Comments Add Comment

सर्सराउँदा शशांक कसरी अचेत भए ? पिज्जा कसले खुवायो ?

रातभरि डाक्टरले हेरेनन्, उपचारमा विवाद

Dr Shashank Koirala

२२ असार, काठमाडौं । ओम अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरमा राखिएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई हेरेर कांग्रेस नेतृ सुजाता कोइराला आइसीयुबाट रुँदै बाहिरिन् । नाताले शशांककी दिदी सुजाता यसरी रोएपछि अन्य आफन्तजन भावविह्ल भए । धेरैलाई कौतुहल भयो, ह न शशांकको अवस्था निकै गम्भीर छ कि क्या हो ?

कांग्रेस नेता शशांकको उपचार र स्वास्थ्य अवस्थाबारे केही तथ्य यस्ता छन्ः

कतिबेला अस्पताल भर्ना भए ?

डा. शशांक कतिबेला र कुन अवस्थामा अस्पताल भर्ना भएका थिए भन्नेबारे फरक सूचना बाहिर आएका छन् । अस्पतालको औपचारिक पत्रकार सम्मेलनमा बोलेका डा. लव जोशीले उनी मंगलबार राति ८ बजेपछि हस्पिटलाइज्ड भएको बताएका छन् ।

तर, कांग्रेसका केही नेताहरु उनी बिहानको उज्यालो हुनेबेलामा अस्पताल भर्ना भएको बताउँछन् । कसैको भनाइ छ कि उनी मध्यराति अस्पतालमा भर्ना भएका हुन् ।

तर, हामीले अहिलेसम्म अस्पताल स्रोतको भनाइलाई नै विश्वास गर्नुपर्ने हुन्छ । अस्पतालको भनाइ ‘८ बजेपछि’ भन्ने छ । र, त्यसबेलासम्म उनी सरसाउँदा नै थिए ।

डा. शशांकको अस्पताल भर्नाबारे डा. लव जोशी भन्छन्- ‘डा. शशांक हिजो राति ८ बजेपछि हामीकहाँ हस्पिटलाइज्ड हुन आउनुभएको थियो । र, अलिकति पेटमा खराबी…खोकी र श्वास लिन अलिअलि गाह्रो भएको छ भनेर आउनुभएको थियो ।’

रातभरि जाँच भएन ?

राति ८ बजेपछि अस्पतालमा भर्ना भएका भनिएका शशांकको जाँच रिपोर्ट ओम अस्पतालले रातिको र एकैचोटि बिहानको मात्रै पत्रकार सम्मलेनमा प्रस्तुत गरेको छ ।

शशांकको स्वास्थ जाँचको रिपोर्टबारे डा. जोशीले पत्रकार सम्मेलनमा भने- ‘हिजो राति हामीकहाँ आइपुग्नुहँदाखेरि उहाँको ब्लड प्रेसर १००/७०, अक्सिजन लेबल ठीकै थियो । आज बिहान साढे ५ बजे हामी डाक्टरहरुले हेर्नेक्रममा अलि छटपटाइरहनुभएको थियो । ब्लड प्रेसर पनि उहाँको एकदमै लो भएको थियो । हिजो १००/७० थियो, आज ६०/४० मा झरेको थियो । अक्सिजन लेबल हिजोसम्म ९० प्रतिशत थियो, आज बिहान ५९ प्रतिशत । अलिकति भोमिट -बान्ता) पनि भएको देखियो ।’

डा. जोशीको यो रिपोर्टले के स्पष्ट पार्छ भने बेलुकै अस्पतालमा भर्ना भएका कोइरालालाई डाक्टरहरुले अस्पताल भर्ना हुनासाथ र एकैचोटि भोलिपल्ट बिहान मात्रै जाँच गरे । बेलुका ठीकै अवस्थामा देखिएका कोइराला बिहान छटपटाउन थालिसकेको अवस्थामा मात्रै डाक्टरहरुको ध्यान गयो ।

बिहानको अवस्थाबारे डा. जोशी भन्छन्- ‘हामीले इमिडिएट कन्सलटेन्टहरुलाई बोलायौं । १० मिनेटमै हामी आइपुगिहाल्यौं र आएर हामीले गर्ने कामहरु गर्‍यौं । उहाँको मुटुको चाल पनि अलि कमजोर भएकाले कार्डियल कम्प्रेसनहरु गरेर अहिले हामीले भेन्टिलेटर जोडेका छौं । कार्डियल कम्प्रेसन हामीले आधा घण्टाजति गरेर औषधि दिएपछि उहाँको मुटु चल्न सुरु गर्‍यो । अहिले उहाँ भेन्टिलेटर सपोर्टमा हुनुहन्छ ।’

अहिलेको अवस्था के छ ?

बुधबार दिउँसो डा. कोइरालाको अवस्था कस्तो छ भन्नेबारे फेरि डा. जोशी- ‘अक्सिजन, मेसिनकै सपोर्टमा हामीले दिइरहेका छौं । उहाँको ब्लड प्रेसर कम भएको हुनाले हामीले ब्लड प्रेसर बढाउने औषधिहरु, दुईथरि, तीनथरि औषधिहरु चलाइराखेका छौं । एन्टिवायोटिकहरु चलाएका छौं । उहाँलाई अहिले आइसको प्रयोगबाट लो टेम्प्रेचरमा राखिएको छ ।’

बेलुकै अस्पताल आएका भनिएका कोइरालालाई निमोनियाले भेटेको चाँडै पत्तो लगाएर उपचार गरिएको भए अचेत हुनुपर्ने अवस्था पर्दैनथ्यो कि ?

Dr-Lov-Joshi
डा. लव जोशी

अस्पतालले सम्भवतः बिहानमात्रै यसबारे चासो दियो । डा. जोशी भन्छन् -‘किन श्वास लिन गाह्रो भयो भनेर हामीले चेस्टको एक्स रे गरेर हेर्दाखेरि उहाँको लेफ्ट साइडमा निमोनिया देखियो ।’

यद्यपि डा.जोशीको दाबी छ यो कि कोइरालाको अवस्था सन्तोषजनक नै छ । उनी भन्छन्- ‘अहिले उहाँको मुटुको रेट १३० प्रतिसेकेन्ड रेगुलरली छ । हामीले इसीजी पनि हेर्‍यौं । इसीजीमा कुनै हर्ट एट्याक अथवा त्यस्तो खराबी देखिएको छैन । अक्सिजन भेन्टिलेटरमा १ प्रतिशत अक्सिजन दिँदा अहिले ९० प्रतिशत आएको छ । ब्लड प्रेसर अझै पनि लो साइडमै छ । ९०/६० छ । बिहानदेखि अहिलेसम्मको पिसाब आउटपुट कति छ भनेर हेर्दाखेरि झण्डै-झण्डै ५० एमएल पर आवर छ, जुन सन्तोषजनक छ । युरिन बन्दै भएको भए प्रोब्लम हुन्थ्यो । उहाँको इसीजी नर्मल छ । उहाँको बिहान मुटु नै बन्द भएकाले हामीले हेर्‍यौं, सन्तोषजनक नै छ । सामान्यतः ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म छ । चेस्टमा चाँहि निमोनिया छ । त्यसैले भेन्टिलेटर सपोर्ट ।’

तर, अस्पतालको निश्कर्ष चाहिँ के छ भने कोइरालाको अवस्था ‘क्रिटिकल’ छ । डा. जोशी भन्छन्- ‘अहिलेसम्म हामीले भन्ने के हो भने उहाँको मेडिकल कन्डिसन क्रिटिकल छ । भाइटल सपोर्टहरु गरेर हामीले उहाँलाई स्टेबल बनाउने कोसिस गरिरहेका छौं । हामीले सिनियर मेडिकल टिम बनाएका छौं ।’

एयरपोर्टसम्म लाने एम्बुलेन्ससम्म छैन !

लाजमर्दो त के देखिएको छ भने नेपालमा एउटा पनि त्यस्तो एम्बुलेन्स छैन, जसमा अत्याधुनिक सुविधायुक्त भेन्टिलेटर जोडिएको होस् ।

डा. कोइरालालाई थप उपचारका लागि दिल्ली लैजान कांग्रेस नेताहरुले बुधबार बिहानैदेखि जोड गरे । कांग्रेस सभापति देउवाले पनि तत्काल दिल्ली लैजाने व्यवस्था गर्न भने । तर, डाक्टरहरुले चाबहिलदेखि भेन्टिलेटरमा राखेर विमानस्थलसम्म पुर्‍याउने अत्याधुनिक सुविधायुक्त साधन नभएको जानकारी नेताहरुलाई दिए ।

दिल्लीबाट एयर एम्बुलेन्स त विमानस्थलसम्म ल्याउन सकिन्छ तर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेरमात्रै विमानस्थलसम्म पुर्‍याउनुपर्ने भएकाले डाक्टरहरुले यो वीचको बाटोमा कसरी लैजाने भन्ने प्रश्न उठाए ।

नेपालमा एउटा पनि अत्याधुनिक सुविधायुक्त भेन्टिलेटरजडित एम्बुलेन्स छैन भनेर डाक्टरले भनिरहँदा नेताहरु नाजवाफ देखिएका थिए ।

‘इण्डियाको जति उपचार नेपालमै हुन्छ’

शशांकलाई थप उपचारका लागि भारत लैजाने कि स्वदेशमै उपचार गर्ने भन्ने विषयमा विवादमा शशांक पत्नी डा. सुपात्राको भूमिका निर्णायक देखियो । अस्पताल स्रोतका अनुसार सुपात्राले शशांकलाई नेपालमै उपचार गर्नुपर्नेमा जोड दिइन् ।

भारतमा जस्तै उपचार नेपालमै हुने भन्दै उनले अहिले ओम अस्पतालमै उपचार गरियोस् भन्ने आग्रह गरेपछि कांग्रेस नेताहरु मौन बन्न बाध्य बनेका छन् ।

तथापि उनलाई भारत लैजाने कि नेपालमै उपचार गर्ने भन्नेमा कांग्रेसभित्र विवाद कायमै छ । सुपात्रालाई डाक्टरहरुले साथ दिएका छन् र स्वदेशमै उपचार गर्न सकिने बताएका छन् । यद्यपि एयरपोर्टसम्म लैजाने व्यवस्था गर्न सके एयर एम्बुलेन्स झिकाएर भारत लैजाने विकल्पमा आफूहरु ‘ओपन’ रहेको डाक्टरहरुको भनाइ छ ।

नेपालमा एउटा पनि अत्याधुनिक सुविधायुक्त भेन्टिलेटरजडित एम्बुलेन्स छैन भनेर डाक्टरले भनिरहँदा नेताहरु नाजवाफ देखिएका थिए ।

तर ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स दुईवटा छन् । शहिद गंगालाल, नर्भिक लगायत अस्पतालमा पनि सुविधायुक्त भेन्टिलेटर जडित एम्बुलेन्सहरु छन् । तर, शशांकको उपचारमा संलग्न डाक्टरहरुले नेताहरुलाई किन यस्तो भने आश्चर्यको विषय बनेको छ ।

पिज्जा कसले खुवायो ? रक्सीसमेत पिएको चर्चा

डा. कोइरालाले मंगलबार बेलुका पिज्जा खाएको र त्यसपछि पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको बताइएको छ । यदि त्यो सत्य हो भने कोइरालाले कहाँ बनाएको पिज्जा खाएका थिए ? के त्यो पिज्जामा पोइजन थियो ? यो विषय खुलेको छैन ।

तर, कतिपयले भने रक्सीका अम्मली डा. कोइरालाले पिज्जा खाएको भने पनि अत्यधिक मदिरासमेत सेवन गरेको हुन सक्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment