Comments Add Comment

रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरियो: प्रधानमन्त्री

KP-Oli

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएको बताएका छन् । उनले  यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका सन्दर्भमा प्रधानमन्त्री अोलीले दिएको  सन्देशमा पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएको र यसले जनताको आधारभूत हितमा आँच पुर्याउने भन्दै चिन्ता व्यक्त गरेका छन्  । यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने प्रधानमन्त्री अोलीको भनाइ छ ।

“सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु”, नेकपा (एमाले) का अध्यक्ष समेत रहेका ओलीले जारी गरेकाे वक्तव्यमा भनिएको छ ।

संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै उनले  राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment