Comments Add Comment

जेट एयरवेजबाट भित्रिए सबैभन्दा बढी पर्यटक, नेवानि तेस्रो स्थानमा

Jet_Airways
५ साउन, काठमाडौं । भारतीय विमान कम्पनी जेट एयरवेज नेपालमा लगतार दुई वर्ष सबैभन्दा बढी पर्यटक भित्राउने कम्पनी बनेको छ । दक्षिणी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी पर्यटक नेपाल घुम्न आउँछन् ।

भारतकै इन्डियन एयरलाइन्सलाई पछाडि पारेर जेट एयरवेज २०१४ र २०१५ मा बढी पर्यटक बोक्ने विमान कम्पनी बनेको हो । २०१३ मा सबैभन्दा बढी पर्यटक भित्राउनेको सूचिमा इन्डियन एयरलाइन्स पहिलो थियो । तर, २०१५ मा आइपुग्दा इन्डियन एयरलाइन्स पाँचौं नम्बरमा झरेको छ ।

गत वर्ष एयर अरेविया दोस्रो नम्बरमा उक्लिएको छ । २०१४ मा एयर अरेविया तेस्रो नम्बरमा रहेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) तेस्रो नम्बरमा आएको छ । अघिल्लो वर्ष नेपाल एयरलाइन्स प्रमुख पाँचभित्र थिएन । २०१४ मा दोस्रो नम्बरमा रहेको कतार एयरवेज २०१५ मा प्रमुख पाँच विमान कम्पनीभित्र पर्न सकेन ।

बढी पर्यटक भित्राउनेमा फ्लाई दुबई चौथो र इन्डियन एयरलाइन्स पाँचौं नम्बरमा रहेको पर्यटन मन्त्रालयको तथ्यांकले देखाउँछ ।

निगमले युरोपबाट दुईवटा एयरबस ३२० विमान थपेपछि बढी पर्यटक बोक्न थालेको हो । निगमले २०१५ मा चारवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गरी यात्रु बोक्यो । त्यसअघि निगमले दुईवटा बोइङ ७५७ विमानबाट उडान भर्दै आएको थियो ।

अहिले नेपालमा स्वदेशी विदेशी दुई दर्जन बढी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । जसमध्ये निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । हिमालयले हालैमात्र अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । अहिले हिमालयले कतारको दोहामा दैनिक उडान भर्दै आएको छ ।

NAC Airbus 320

निगमसँग भएका चार विमानमध्ये एउटा बोइङ ७४७ विमानको इञ्जिन मर्मत गर्न नसक्ने गरी विग्रिएपछि बिक्री गर्न थालेको छ । यही आर्थिक वर्षभित्र निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी विमान ल्याउने प्रकृया अगाडि बढाएको छ । वाइडबडी विमान भित्राउने वित्तिकै दुईवटा न्यारोबडी विमान ल्याउने निगमको कार्ययोजना छ ।

विनासकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण २०१५ मा पर्यटकको संख्या ३२ प्रतिशतले घट्यो । त्यो समयमा अधिकांश कम्पनीले उडान कटौती गरेका थिए भने केही कम्पनीले उडान नै रोकेका थिए ।

पर्यटन मन्त्रालयका अनुसार २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल भ्रमणमा आए । जबकी अघिल्लो वर्ष ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल आएक थिए ।

पर्यटकको संख्या घटेपनि आम्दानी भने घटेको छैन् । २०१५ मा पर्यटकबाट ४९ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ आम्दानी भएको छ । २०१४ मा पर्यटकबाट ४७ अर्ब १७ करोड ६९ लाख आम्दानी भएको थियो ।

समिक्षा वर्षमा पर्यटकको औषत खर्च पनि बढेको छ । पर्यटन मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष प्रतिपर्यटक प्रतिदिन औषत आम्दानी ६८.५७ अमेरिकी डलर पुगेको छ । यस्तो आम्दानी २०१४ मा प्रतिपर्यटक ४८ डलरमात्र रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment