Comments Add Comment

संसद बैठक २ बजेसम्म स्थगित, शीर्ष नेताको बैठक जारी

Parliament-Building of Nepal

६ साउन, काठमाडौं । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि व्यवस्थापिका संसदको बैठक ३ घण्टाका लागि स्थगित भएको छ ।

विहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो । यसवीचमा शीर्ष नेताहरुले सभामुखसँग छलफल जारी राखेका छन् ।

सभामुख ओनसरी घर्तीले विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई छलफलका लागि आफ्नो कार्यकक्षमा बोलाएकी थिइन् । सभामुखले संसदमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनु अगावै प्रक्रियामा सहमति गर्न तीन दलका नेतालाई दबाव दिएकी थिइन् ।

‘शीर्ष नेताहरुले सभामुखज्यूसँग आ-आफ्नो पार्टीभित्र छलफल गर्ने समय माग्नुभयो,’ सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्माले अनलाइनखबरसँग भने, ‘दलका नेताहरुले आन्तरिक छलफल गरिसकेपछि फेरि दिउँसो १ बजे सभामुख र  तीन दलका नेतावीच छलफल हुन्छ र दुई बजे संसद बैठक सुरु हुन्छ ।’

तर दुई बजे पछि पनि संसद बैठक सुरु हुन सकेको छैन ।

विहीबार बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र एमालेका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

दुबै पक्षको अडानका नफेरिएसम्म संसद बैठक सुरु गरिएको अवस्थामा तनावको स्थिति उत्पन्न हुन सक्ने देखेर सभामुख ओनसरीले तीन दललाई मिलाउने प्रयासको थालनी गरेकी हुन् । यसका लागि उनले बुधबारदेखि नै नेताहरुका निवासमै गएर सहमतिमा आउन दबाव दिँदै आएकी छिन् ।

दलहरुका वीचमा सहमति भयो भने आफू आर्थिक विधयेकमाथि छलफल गरेर मात्रै अविश्वासको प्रस्तावमा छलफल गर्न तयार रहेको सभामुखले नेताहरुलाई बताएकी छिन् । तर, नेताहरुवीच सहमति भएन भने अविश्वासको प्रस्तावमाथि आफूले छलफल अघि बढाउने उनले नेताहरुलाई चेतावनी दिएकी छिन् ।

केही नेताहरुले चाँहि आर्थिक विधेयक र अविश्वासको प्रस्तावलाई एकैसाथ कार्यसूचीमा राख्ने विकल्प पनि सुझाइरहेको स्रोतले अनलाइखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment