Comments Add Comment

शशांकको उपचारः ‘एउटै छातामुनि बसेर गरियो’

'दिल्ली लगिएन, भारतीय डाक्टरले प्रशंसा गरे- डा. जोशी

Shasank Koirala, NC Leader
अस्पतालको शैयामा कांग्रेस महामन्त्री डा. शशांक कोइराला

६ साउन, काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला बुधबार बिहानै अस्पतालबाट डिस्चार्ज हुँदा हिँडेरै गाडीसम्म पुगे । अस्पताल भर्ना भएकै रातदेखि अचेत बनेका कोइरालालाई यो अवस्थासम्म ल्याइपुर्‍याउन नेपाली चिकित्सकको टोलीले ठूलै मिहेनत गर्नुपर्‍यो ।

यतिखेर नेपालको चिकित्सा क्षेत्र विभाजित छ, अनसनरत डा. गोविन्द केसीको समर्थन र विरोधमा । तर, शशांकको उपचारका क्रममा नेपालका डाक्टरहरुले एउटै छातामुनि बसेर एकता प्रदर्शन गरे । हाम्रा डाक्टरहरुले यो सन्देश दिए कि भारतमा गरिने उपचार नेपालमै सम्भव छ । खाँचो एउटैमात्र छ, चिकित्सकवीच एकता र सामुहिक प्रयासको ।

दुई साताअघि निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कांग्रेस महामन्त्री कोइराला चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका थिए । उनलाई केही समय भेन्टिलेटरमा राखिएको थियो । अचेत अवस्थामा पुगेर फर्केका कोइरालालाई थप उपचारका लागि दिल्ली लैजाने भनिए पनि अन्ततः नेपालकै डाक्टरले उनको सफल उपचार गरे । भारतबाट आएको डाक्टरको टोलीले नेपाली चिकित्सकहरुको तारिफ गर्‍यो ।

कांग्रेस महामन्त्री कोइरालाको उपचार कसरी सम्भव भयो ? यसबारे अनलाइनखबरले ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीसित गरेको कुराकानी डा. जोशीकै शब्दमाः

Dr Harish Joshi Final
डा. हरिश जोशी

अस्पतालमा एउटा बिरामी आइसकेपछि उसको स्थिति केही घण्टापछि के हुुन्छ भनेर बताउन सक्ने अवस्था हुँदैन । सामान्य बिरामी पनि नराम्रो अवस्थाबाट गुज्रिन सक्छ । डा. शशांकको अवस्था पनि यस्तै थियो ।

उहाँलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो । त्यसपछि आवश्यक औषधि प्रदान गरी आइसीयुको स्पेसल क्याविनमा राखेर थप उपचार गरियो । तर, राति अकस्मात भएको वान्ताले उहाँको श्वास-प्रश्वासमा समस्या आयो ।

उहाँलाई २०-२५ मिनेटको सीपीआर (जीवन बचाउने उपकरण) मार्फत मुटुको धड्कनलाई फिर्ता ल्याउने काम गरियो र अवस्था मध्यमखालको भएपछि भेन्टिलेटरमा सारियो ।

‘बेष्ट थिङ्ग इन अ बेस्ट टाइम’

भेन्टिलेटरमा राखेपछि सबै डाक्टरले बिरामीका हरेक कुरामा विस्तारै सुधार गर्दै लगे । अझ ‘मल्टी डिसअर्डर’को केसमा हरेक विधाका डाक्टरले आ-आफ्नो विषयको जाँच राम्ररी गर्ने हो भने डाक्टरबाट सही धारणा आउन थाल्छ । र, बिरामी पनि चाँडै निको हुन्छन् ।

त्योबेला सबैकुरा जुट्यो । ‘बेष्ट थिङ्ग इन अ बेस्ट टाइम’ भयो भनौं । त्यसपछि आइसीयुमै रहिरहँदा नै उहाँले विस्तारै सबै कुरा महसुस गर्न थाल्नुभयो । होसमा आउनुभयो । यसले गम्भीर समस्या केही निम्त्याएन । अहिले उहाँको स्वास्थ्य सामान्य अवस्थामा छ ।

१५ जनाको टिम संलग्न

डा. शंशाक कोइरालाको उपचार राष्ट्रिय चासोको विषय बनेको थियो । उहाँको उपचारमा धेरैको ध्यान थियो । त्यसैले हामीले कुनै पनि अस्पतालमा सीमित स्रोत साधन तथा जनशक्तिलाई यसपालि खुला गरिदियौं ।

यसमा डा. उपेन्द्र देवकोटादेखि डा.भगवान कोइराला, ग्राण्डी अस्पतालका डा. सुवास, पाटन अस्पतालका डाक्टर, वीर अस्पताल, मनमोहन कार्डियाक सेन्टरलगायत सबै अस्पतालका डाक्टरको संलग्नता थियो ।

यसमा हामीले निजी अथवा सरकारी, प्रतिद्वन्द्वी केही पनि हेरेनौं । बरु हामीले डा. शशांकको उपचारका लागि १५ जनाको टीम बनाएका थियौं, जसमा ऊ कहाँ काम गर्छ भन्दा पनि कुन विषयसित सम्बन्धित छ भनेर हेरेका थियौं । ती डाक्टरहरु आफ्नो सजिलोका लागि सो अस्पतालमा आवद्ध थिए होलान् । तर, उनीहरुको पेशागत धर्म भनेकै बिरामीलाई बचाउनु हो, जुन उनीहरुले निभाए पनि ।

त्यसमध्ये डा. उपेन्द्र देवकोटा सुरुदेखि नै आउनुुभयो र जाँच गर्नुभयो । सिटी स्क्यानहरु पनि आफैं बसेर हेर्नुभयो । कुनै सामान थिएन, पुगेन भन्नुपरेन । आफूलाई इच्छा लागेको सामान उपलब्ध नभएको खण्डमा आफ्नै अस्पतालबाट ती सामान ल्याउन उहाँको टीम नै अस्पताल आयो ।

त्यस्तै, डा. अर्जुन कार्की, डा. भगवान कोइरालाले पनि आफैं बसेर उपचार गर्नुभयो । टिचिङ्ग अस्पतालका डाक्टर करवीरनाथ योगी पनि आउनुभयो । उहाँ गिरिजाप्रसाद तथा सुशील कोइरालाका फिजिसियन पनि हुनुहुन्छ ।

ग्राण्डी अस्पतालका आइसीयु इञ्चार्ज डा. सुवास आचार्य पनि आउनुभयो । सबै डाक्टरलाई एउटै छानामुनि पाउनु गर्वको कुरा हो । त्यसबेला हामीले कुन डाक्टर कहाँको हो भनेर केही हेरेनौं । सबैजना उहाँलाई बचाउन तत्पर पनि थिए । त्यसका लागि हामीले डाक्टरहरुलाई आफैं फोन गरेका थियौं  । उहाँहरु पनि तुरुन्तै आउनुभयो ।

सामान्यतयाः कुनै पनि रोगको विशेषज्ञता हासिल गरेका डाक्टर उक्त अस्पतालमा हुन्छन् नै । तर, त्यहाँ फरक यतिमात्र हो कि शशांकको उपचारमा दुईखाले डाक्टर प्रयोग भए । जसमा दुईजना न्युरोलोजिस्ट ओम अस्पतालकै थिए भने अरु विषयका पनि त्यस्तै थिए ।

हामीसित डाक्टर नभएर बाहिरबाट ल्याएको भन्ने हैन । यो अलिकति राष्ट्रिय चासोको विषय भएकाले पनि र, दोस्रो, रायका लागि अरु डाक्टरहरुलाई पनि यसमा सामेल गरेका थियौं । त्यो भन्दैमा यहाँका डाक्टर कम योग्य थिए भन्ने हैन । आखिर कोइरालाको उपचारमा रात दिन खटिने डाक्टर त यहीँकै थिए । अन्य डाक्टर त आउजाउ गर्थे ।

भारत नलैजानुको कारण

जतिखेर शशांकलाई राजनैतिक नेता तथा शुभचिन्तकबाट बाहिर लैजाने दबाव सिर्जना भइरहेको थियो, त्यसबेला उहाँलाई अस्पतालबाट एयरपोर्ट लैजाने अवस्था पनि थिएन ।

हामीले एयरलिफ्ट भन्छौं । एयरलिफ्ट अर्थात हवाइजहाजमा बिरामीलाई लैजाँदा बिरामीको अवस्था कस्तो रहन्छ भनेर हेर्नुपर्ने हुन्छ । माथि उचाइ हुन्छ । हावाको चाप हुन्छ । विरामीलाई तुरुन्तातुरुन्तै रगत जाँचहरु गराइरहनुपर्छ । आकाशमा रहेको विमानमा त्यो सुविधा हुन्छ कि हुँदैन ? त्यसमा भेन्टिलेटेड विरामी लैजान मिल्छ कि मिल्दैन ? सबैकुराको जानकारी राख्नुपर्ने हुन्छ ।

शशांकलाई त्यो अवस्थामा भारतको अपोलो अस्पतालसम्म पुर्‍याउन डेढ घण्टा लाग्थ्यो । हामीले त्यो बेलासम्म बिरामीलाई जहाजमा अवस्था के हुन्छ भनेर पनि हेरेका थियौं । कुनै पनि बिरामीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा उसको अवस्था स्थिर हुन आवश्यक छ । डा. शंशाकको हकमा सुरुको केही दिन त्यो सम्भवै थिएन । तर, बाहिर सञ्चार माध्यममा भने यसबारे विभिन्न समाचार आइरहेका थिए ।

भेन्टिलेटरयुक्त भ्यानको प्रशंग

भेन्टिलेटरको कुरा गर्दा बिरामी आइसीयुमा रहँदा पहिले त उसलाई भेन्टिलेटरयुक्त गाडीको आवश्यकता नै किन पर्‍यो ? फेरि हामीसित भेन्टिलेटेड भ्यान उपलब्ध नभएर दिल्ली नलगेको पनि हैन । आवश्यकता खड्किएकै भए अरु अस्पतालले पनि एम्बुलेन्स पठाइदिन सक्थे । अन्य विरामीका लागि पनि अस्पतालहरुले यो सुविधा दिएकै हुन्छन् ।

फेरि काार्डियोलोजीको सुविधा भएका अस्पतालहरुले भेन्टिलेटर दिने लिने गरिरहेकै हुन्छन् । त्यसमध्ये कति एम्बुलेन्स प्रयोगमा आउँछन् भन्ने त्यो आफ्नै विषयका कुरा हुन् ।

डा. सुपात्राको भूमिका: तीन व्यक्तित्वको समिश्रण

डा. सुपात्रा एउटा साहसी महिलाको रुपमा उभिनुभयो । उहाँले साहसी महिला, राम्रो डाक्टर तथा योग्य श्रीमती तीनवटै भूमिकालाई एकसाथ निभाउनुभयो ।

अझ भन्नुुपर्दा आपतका समयमा उहाँ तीनवटाकै समिश्रण भएर उभिनुभयो र सधैं साथमा रहेर काम गर्नुभयो ।

उहाँ यसै पनि आफ्नो क्षेत्रको राम्रो डाक्टर । उहाँलाई बिरामीको अवस्थाबारे सबै ज्ञान थियो । त्यसैले पनि शायद, उहाँलाई शशांकको अवस्थाबारे बुझाउन त्यति धेरै जरुरत परेन । यदि उहाँलाई अन्य व्यक्तिसरह परामर्श दिनुपरेको भए अवश्य नै गार्‍हो हुन्थ्यो होला ।

सुपात्रा आफै डाक्टर भएको नाताले पनि त्यो विषम परिस्थितिलाई बुझ्नुभयो, जसले गर्दा उपचार सजिलो भयो ।

कुनै पनि चिकित्सकले बिरामीको उपचार गर्दा बिरामी तथा उसको परिवारलाई ध्यानमा राख्नुपर्छ । त्यसमा उनीहरुको इच्छा पनि बुझ्नुपर्छ । त्यसैगरी बिरामीको परिवारले पनि बिरामीको अवस्थाबारे ध्यान दिनुपर्छ ।

जतिबेला एउटा बिरामी अस्पतालमा भर्ना हुन्छ, त्यसबेला ऊ राजनीतिज्ञ, पार्टीको मान्छे वा अन्य कोहीभन्दा पनि अन्य बिरामीसरह ऊ नितान्त बिरामीको रुपमा मात्रै रहन्छ । त्यस्तो बेला बिरामीका परिवारले हामी बिरामीलाई बाहिर लग्दैनौं भनिरहेका बेला अन्य ठाउँमा लाने कुरा पनि आउँदैन । यसमा दुबै कुरा लागु हुन्छ ।

शशांकको परिरवारमा पनि सबै डाक्टर । श्रीमती आफैं डाक्टर । दाजु शेखर कोइराला पनि डाक्टर नै हुन् । उनीहरु अस्पतालमै थिए ।

त्यस्तो परिस्थितिमा हामीले परिवारको इच्छालाई नै पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ । उहाँहरु अस्पतालको उपचारलाई लिएर एकदमै विश्वस्त पनि हुनुहुन्थ्यो । फेरि उहाँको त्यो अवस्था स्थिर पनि थिएन । यसैको परिणाम होला, उहाँको उपचार राम्ररी हुन सक्यो ।

shashanka _hospital discharge
अस्पतालबाट घर फर्किंदै कांग्रेस महामन्त्री डा. शशांक कोइराला

भारतबाट आएका डाक्टरको प्रतिक्रिया

भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आएका चारजना उच्चस्तरीय चिकित्सकको टोलीले यहाँको उपचारबारे जानकारी लिएको थियो । उनीहरुबाट समेत हामीले जुन हिसाबले उपचार गरेका थियौं, त्यो नै ठीक छ । भारतमा भए पनि, गर्ने यही हो, यसमा कुनैखालको त्रुटी छैन’ भनियो । शायद यसैको परिणाम आज बिरामी यति चाँडै तङ्रिन सफल हुनुभयो ।

कोइरालाको उपचारमा धेरैले लापरवाही भयो कि भन्ने आशंकासमेत व्यक्त गरे । यदि त्यसो भएको भए भारतबाट आएका डाक्टरहरुले नै कैफियत भएको जानकारी दिन्थे होलान् । त्यस्तै, उपचारमा संलग्न अन्य डाक्टरहरुले पनि यो कमी भयो भन्थे होला, जुन आजसम्म कहीँकतैबाट सुनिएको छैन ।

अझ यो कुरा ओममा मात्र नभएर अरु अस्पतालमा पनि भएको भए पनि शायद परिणाम यही नै हुन्थ्यो होला । अहिले काठमाडौमा पनि थुुप्रै सुविधासम्पन्न अस्पतालहरु खुलेका छन् ।

डा. शशांकमा देखिएको त्यो अवस्था कुनै पनि बिरामीका लागि अति नै डरलाग्दो अवस्था हो । त्यो अवस्थामा चिकित्साशास्त्रमामा जति जे औषधि दिनुपर्ने हो, जेजति गर्नु पर्ने हो, सम्भवतः त्यो सबै उपचार गरियो । त्यसमा कुनै कैफियत थिएन । त्यहीअनुरुप उहाँले जुन तरिकाले प्रतिकृया जनाउनुभयो, त्यो नै शायद सही उपचार विधि थियो ।

त्यसैको उपज ३६ घण्टापछि उहाँलाई भेन्टिलेटरबाट बाहिर निकालियो । त्यसमा चिकित्साशास्त्र तथा शुभचिन्तकको प्रेमले पनि काम गर्‍यो होला ।

कोइरालालाई अलि लामो समय अस्पतालमा राख्नुपरेको कारणचाँहि उहाँलाई मुखबाट भन्दा पनि नशाबाट दिनुपर्ने औषधि धेरै थिए । त्यसैलाई निरन्तरता दिन उहाँलाई केही दिन बढी अस्पतालमा राखेका थियौं । अन्यथा उहाँ सामान्य हुनुहुन्थ्यो । मंगलबार बेलुकीसम्म उहाँको नशाबाट दिइने औषधिको मात्रा सकियो र बुधबार डिस्चार्ज गरियो ।

डाक्टर र प्रविधिमा विश्वास

एकपटक बिरामी अस्पतालमा गइसकेपछि त्यहाँका चिकित्सकहरुले जहिले पनि शतप्रतिशत सेवा दिने कोशिश गर्छन् । सबैले आफुले गर्न सक्ने विधि र सीपको परिधिभित्र रहेर राम्रो नै गर्न खोजिरहेका हुन्छन् । त्यसमध्ये कतिमा सुविधा होला, कतिमा कम होला । त्यो अलग हो । तर, कुनै पनि अस्पतालमा बिरामी जानु भनेको उक्त अस्पताललाई विश्वास गरेर जानु नै हो । कुनै पनि अस्पतालमा बिरामीलाई त्यत्तिकै लगिँदा पनि लगिँदैन । अहिले त झन सबैजना सजग भइसके ।

यो अवस्थामा आफूलाई चित्त बुझेन भने अन्त जाने भन्ने कुरा बिरामीको छनोटको विषय हो । त्यस अवस्थामा डाक्टरले पनि बिरामीको समस्याबारे उसलाई स्पष्ट रुपमा भनिदिनै पर्छ । त्यसपछि मात्रै उसले कहाँ उपचार गर्छ भन्ने कुरा आउँछ । यति भन्दाभन्दै पनि यहाँ भएका डाक्टर गुणस्तरीय छैनन् भन्ने चाँहि होइन । सबै विधामा गुणस्तरीय डाक्टर नहोलान् । तर, जहाँ जहाँ छन्, तिनीहरु आफ्नो विषयमा योग्य तथा निपूर्ण छन् ।

नैतिकता सिकायो, ठूलो पाठ पढायो

हामीले नेपालमा भएका प्रविधिले चमत्कारै गर्छौं भन्ने हैन । तर नेपालमा जुनस्तरको सेवा सुविधा दिइरहेका छौं, त्यो राम्रो छ । हामीले प्रविधिले भ्याएसम्म राम्रो उपचार दिइरहेका छौं । त्यसैको उपज हो, अहिले स्वास्थ्य क्षेत्रले यतिसम्म प्रगति गरेको । यदि हामीले नै हाम्रो प्रविधिको विश्वास गरेनौं भने यसकोे विकास कसरी हुन्छ ?

कुनै पनि अस्पतालमा सम्पूर्ण विषयका ज्ञान भएका र नाम चलेका डाक्टर एउटै छानामुनि पाइँदैन । यसको उदाहरण यसपालि हामीले कायम गरेका छौं । जुनसुकै अस्पतालमा काम गरेको भए पनि सबैले एउटै छानामुनि निरन्तर काम गरेको हुँदैन ।

तर, हामीलाई गर्व छ कि विभिन्न अस्पतालमा काम गर्ने उहाँहरु जस्तो व्यस्त डाक्टरले पहिलो दिनदेखि नै यहाँ आएर सबै उपचारको काम गरिदिनुभयो, जुन आफैंमा एउटा उदाहरण हो । यसले गर्दा भोलि अरुलाई पर्दा पनि आफ्नो अस्पताल मात्रै भनेर अहम राखेर बस्नुहुँदैन, सबैले जुुट्नुपर्छ । शशांकको उपचारले एउटा कोशेढुङ्गा सावित गर्‍यो यो मामलामा ।

कुनै पनि बिरामीको उपचारका निम्ति सबैजना डाक्टरहरु यसरी नै जुट्ने हो र आ-आफ्ना विषयका डाक्टरहरु मिलेर एउटा टीम खडा गर्ने हो भने अझ धेरै सफलताका मिल्न सक्छ । सबै विरामीमा यो लागु नहोला, तर यस्ता धेरै बिरामीलाई बचाउन सकिन्छ भन्ने मेरो अभिप्राय हो ।
हामीले महाभूकम्पका बेला योखालको उपचार गरेका थियौं । त्यसबेला विभिन्न अस्पतालबाट अर्थाेपेडिक सर्जनलगायतका डाक्टरहरु मगाएका थियांै । भारतको अपोलो अस्पतालबाट पनि डाक्टर बोलाएका थियौं ।

त्यसपश्चात यो स्केलमा गरेको यस प्रकारको उपचार यो नै पहिलो हो । यसले हामीलाई इन्टेन्सिभ केयर तथा चिकित्सकको नैतिकताबारे पनि धेरै कुरा सिकायो । साथै यो कुरा अरुले पनि गर्नुपर्छ भन्ने पाठ पढायो ।

नेपालमा यही कमीका कारण अहिले हामीले थुपै्र बिरामीहरु बाहिर पठाइरहेका छौ । यो चलन विदेश लगायत भारतमा त पाइन्छ । नेपालमा यो यति धेरै सम्भव थिएन । तर, यहाँ अहमका कारण भन्नुस् वा सुविधाको अभावमा यस्तो प्रक्रिया त्यति धेरै प्रयोगमा आएको पाइँदैन ।

म कहाँ गएर उपचार गर्ने अनि मैले कस्तो उपचार लिने भन्ने कुरा व्यक्ति विशेषको रोजाइ हो । त्यसमा कसैले केही भन्न मिल्दैन । तपाईले कोबाट कहाँ उपचार गर्न चाहनुहुुन्छ भन्ने कुरा तपाईको रोजाइ तथा अधिकारको कुरा हो । धनीदेखि गरीबसम्म सबैलाई यही कुरा लागु हुन्छ । कतिपय कुराको राम्रो उपचार नेपालमा नहुन पनि सक्छ । त्योबेला जहाँ उपचार पाइन्छ, त्यहाँ जानु पनि पर्छ । त्यसका लागि हामीले उनीहरुलाई स्वतन्त्र छोडिदिनुपर्छ ।

तर, यति भन्दाभन्दै पनि यदि नेपालमा सम्भव भएका उपचार लगायतका सामान्य उपचारका लागि पनि कोही विदेश जान्छ भने उसले एकपटक सोच्नैपर्ने बेला आएको छ ।

यसरी नै नेपालको स्वास्थ्य क्षेत्रको विकास हुन्छ

कतिपय अस्पतालमा निश्चित विषयको विशेषज्ञको अभावमा अर्कोलाई बोलाउने परिपाटी त निश्चय नै छ र हुन्छ पनि । तर, त्यसो भन्दैमा उसले आएर ओपीडी सञ्चालन गरेर जाने हैन कि समस्या अनुसारको उपचार गरिदिने हो । अथवा उपचारका लागि अन्य अस्पताल रिफर गरिदिने र फर्काएर ल्याउने हो । यो इन्टर अस्पतालको एउटा भाग हो ।

यो अवधारणा अहिले नेपालमा पनि अलिअलि सुरु भएको छ । तर, यदाकदा हामी संकीर्ण मानसिकतामा छौं कि ? हामीले बिरामीलाई अर्को अस्पतालमा पुर्‍यायौं भने या त बिरामी फर्कंदैन, अथवा यो अस्पतालमा उपचार नहुने भएकाले अर्को अस्पताल पठाउने रहेछ भन्ने सोचिन्छ । यदि अर्को अस्पतालमा पठाई हाल्यो भने पनि अरुले के सोच्ला भन्ने पनि छ । तर, यथार्थ पनि यही हो कि यसरी नै स्वास्थ्य क्षेत्रको विकास हुन्छ ।

प्रतिस्पर्धा भनेको आफ्नो ठाउँमा होला । तर, जब बिरामीको उपचारको कुरा आउँछ त्यहाँ प्रतिस्पर्धा भन्दा पनि सदभाव तथा नैतिकताले काम गर्नुपर्छ जस्तो लाग्छ । यतिमात्र भए पनि यो क्षेत्रमा हामी एक खुड्किलो माथि उठ्न सक्ने थियौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment