Comments Add Comment

हृदयाघात सम्बन्धी केही भ्रमपूर्ण धारणा

कस्ता व्यक्तिलाई हृदयाघातको सम्भावना बढी हुन्छ ?

heartहृदयाघात अर्थात् ‘हर्ट एट्याक’ बारे केही अस्पष्ट धारणाहरु छन्, जसलाई यसरी बुँदागत रुपमा चर्चा गर्न सकिन्छ:

१. बेहोश नै भाको छैन कहाँ हृदयाघात हुनु ?

हृदयाघात मुटुसंग सम्बन्धित कुरा हो । हृदयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचेजस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई देब्रे पाखुरा, देब्रे चिउंडोतिर पनि सर्न सक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गह्रुंगोपन मात्रै महसूस हुन सक्छ भने कतिपय अवस्थामा छाती र पेटको बीच भागमा दुख्ने पनि हुन सक्छ । त्यसैले हृदयाघातमा बेहोश हुनुपर्छ भन्ने छैन । तर, ठूलो हृदयाघात भएर मुटुको मांशपेशीमा ठूलो क्षति पुगी मुटु कमजोर हुनपुगेमा वा हृदयाघातपछि मुटुको चाल तथा रक्तचाप तलमाथि भएको अवस्थामा मानिस बेहोश पनि हुनसक्छ ।

२.हृदयाघात तीनचोटि भयो भने बल्ल मरिन्छ

मानिसको मृत्यु हुनलाई हृदयाघात तीनचोटी हुन जरुरी छैन । पहिलो हृदयाघात नै ठूलो प्रकृतिको भएर यदि मुटुको मासंपेशीको ठूलो भागमा क्षति पुग्यो भने त्यसैले पनि मानिसको मृत्यु हुनसक्छ । हृदयाघात भएपछि छोटो समयमै आवश्यक उपचार नपाएमा पहिलो हृदयाघातले पनि मानिसको मृत्यु हुनसक्छ । तर यसले मुटुको सानो भागमा मात्र क्षति पुर्‍यायो अथवा ठूलै हृदयाघातको पनि तुरन्तै आवश्यक उपचार भएमा मानिसले जीवन गुमाउनुपर्दैन ।

एकचोटि हृदयाघात भइसकेपछि यो पुनः दोहरिन सक्ने भएकोले फेरि नदोहरियोस् भन्नाका लागि हृदयाघातको अवस्था र मुुटुका रक्तनलीहरुको अवस्था हेरी विरामीलाई स्टेन्ट राख्ने (एन्जियोप्लाष्टि) वा बाइपास अपरेशन गर्ने सल्लाह पनि दिइन्छ। रक्तनलीको अवस्था सामान्य देखिएको अवस्थामा विरामीलाई जीवनभर औषधी खाने सल्लाह दिइन्छ । रक्तनलीको अवस्था हेर्नको लागि कोरोनरी एन्जियोग्राम भन्ने जांच गरिन्छ ।

३. हृदयाघात हुँदा इसीजीमा खराबी देखिनैपर्छ

इसीजी एक किसिमको जाँच हो । हृदयाघात हुँदा धेरैजसो अवस्थामा यसको असर इसीजीमा प्रष्ट देखिन्छ । तर, कहिलेकाँही हृदयाघात भइसक्दा पनि इसीजी बिलकुल सामान्य देखिन्छ । विशेषगरि हृदयाघातको शंका लागेमा डाक्टरले विरामीको छाती दुखाइको किसिम, इसीजी रिपोर्ट तथा हृदयाघातको लागि गरिने रगतको जाँचको रिपोर्टको सहयोग लिन्छन् ।

इसीजी सामान्य आएको तर छाती दुखाई हृदयाघातको जस्तै लागेमा अस्पतालमा कम्तीमा २४ घण्टा भर्ना गरेर २, ३ पटक रगत, इसीजी आदि जाँच दोहोर्‍्याएर हृदयाघात भए नभएको निक्र्यौल गरिन्छ ।

यो अवस्था डाक्टर तथा विरामी दुवैको लागि कठिन स्थिति हो । डाक्टर हृदयाघात भइसकेको हो भने नछुटोस् भन्ने चाहन्छन् भने विरामी मलाई केही भएको छैन, डाक्टरले यतिकै अस्पताल भर्ना गर्न खोज्यो, अथवा आर्थिक लाभ लिन खोज्यो भन्ने सोचाइ पनि राख्ने गर्छन् । यो कुरामा विरामीलाई विश्वास गराउन निकै गार्‍हो पर्छ । यो अवस्थामा डाक्टरको सल्लाह अनुसार कम्तीमा २४ घण्टा अस्पताल बसेर जाँच दोहोर्‍याएर हृदयाघात भए नभएको प्रष्ट भएर मात्रै घर र्फकदा उचित हुन्छ ।

४. हृदयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ

मुटुका मंासपेशीलाई अक्सिजन पुर्‍याउने काम मुटुका रक्तनलीले गर्छन् । यही रक्तनलीहरु साँघुरिँदै गएमा वा साँघुरिएको रक्तनलीमा रगत जमेर मांसपेशीमा रगतको आपूर्ति नभएमा मुटुको मांसपेशी मरेर जान्छ ।  यही अवस्थालाई नै हृदयाघात भनिन्छ ।

हृदयाघात भएको अवस्थामा विरामीले आवश्यक उपचार तुरुन्तै पाएमा मुटुको मांसपेशीलाई क्षति हुनबाट जोगाउन सकिन्छ । आवश्यक उपचार भन्नाले बन्द भएको रक्तनली खोलेर रक्तसंचार गराउने उपचार हो । धेरै अस्पतालले रक्तनली खोल्नका लागि नशाबाट चलाइने इन्जेक्शनको प्रयोग गर्छन् भने ठूला अस्पतालहरुमा एन्जियोप्लाष्टि गरेर स्टेन्ट राख्ने पनि गरिन्छ ।

हृयघात हुनासाथ यी दुवै उपायमध्य कुनै एक जति छिटो अपनायो त्यति नै बढी मांसपेशी जोगाउन सकिन्छ । अझ हृदयाघात भएको १२ घण्टाभित्र यो उपचाय अपनाउन सके यी दुवै उपचारले विशेष महत्व राख्छ । यी दुवै मध्ये इन्जेक्सनको माध्यमबाट बन्द भएको रक्तनली ६० देखि ७५ प्रतिशत सम्म तथा एन्जियोप्लाष्टि को माध्यमबाट ८५ देखि ९५ प्रतिशतसम्म खोल्न सक्ने विश्वास गरिन्छ ।

DR.milan prakash
डा. मिलनप्रकाश श्रेष्ठ

यसरी हृदयाघातको उपचार तुरन्तै गरेर मुटुका मांसपेशीलाई जोगाउनसके र हृदयाघात पछि डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गरिरहेमा मुटु कमजोर हुन पाउँदैन । तर, हृदयाघात भएपछिको अवस्थामा विरामीले तुरन्त आवश्यक उपचार नपाएमा मुटुका मांशपेशी मर्न गई त्यसपश्चात्त जति उपचार गरेपनि कामै गर्न नसक्ने अवस्थामा पुग्नसक्छ । यसैले हृदयाघातको उपचारमा समयले महत्वपूर्ण भूमिका खेल्छ ।

इन्जेक्सनको माध्यमबाट बन्द रक्तनली खोल्ने उपचार काठमाडौंमा धेरैजसो अस्पतालमा उपलब्ध छन् । त्यसैगरी, काठमाडौं बाहिर मुटुरोग विशेषज्ञ तथा जनरल फिजिसियन भएका सबै अस्पतालमा यो सेवा उपलब्ध हुन्छ ।

त्यसैगरी, एन्जियोप्लाष्टि सेवा काठमार्डौस्थित शहीद गंगालाल अस्पताल, मनमोहन अस्पताल, वयोधा, नर्भिक तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा २४ सै घण्टा उपलब्ध छ । काठमाडौ बाहिर चितवन र विराटनगरमा पनि यो सेवा उपलब्ध छ ।

इन्जेक्सनको माध्यमबाट खोल्ने उपचार तुलनात्मक रुपमा केही सस्तो हुन्छ । त्यसैले जहाँ एन्यिोप्लाष्टिको सुविधा छैन, त्यहाँ कमसेकम यो इन्जेक्सन दिएर केही मात्रामा भएपनि रक्तसंचालन सुचारु गरेर एन्जियोप्लाष्टि सेवा भएको अस्पतालमा छिटो पुर्‍याउनसके मुटुका मांसपेशीलाई जोगाउन सकिन्छ । यस्ता उपचार सही समयमा पाउनसके मुटुको अवस्थालाई पुरानै सही अवस्थामा ल्याउन सकिन्छ।

५. म सूर्तीसेवन गर्दिँन, रक्तचाप, सुगर केही छैन, मलाई हृदयाघात हुनै सक्तैन

चुरोट पिउने, शारिरिक व्यायाम नगर्ने, मोटोपना बढी भएका, उच्च रक्तचाप, डाइविटिज तथा उच्च कोलेष्ट्रोल भएका व्यक्ति हृदयाघातको जोखिममा पर्ने गर्छन् । यो यस्ता मेडिकल विज्ञानले समेत प्रमाणित गरेका कुरा हुन् तर यसमा नपर्ने व्यक्तिलाई हृदयाघात हुँदैन भन्ने होइन ।

परिवारमा नजिकको नाता तथा आमा बुबा, मामा, काका, ठूलोबुवा, दिदी, भाइ आदि लगायतका पहिलो श्रेणीको नजिकका नातालाई हृदयाघात भएको छ, थियो भने त्यस्ता ब्यक्तिलाई पनि हृदयाघात हुने सम्भावना बढी रहन्छ ।

६. घरमै औषधी खाएर बसे हुँदैन र डाक्टरसाब ? किन अस्पताल भर्ना हुनुपर्‍यो ?

हृदयाघात भएपछिको अवस्था एकदमै खतरायुक्त हुन्छ । हृदयाघात भएपछिको केही समय -सामान्यतया २४ देखि ७२ घण्टा) रक्तसंचालन, मुटुको चाल, रक्तचाप आदि कुराहरुमा तलमाथि भइरहनसक्छ । यस्तो अवस्थामा समस्या अनुसार तत्कालै उपचार नगरेमा विरामीको तुरुन्तै मृत्यु हुन सक्छ । यो अवस्थामा आरामले विशेष महत्व राख्छ । आराम गर्नु भनेको मुटुलाई पनि आराम दिलाउनु हो।

हृदयाघात पछिको अवस्थामा धेरै बोल्दा पनि मुटुमा असर पर्न सक्ने हुँदा विरामीलाई पूर्ण आरामको अवस्थामा राखिन्छ । साथै मुटुको चाल, रक्तचाप, श्वासप्रश्वास आदि हेर्दै विरामीको उपचार गर्नुपर्ने हुँदा विरामीलाई सीसीयूमा राखेर उपचार गरिन्छ ।

सीसीयूमा  तालीम प्राप्त चिकित्सक, नर्सिङ्ग् स्टाफ र मुटुको गतिविधि हेर्न सकिने कार्डियाक मनिटर, आवश्यक परेमा विद्युतीय झट्का दिने डिफिबि्रलेटर तथा कृत्रिम श्वासप्रश्वास दिने भेन्टिलेटर आदिकोे सुविधा हुन्छ जुन अरु वार्डमा उपलब्ध हुँदैन । त्यसैले अस्पतालकै अरु वार्डमा त नहुने कुरा घरमा बसेर औषधी खाएर हुने कुरै भएन । तर विरामीको अवस्था सामान्य बन्दै गएर खतरामुक्त देखिएमा सीसीयूको बसाई धेरै छोटो हुन्छ ।

७. हृदयाघात त बुढाबुढी भएपछि हुने समस्या हो

केही वर्ष अगाडिसम्म हृदयाघातलाई ६० बर्ष माथिको उमेरका बुढाबुढीलाई हुने समस्याको रुपमा लिइन्थ्यो । तर अहिले ४० बर्ष भन्दा मुनिका व्यक्तिहरुमा पनि यो समस्या प्रशस्तै देखिन थालेको छ । यसको मुख्य कारणमा चुरोट तथा अन्य सूर्तीजन्य बस्तुको नियमित सेवन, उच्च रक्तचाप, सुगर तथा कोलेष्ट्रोल उपचारमा हेलचेक्र्याई, नियमित मानसिक तनाव लगायत पोजिटिभ फेमिली हिस्ट्री (परिवारमा कसैलाई हृदयाघात भएको थियो भने त्यसलाई पोजिटिभ फेमिली हिस्ट्री भनिन्छ) आदि प्रमुख कारकतत्वमा देखिन्छ । यस्ता कुराहरुलाई समयमै ध्यान पुर्‍याउन सके हृदयाघातको खतराबाट जोगिन सकिन्छ ।

८. मलाई छाती दुखेकै छैन कसरी हृदयाघात हुन्छ ?

हृदयाघातको मुख्य लक्षण छाती दुखाई भए पनि कुनै-कुनै समयमा छाती नदुखी सास फेर्न गार्‍हो हुने मात्रै पनि हुनसक्छ । सास फेर्न गाह्रो हुनाको साथै विरामीलाई छटपटी हुने, चिट्चिट् पसीना आउने, ढुकढुकी बढ्ने आदि हुनसक्छ ।

कतिपय अवस्थामा छाती र पेटको बीचको भागमा दुखाई लिएर आएको विरामीमा ग्याष्ट्रिक भन्दै उपचार गरेको तर पछि हृदयाघात नै भइसकेको पनि भेटिएको छ । यस्तो अवस्थामा विरामीको लक्षणहरुका साथै इसीजी तथा रगतको जाँचको सहयोग पनि लिइन्छ।

ट्रेडमिल टेष्ट

मुटुका रक्तनलीहरु साँघुरिने समस्या पहिचान गर्न सकिने धेरै किसिमका जाँचहरु उपलब्ध छन् । सबैको पहंुचभित्रको र धेरै खर्च पनि नलाग्ने साथै भरपर्दो जांच भनेको ट्रेडमिल टेष्ट हो । यो एक किसिमको मेसिन हो जुन हामी घरमा वा फिट्नेश सेन्टरमा शारिरिक सुगठनको लागि प्रयोग गर्दछौ ।

ट्रेडमिल टेष्टमा चाहिँ मेसिनसँग इसीजी पनि जोडिएको हुन्छ । यो टेष्ट गर्दा विरामीलाई मेसिनमा हिँड्न लगाइन्छ र लगातार मुटुको इसीजी अध्ययन गरिन्छ । इसीजीको साथै विरामीको मुटुको चाल, रक्तचाप आदि पनि साथै अध्ययन गरिन्छ ।

यो जाँचको मुख्य उद्देश्य विरामीलाई हिडाएर मुटुलाई बढी काम गराउनु हो । बढी काम गर्नुपर्दा मुटु बढी धडकिन्छ । जसले गर्दा मुटुमा बढी अक्सिजनको आवश्यकता पर्छ । साधारणतया मुटुका रक्तनलीहरुस्वस्थ छन् भने मेसिनमा हिंड्दै जाँदा रक्तनलीहरु फुक्दै खुल्दै बढी रक्त प्रवाह गर्छन् र विरामीलाई कुनै किसिमको समस्या महसुस हुँदैन ।

तर, यदि रक्तनलीहरु साँघुरिन थालेका छन् भने बिरामी हिँड्दै जाँदा मुटुका मांशपेशीमा आवश्यक मात्रामा रक्त प्रवाह हुन पाउँदैन र बिरामीलाई छाती दुखेको, सास फेर्न गाह्रो भएको महसूस हुन थाल्छ । यसको साथै आवश्यकमात्रामा रक्तप्रवाह नभएपछि मुटुका मांसपेशीमा अक्सिजनको कमी हुन पुग्छ, जुन कुरा इसीजीमा देखिन्छ । यसैका आधारमा रिपोर्ट दिइन्छ ।

यस जाँचको रिपोर्टमा नेगेटिभ भनेको राम्रो हो भने पोजिटिभ भनेको मुटुमा समस्या देखियो भनेको हो अर्थात् नराम्रो भन्ने हो ।
छोटकरीमा टीएमटी भनिने यो जाँच मुटुरोग विशेषज्ञको प्रत्यक्ष निगरानीमा गरिने जाँच हो । यो जाँचको लागि खाली पेट हुनु जरुरी छैन । यो जाँचमा कुनै किसिमको सुई दिने, घोच्ने काम गरिंदैन र बेहोश पनि पारिँदैन ।

१५ देखि २० मिनेटमा सकिने यो जाँच गर्न कुनै तयारीको जरुरी पर्दैन । तर, जाँच गर्नुअघि मुटुरोग विशेषज्ञसँग आफ्नो स्वास्थस्थिति बारे सल्लाह गर्नु जरुरी हुन्छ । किनकि, विशेषगरी पहिल्यै अन्य समस्याले मुटुको अवस्था कमजोर भएका, विभिन्न भल्भका समस्या भएका, रक्तचाप अनियन्त्रित भएको अवस्था आदि विभिन्न अवस्थामा यो जाँच गर्नै मिल्दैन । साथै यो जाँच गरिने ठाउँमा आपतकालीन स्थितिमा चाहिने डिफिवि्रलेटर तथा अन्य उपकरणहरु पनि तयारी हालतमा रहेको हुनुपर्दछ ।

यस जाँचमा समस्या देखिए विरामीलाई मुटुका रक्तनलीको जाँच कोरोनरी एन्जियोग्राम गर्ने सल्लाह दिइन्छ ।
कस्ता व्यक्तिलाई हृदयाघातको सम्भावना बढी हुन्छ ?

·       चुरोट तथा सूर्तीसेवन गर्ने
·       उच्च रक्तचाप भएकाहरु
·       डाइविटिज भएका
·       रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएका
·       शारीरिक व्यायाम कम गर्ने वा नगर्ने
·       मोटोपन बढी भएकामा
·       तनावपूर्ण दैनिकी भएकामा
·       प्रथम श्रेणीको नातामा हृदयाघात भएका व्यक्तिहरुलाई

(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रि्रय अस्पताल, धापासीका मुटुरोग विशेषज्ञ हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment