Comments Add Comment

चितवनमा नौ महिनामा १५ हरिण मरे, सीसी टिभीबाट निगरानी सुरु

CC-TV-Camera-in-Tikauli-Forest-Chitwan

३१ असार, चितवन । चितवनको टिकौली जंगलमा वन्यजन्तुसँगै हरेक गतिविधि सीसी टिभी क्यामरा मार्फत निगरानी सुरु भएको छ । नौ महिनामा १५ वटा हरिण सवारी साधनको ठक्करबाट मरेपछि राजमार्ग क्षेत्रमा सीसी टिभी क्यामरा जडान गरी निगरानी सुरु गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र वरण्डाभार जोड्ने टिकौली जंगल अन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि सिसि क्यामरा जडान गरी निगरानी सुरु गरिएको हो ।

निकुञ्ज र महाभारत जोड्ने जौविक मार्गका रुपमा समेत परिचित वन्यजन्तु र अपराधिक गतिविधि नियन्त्रण गर्न सिसि क्यामरा जडान गरी निगरानी सुरु गरिएको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले १० वटा सिसि क्यामरा जडित मोनिटर ‘अन’ गरेर शुभारम्भ गरेका थिए ।

विश्व वन्यजन्तु कोषको १७ लाख रुपैयाँ सहयोगमा टिकौली जगलको ४ किलोमिटर क्षेत्रमा १० वटा नाईटभिजन सहितको क्यामरा जडान गरिएको छ । ४ मेगापिक्जेल क्यामराले ४० मिटर टाढाको दृश्य कैद गर्छ र ९० दिनसम्म भण्डारण गर्दछ । क्यामरालाई चौबिसै घण्टा चलाउन सोलार जडान गरिएको छ ।

सिसि क्यामराको टिकौलीमा रहेको सशस्त्र वन रक्षक तालिम केन्द्र, चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेनाको श्री जंग गण, नेपाल प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोली संयुक्तरुपमा निगरानी राख्नेछन् ।

यसअघि निकुञ्जका पाँच स्थानमा श्री जंग गणले सिसि क्यामरा जडान गरिसकेको छ ।

गैरकानुनी क्रियाकलाप रोक्न सहयोग पुग्ने विश्वास

निकुञ्जले लगातार रुपमा शून्य चोरी शिकार वर्ष मनाइरहेको अवस्थामा वरण्डाभार क्षेत्रमा सिसि क्यामरा निगरानीले वन्यजन्तु संरक्षणमा थप नयाँ आयाम थपेको पूर्व महानिर्देशक गोकुलराज पाण्डेले बताए । उनले स्थानीयको सहयोग र प्रविधिबाट संरक्षणमा ठूलो सहयोग पुगेको बताए ।

‘हिजो संरक्षणकर्मीहरुले मात्रै गर्नुपर्छ भन्ने थियो आज सबै स्थानीय र प्रविधिले समेत संरक्षणमा ठूलो सहयोग मिलेको छ,’ उनले भने ।

सीसी टिभीबाट निगरानी सुरु गरेसँगै अबदेखि वन्यजन्तु संरक्षणमा चुनौती, जथाभावी फोहरमैला फाक्ने र तीव्र गतिका कारण जंगली जनाबर घाइते हुने र मर्ने क्रम समेत घट्ने जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेले अब गैरकानुनी क्रियाकलाप नियन्त्रणमा समेत ठूलो सहयोग मिल्ने छ ।

नौ महिनामा १५ हरिण दुर्घटनाबाट मरे

यसैबीच चितवनका टिकौली र रामनगर क्षेत्रको सडकमा १५ वटा हरिणको दुर्घटनाबाट मृत्यु भएको छ । तिव्र गतिमा आवतजावत गर्ने गाडीहरुको ठक्करबाट १५ वटा हरिण मरेको जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले जानकारी दिए ।

दुई वटा बसले र तीन वटा ट्रकले ठक्कर दिएर मरे पनि अन्य हरिण कुन सवारी साधनले ठक्कर दिएर मरे भन्ने पत्ता लागेको छैन । सीसी क्यामरा नहुँदा हरिणलाई ठक्कर दिने गाडी पत्ता नलागेकाले कारबाही पनि गर्न नसकिएको रायले जानकारी दिए ।

यसैबीच टिकौली जंगलमा सिसि क्यामरा जडानसँगै वन्यजन्तु संरक्षणका लागि एक मिनेट अभियान समेत केहि दिन सुरु गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment