Comments Add Comment

धुर्मुस-सुन्तलीको सहयोग संकलन स्थगित हुँदै, अब २५ लाख मात्र अपुग

Giranchour

३० असार, काठमाडौं । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले थालेको सहयोग संकलन अन्तिम चरणमा पुगेको छ । हालसम्ममा चार करोड ७५ लाख रुपैयाँ जुटिसकेको र थप २५ लाख जुटेपछि सहयोग संकलन बन्द गर्ने धुर्मुस-सुन्तली फाउन्डेसनले जनाएको छ ।

गिरान्चौर एकीकृत बस्तीको अनुमानित बजेट पाँच करोड हो । अहिले सहयोग संकलन गरिरहेका संघ-संस्था र प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने बताइएको छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले समेत सहयोग गरेका छन् ।

फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमै पूर्वनिर्धारीत लक्ष्य हासिल हुन लागेको फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् । परियोजना सञ्चालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनको भनाई छ । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ-संस्थाले फाउन्डेसनमा सम्पर्क गर्न सक्ने पनि उनले जानकारी दिएकी छिन् ।

वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । अहिलेसम्म फाउन्डेसनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको फाउन्डेसनले जनाएको छ ।

दशैँअघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले झरीका बाबुजुद ६५ वटै घरको जग खन्ने र गारो उठाउने काम जारी राखिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

तस्वीरःधुर्मुस-सुन्तली फाउन्डेसन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment