Comments Add Comment

मोटाएर झन् राम्री भएकी छुः दिपाश्री

'गोली सिसामा सुकेँ, सुर्के थैलीमा फुँके'

deepa shree

ग्ल्यामरको दुनियाँमा मोटोपना उति प्रितकर मानिँदैन । अझ अभिनेत्रीको हकमा मोटो हुनु अभिशापै हुन पुग्छ । तर, दिपाश्री निरौलालाई अपवादमा राखौं । उनी आफ्नो मोटोपनामै रमाइरहेकी छिन् ।

वडा नम्बर ६ को ‘सुर्के थैली खोई’ बोलको चर्चित गीतमा छरितो नृत्य गरेर दिपाश्रीले मोटाहरु पनि नाच्न सक्छन् भन्ने देखाइदिइन् ।

उनै अभिनेत्रीसँग गरिएको संवादः

तपाईंको तौल कति छ ?

६६ केजी ।

मोटाउनुको खास कारण ?

नियमित व्यायाम नगरेरै मोटाएकी हो । व्यायाम गर्दै छोड्दै गर्दा झन् मोटाइदो रहेछ ।

कहिलेदेखि मोटाउन थाल्नुभएको हो ?

ठ्याक्कै यही बेलादेखि भन्ने त छैन । तर, ०५४ सालतिर गाउँले चलचित्रको ‘गोली सिसाको’ बोलको गीतमा नृत्य गर्दा म ५० केजी मात्र थिएँ  । सुर्के थैलीसम्म आइपुग्दा १६ केजी थपिएको छ । यस अर्थमा ‘गोली सिसामा म सुकेकी थिएँ भने सुर्के थैलीमा फुकेकी छु ।

वजन बढ्दा आफूमा के-कस्तो फरक महसुस गर्नुभएको छ ?

म पातली हुँदा त्यति चर्चामा थिइनँ । मोटी हुनासाथ तितोसत्य टेलिश्रृंखलामा अभिनय गर्न थालेँ । त्यसमा आमाको भुमिकामा म फिट देखिएकी थिएँ ।

मोटाएपछि आफैंलाई ऐनामा हेर्दा पहिलेभन्दा राम्री लाग्छ । खाइलाग्दी देखिन्छु । मेरो जिउ देखेरै मानिसहरु थर्किन्छन् । यस अर्थमा पहिले भन्दा अहिले नै ठीक लाग्छ । अझ मोटाईले मानिसको व्यक्तित्व झल्कन्छ जस्तो लाग्छ ।

भनेपछि दुब्लाउने कुनै योजना छैन ?

हेर्नोस्, मान्छेको शरीर तलमाथि भइरहन्छ । अब ‘छक्का पञ्जा’को रिलिज नजिकै आएको छ । त्यसको टन्सनले पनि घटिहाल्छु ।

धेरै खाएर पनि मोटाउनुभएको हो कि ?

खान त म ‘जे आउँछ, मजाले पचाउँछ’ भने जस्तै गरी खान्छु । अहिले मोटाएकाले भात चाहिँ अलिकति कम खान थालेकी छु ।

त्यसबाहेक टेन्सनका बीच मुटुलाई बलियो बनाउन तथा शरीरलाई स्वस्थ राख्न हरेक दिन विहान एउटा स्याउ खान्छु । दिनमा दुईदेखि तीन लिटरसम्म पानी पिउँछु । त्यसबाहेक साथीहरुसितको जमघटमा दुई/तीन गिलास पनि दिइहाल्छु ।

त्यसैले यो कुरा खाँदिन भन्ने त मेरो डिक्सनरी मै छैन । यति हो कि जे खान्छु, आफुलाई नियन्त्रित गरेर खान्छु ।

दुब्लाउनका लागि आजसम्म कस्तो प्रयास गर्नुभयो ?

एकपटक आफ्नो स्वास्थ्यको धेरै नै ख्याल गरेर स्लीम सेन्टर गएकी थिएँ । त्यहाँ यो खाना खाने, यो नखाने भनेर लिस्टै दिएका थिए । त्यही अनुसार खाना खान थालेपछि एकपल्ट म बाटोमै बेहोस भइछु । यो काम मैले कल्पना भन्ने साथीको लहलहैमा लागेर गरेको थिए । पछि त उ पनि बेहोस । अझ उसलाई त स्लाइन पानी नै चढाउनु पर्ने भएछ । त्यसपछि त ‘हेरेर मर्नुभन्दा छेरेरै मर्नु ठिक’ भनेजस्तै खानामा फुक्का भएँ ।

मोटोपन घटाउनकै लागि कहिल्यै डाक्टरको परामर्श लिन जानु भएको छ ?

६/६ महिनामा आफ्नो सम्पूर्ण शरीर जाँच गर्न डाक्टरकहाँ जान्छु । जे पायो त्यही खाने बानी भएकोले शरीरमा कुनै प्रकारको रोग लाग्न नदिन पनि यो जरुरी छ ।

अनि डाक्टरलाई तपाईंले धेरै सोध्ने प्रश्न चाहिँ के हो नि ?

अरु त खासै केही छैन । आफ्नो मेटाबोलिज्म बढाउन के खानु पर्छ ? यो खायो भने ठिक हुन्छ ? भन्ने जस्ता प्रश्न सोध्ने गर्छु । उत्तरमा डाक्टरले दालचिनी खानु यसले स्वास्थ्यमा फाइदा गर्छ भनेकाले अहिले पनि दालचिनी चपाइरहेको छु ।

मोटाई कम गर्न कुनै औषधिको प्रयोग गर्नुभएको छ ?

छैन, अहिलेसम्म त्यस्तो केही खाएको छैन ।

पाठकलाई फिटनेससम्वन्धि तपाईका टिप्स ?

अहिलेको समयमा खानाप्रति सजग हुनैपर्छ  । त्यो भन्दैमा एक महिनामै पाँच किलो तौल घटाउने भन्ने हैन । एकैपटक ह्वात्तै तौल घट्दा विभिन्न रोग लाग्न सक्छ  । त्यसैले विस्तारै-विस्तारै तौल घटाउनु नै सबैभन्दा उत्तम उपाय हो जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment