख जहीँतहीँ छ । भर्खरै केही समयअघि गोंगबुतिर बिहानपख घुम्दै पुगेको थिएँ । घर बनाउन खटिएको एउटा मजदुर काम गर्दागर्दै भ्वाक्कै ढल्यो । नाक र मुखबाट ह्वाल्ल रगत निस्कियो । उसलाई केहीबेरमा अस्पताल लगियो । सोही दिन दिउँसो चार बजेतिर त्यही बाटो हिँड्दै थिएँ । बिहान रगत छाद्‍ने त्यही मजदुर गिट्टी बोक्ने गह्रुंगो काममा खटिरहेको देखेँ । कस्तो विडम्बना जिन्दगीको! समाजका यस्ता घटना आँखामा ठोक्किरहन्छन् । ससाना चिजले छोइरहन्छ ।

नेपाली समाजमा यति धेरै आँसु छ, बजारले पनि किन पीर र विरहकै कथा रुचाउने होला ?

– पीडाको कथा पढेर के हुन्छ भन्ने कुरा आउँदा एउटा कार्यक्रममा सीके लालले ठट्टा गर्दै भन्नुभएको थियो सहने शक्ति प्राप्त हुन्छ ।

हाम्रो भोगाइ र दुःख कस्तो छ भन्ने महसुस गराउन समाजका चरित्र टिपेर लेखिन्छ । त्यस्तो चरित्रमा मान्छेहरुले आफ्नै प्रतिविम्ब देख्छन् र रुचाउँछन् जस्तो लाग्छ । हामी कस्तो समाजमा बाँचिरहेका छौं भनेर त्यसबारे मान्छेहरुलाई हृदयदेखि नै झकझक्याउन हामी लेख्छौं । हास्य रसले भरिएका उपन्यास संसारमा कमै छन् ।

 तपाईं त सपना देख्ने लेखक । समाजको यथार्थ लेखिरहँदा त्यहाँको समस्या र दुःखको पहाड सामु सपना जोगाउन मुश्किल पर्दैन ?

– सपना ठूलो देख तर खुसी ससाना कुरामा होऊ भन्ने मेरो विचार हो । पीडा र दुःख हुँदैमा सपना समाप्त हुँदैन । त्यही बीचबाट सपना टुसाउने हो । तपाईंले कस्तो समाजको जगमा उभिएर सपना देख्नुभयो भन्ने कुराले फरक पार्छ ।

 समाजको आँसु पखाल्न लेखकको दायित्व के रहन्छ ?

– लेखकको काम लेख्दै जाने हो । त्यो लेखन पढेर सबै रोऊन् । शक्तिमा भएका मान्छेको आँखा पनि सफा होस् । रोएको आँखाले कुनै पनि चिजलाई सुन्दर र फरक देख्छ भन्ने लाग्छ मलाई । समाजको हालत पढेर मान्छेहरु हामी रोइरहने कि अब नरुने वातावरण बनाउने भनेर तरंगित हुनुपर्छ । ता कि कुनै दिन रुवाउन खोज्दा पनि समाजमा त्यस्तो कथा नै नभेटियोस् । सभ्य र व्यवस्थित बनोस् समाज । सबैतिर उज्यालै उज्यालो होस् । तब पो मजा !

तपाईंको अब आउने नयाँ कृतिमा पात्रहरुले दुःखबाट छुट्टी पाउलान् ?

– त्यो त भविष्यको हातमा छ । छिपछिपे विचारको खाका चाहिँ अहिले छ । तर त्यो विकसित हुन बाँकी नै रहेकोले यसै भन्न सक्दिनँ । पछिल्लो समय फुलटाइमर लेखक भएको छु । लेखनलाई नै विकसित गराउँदै जानु छ । त्यसै क्रममा अहिले एक सय वटा किताब पढ्ने योजनामा छु । त्यो सकेपछि मात्रै नयाँ किताब लेख्न सुरु गर्छु । विभिन्न देशमा केकस्ता साहित्य लेखिंदै छन्, विषय केकस्ता उठाउँदा रैछन् भनेर जान्न फरकफरक देशका किताब छानेको छु । छानेका ७० प्रतिशत किताब आख्यानका छन् । अहिले ३१औं किताब पढ्दै छु ।

 तपाईं आफूलाई कस्तो लेखक हुँ जस्तो लाग्छ ?

– विशिष्ट पाठकहरु पाएको एउटा सामान्य लेखक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment