Comments Add Comment

मुटु छुने पुराना गायक तिलक बम

लोक र पपको फ्युजन

tilak bom malla 1

मुटु छुने लुम्लेको हावाले
मनै छुने लजालु मायाले
पुनहिलैमा
फूल जस्ती सोल्टिनी बस्यौ दिलैमा

लोक-पप भाकाको यो लोकप्रिय गीतका गायक तिलक बम मल्ल संगीत क्षेत्रमा दुई दशकअघि उदाएका हुन् । त्यस बेलादेखि अनवरत संगीत कर्ममा जुटिरहेका छन् ।

समयसँगै श्रोताको रुचि बदलिन्छ, स्वाद फेरिन्छ । यही मान्यतालाई आत्मसात गर्दै तिलक नयाँ पुस्ताले रुचाउने गीत पनि गाउन थालेका छन् । तर, मूल रुपमा उनको चिनारी लोक-पप संगीतसँगै जोडिएको छ । लोक संस्कृतिबाटै गीतका शब्द टिप्छन् । गाउँघर, मेलापात र भञ्ज्याङ चौतारीको कुरा गर्छन् ।

लोक फ्लेवरमा पश्चिमा बाजाको संयोजन गरी उनले गाएका गीतहरू कतिसम्म रुचाइए भने उनी अहिलेसम्म पुरानै गीतको ब्याज खाइरहेका छन् । उनको ‘मुटु छुने गाउने गायक’ भनेर चिनिन्छन् ।

बाग्लुङ गल्कोट उनको पुर्ख्यौली थलो । सहिद थिरबम मल्लको परिवारमा जन्मिएका हुन् उनी । कांग्रेसबाट सात सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा वीरगन्जमा सहिद भएका थिए थिरबम । तर, आफ्नो कलाकारी जीवनमा कुनै पार्टी विशेषको ट्याग लाग्ला भनेर उनी पुर्खाको चिनारीसँग जोडिन चाहँदैनन् । भन्छन्, ‘म त हिमाल, पहाड, तराई सबै भेगको जनजीवनको कुरा टिप्ने कलाकार हुँ । नेपालीहरूको गायक हुँ ।’
०००
तिलकले संगीतको यति लामो सफर एक्लै तय गरेका हैनन् । उनलाई गीतांगे दौंतरीहरूको निरन्तर साथ छ । बाग्लुङमा हुर्किएर रुपन्देहीमा लेखपढ गरेपछि उनको सांगीतिक कर्मथलो बन्यो पोखरा । त्यहीँ जन्मियो लोक-पप संगीतलाई आफ्नो चिनारी बनाउने परिवेश ब्यान्ड ।

परिवेश शब्दसँग उनको गाढा साइनो छ । एक हिसाबमा यो शब्द उनलाई निकै फाप्यो । ०५२ साल ताका रेडियो नेपालमा स्वर परीक्षा दिंदा उनले गीत गाएका थिए –

‘यो बादल बर्सने भेलमा
पर्खी बसेँ यो परिवेशमा’

स्वर परीक्षा पास गरे उनले । गीतले पनि केही चर्चा कमायो । त्यसको एक वर्षपछि ‘परिवेश’ नामकै एल्बम निकाले । त्यसमा भएका पश्चिमा शैलीका पप गीतहरूले श्रोतामा कुनै कमाल देखाउन सकेनन् । तर, नेपालीपन बोकेको लोक-पप बान्कीको एउटा गीत भने निकै चल्यो ।

‘चैते दशैं बाग्लुङे मैलेमा
ज्यादै माया बस्यो है ख्यालख्यालैमा ।’

गीतमा विभिन्न ठाउँको प्रसंग जोड्छन् तिलक । यसले पर्यटन प्रवर्द्धनमा पनि सघाएको उनको अनुभव छ । चैते दशैंमा बाग्लुङमा मेला लाग्छ भनेर थाहा नपाएका मान्छेहरूले उनकै गीत सुनेर थाहा पाए । त्यसले आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विगतमा प्रत्यक्ष देख्न पाए ।

‘०५४ सालमा बाग्लुङमा चैते दशैंको मेलामा स्टेज कार्यक्रम गर्दै थिएँ । नेपालगन्जबाट आएको एउटा समूहले तपाईँकै गीत सुनेर हामी यति टाढाको मेला हेर्न आएको बताए । उनीहरू एउटा बसमा खचाखच भरिएर आएका रैछन्,’ तिलकले सुनाए ।

आफ्नो कलाकारी जीवनमा कुनै पार्टी विशेषको ट्याग लाग्ला भनेर उनी पुर्खाको चिनारीसँग जोडिन चाहँदैनन् । भन्छन्, ‘म त हिमाल, पहाड, तराई सबै भेगको जनजीवनको कुरा टिप्ने कलाकार हुँ । नेपालीहरूको गायक हुँ ।

नेपालको संस्कृतिलाई झल्काउँदा, लेक-बेंसीको कुरा गर्दा प्रचारप्रसार भएर पर्यटकीय विकासमा टेवा पुगेको देख्दा उनी खुसी मान्छन् । लाग्छ, कुनै पनि कुरा संगीतमार्फत फैलाउँदा प्रभावकारी हुने रै’छ ।

tilak-2पहिलो एल्बममा ठेट नेपाली पाराको पप गीत रुचाएपछि त्यसपछिका एल्बममा उनले त्यही शैलीका गीत पस्किए । पश्चिमा शैलीका पप गीत घटाए । ०५५ सालमा ब्यान्ड बनेपछि उनले ‘परिवेश २-पहाडी ठिटो’ एल्बम निकाले । त्यसपछि त परिवेशको यात्राले रोकिने नाम नै लिएन ।

दोस्रो एल्बममा रहेको ‘मुटु छुने लुम्लेको हावाले’ बोलको गीतले नाम, दाम सबै दियो । उनका अनुसार रञ्जना क्यासेट सेन्टरको इतिहासमै सर्वाधिक बिक्रीको रेकर्ड राखेको छ परिवेश भाग २ एल्बमले । त्यतिबेला दुई लाख ६० हजार कपीभन्दा बढी बिक्री भएको थियो अडियो क्यासेट ।

पहिलो र दोस्रो एल्बम आफ्नै खर्चमा निकालेका उनले त्यसपछिका सबै एल्बम विभिन्न म्युजिक कम्पनीले अग्रीम रुपमा किनिदिए । हरेक एल्बम ६ देखि ७ लाख रुपैयाँमा बिक्री गरे । ब्यान्डको नाम त परिवेश हो नै, हरेक एल्बमको नाममा समेत त्यही नाम फापिरहेको छ । अहिलेसम्म सात वटा एल्बम निकालिसकेका उनले पछिल्लो समय ०६७ मा निकालेको एल्बमको नाम परिवेश भाग ७ राखेका थिए । अब भाग ८ निकाल्ने तयारीमा छन् ।

संगीतसँगै जोडिएर जीविकाको मेलो बनाउने क्रममा १३ वर्षअघि उनले काठमाडौंमा रेकर्डिङ स्टुडियो खोले । त्यसको नाम पनि परिवेश रेकर्डिङ स्टुडियो राखेका छन् ।
०००
उनलाई कुनै पनि देशको संस्कृति मन पर्छ । नयाँ ठाउँमा जाँदा त्यो देशको लोक संस्कृति बुझ्न खोज्छन्, लोक संगीत सुन्छन् । नयाँ संगीत सिर्जना गरिहँदा लोक संस्कृति कसरी जगेर्ना गर्ने भनेर सोच्ने गर्छन् ।

‘विदेशका कार्यक्रममा जाँदा नेपाली श्रोताहरूले नेपाली सुगन्ध आउने मौलिक गीत नै बढी खोज्ने रै’छन् । त्यही देखेपछि हाम्रो सम्पत्ति र चिनारी भनेको त लोक संगीत नै रै’छ भनेर म त्यसमै लागिरहेको छु,’ उनले भने ।

लोक-पप संगीत श्रोताले किन रुचाउँछन् त ? उनले सुरुमा नयाँ धार बनाउने भनेर योजना नै बनाएर लोक-पप गीत गाउन थालेको हैन रै’छ । नेपाली घर-आँगनकै कुरा गीतमा बुनेर त्यसमा आधुनिक बाजाको संयोजन गरेपछि लोक-पप गीत भनिएको उनी बताउँछन् । उनलाई लाग्छ-‘नेपालीपन र संस्कृतिको गीतमा नयाँ खालको बाजा हालिदिएपछि नयाँ पुस्ताले पनि त्यसमा नयाँपन भेट्यो ।’

रेडियो नेपालमा विशिष्ट श्रेणीको गायकको दर्जा पाएका तिलक बमले अहिलेसम्म दुई सय ५० भन्दा बढी गीत गाइसकेका छन् । तर, ‘मुटु छुने लुम्लेको हावाले’ पछिका कुनै पनि गीत त्यो हदसम्म जनजिब्रोमा बस्न सकेनन् । त्यसलाई उनी असफलता मान्दैनन् ।

‘कुनै पनि गायकलाई विशेष रूपमा चिनाउने एउटा आईडी गीत हुन्छ, मेरा अरु गीतहरू पनि श्रोताले रुचाए तर, मुटु छुने गीत मेरो ब्राण्ड बन्यो,’ उनी स्पष्टीकरण दिन्छन् ।

अहिलेका श्रोताले चमकदमक भएका छुट्टै शैलीका गीत रुचाउँछन् भनेर जान्दाजान्दै पनि उनी लोक संस्कृतिलाई छाड्न तयार छैनन् । उनको समयको संगीत चाखेका धेरै श्रोता विभिन्न देशमा छरिएका छन् । उनी बेलाबेला ती देशहरूमा पुग्छन् र आफ्नो शैलीका तिनै गीतहरू सुनाएर पुराना श्रोताहरूलाई पुराना दिनमा फर्काउँछन् ।

हुन पनि पछिल्लो समय उनी ‘विदेशको कार्यक्रममा रमेको गायक’ भनेर चिनिन्छन् । सांगीतिक कार्यक्रमका लागि वर्षमा ३-४ वटा देश पुगिरहेका हुन्छन् । अहिलेसम्म दुई दर्जनभन्दा बढी देश पुगिसके । नेपालका ५० वटाभन्दा बढी जिल्लामा कार्यक्रम गरिसकेको उनी बताउँछन् ।

कलाकार भएपछि मनोरञ्जनबाट श्रोताको मन हल्का पार्ने काम छँदै छ, उनी सामाजिक दायित्वमा अग्रसर हुनु पनि आवश्यक मान्छन् । गत वर्षको विनाशकारी भूकम्पपछि उनी भूकम्पपीडितका लागि सहयोग संकलन गर्न देश-विदेशमा सांगीतिक कार्यक्रममा सहभागी भए । ‘त्यति बेला सहयोग संकलन मात्र भएन, भूकम्प प्रभावित जिल्लाहरूमा सांगीतिक कार्यक्रम लिएर जाँदा पीडितको त्रस्त मनलाई संगीत थेरापी पनि भयो । केही ठाउँमा शैक्षिक सामग्री बाँडियो । कार्यक्रमबाट संकलित ४३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाउने काम भयो,’ उनले सुनाए ।

०००

घडीका सुईहरू एउटै गोलो घेराभित्र चलिरहे पनि पल-पल बदलिने समयले धेरै कुरा छरपस्ट पार्छ । समयको बाछिटाले संगीत क्षेत्र पनि नभिजी रहन सक्दैन । हिजोको संगीत र आजको संगीतमा धेरै फरक छ । हिजो रुचाइने संगीत र आज चल्ने संगीतको सुर र ताल मिल्दैन ।

समयको विभाजनमा परेर श्रोताहरू पनि पुस्ता-पुस्तामा बाँडिइसके । हिजोका दिनमा नयाँ र आधुनिक भनेर मानिएको गीत आजको पुस्तालाई बाउ-बाजेको सम्पत्ति लाग्छ । लोक संस्कृतिको कुरा गर्ने यी गायकले पनि बुझेका छन् समयको हिसाबकिताब । संस्कृति र शिष्टताको पक्षमा रहे पनि उनी आजको पुस्ताले रुचाउने संगीतको शैलीसँग परिचित छन् ।

Tilak 3

यसैले देउराली, भञ्ज्याङ र सुस्केराको कुरा गर्दै आएका उनले पछिल्लो समय यो समयकै कथाले मागेअनुसार गाए-

मा कसम तिमी बडा च्वाँक छौ
मेरो सामु आउँदा किन भाग्छौ ?’

उनले परिवेश ब्यान्डबाट सांगीतिक यात्रा थालेको समयमा ब्यान्ड बनाउने लहर नै थियो । नेपथ्य, कन्दरा, ब्रो-सिस, मध्याह्न, देउराली, लेकाली लगायतका थुप्रै ब्यान्ड त्यही समयका हुन् । नेपथ्य उही जोसमा छाइरहेको छ । केही नाममा सीमित छन् । केही हराइसके ।

ब्यान्ड किन टिक्न सक्दैन ? अधिकांशले करिअरको दौडधुपमा ब्यान्डका सदस्य लाखापाखा लाग्दा ब्यान्ड टुक्रने कारण दिन्छन् । एक हदसम्म यही नै सत्य पनि हो । तर, तिलक बम आफ्नै अनुभवले बोल्छन् – ‘ब्यान्डको लिड गायकमा गीत लेख्ने र संगीत गर्ने खुबी छ भने ब्यान्ड नमर्ने रै’छ । ब्यान्डका अरु सदस्य थपघट र फेरबदल हुन सक्छन्, तर लिड गायकमा रचना गर्ने र कम्पोज गर्ने क्षमता भए जुनसुकै हालतमा ब्यान्ड जीवित रहन्छ ।’

०००

संगीतमार्फत लोक संस्कृतिको जगेर्ना गर्दै आएका तिलक बमले पछिल्लो समय राष्ट्रिय भावनाका गीत-संगीतमा पनि काम गरेका छन् । दुई वर्षअघि ‘संगीत राष्ट्रको लागि’ एल्बममा संगीत कम्पोज गरेका थिए । त्यसमा नारीका वेदना, गाडी चालकको समस्या, सडक दुर्घटना लगायत सामाजिक विषय उठाइएको छ ।

संगीत सुन्ने कुरा भए पनि पछिल्लो समय भने हेर्ने कुरामा परिणत भइसकेको छ । तर, उनका थोरै गीतका मात्र म्युजिक भिडियो बनेका छन् । उनी भन्छन्, ‘मेरा एल्बमहरू विभिन्न कम्पनीले निकालिदिए, तर गीतको भिडियो नबनाइदिएकाले मलाई समस्या भयो । एकपछि अर्को एल्बमले व्यापारिक सफलता पाए पनि भिडियो नबन्दा गायकका रूपमा घाटा भयो । यसैले अबको आठौं एल्बम आफ्नै खर्चमा निकालेर भिडियो बनाउने योजना छ ।’

दुई दशकदेखि संगीतमा लागिरहँदा तिलकले श्रोताले लोक संगीतलाई दिएको मायालाई उपलब्धि मानेका छन् । पछिल्लो समय म्युजिक खबरको अवार्डमा ‘दशक गायक’ को उपाधिबाट सम्मानित भए उनी । यसलाई ठूलो उपलब्धि मानेका छन् ।

यी दशककै गायकले ‘मुटु छुने लुम्लेको हावाले’ जत्तिकै उँचाइको गीत ल्याएर फेरि श्रोताको मुटु छुने समय आउला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment