Comments Add Comment

म्यानपावरको ठगी धन्दाः पासपोर्ट कब्जा गरेर कामदारसँग ‘फिरौति’

agents
९  साउन, काठमाडौं । बारास्थित निजगढका विनाद चौंलागाइले एक आफन्तको भर परेर विदेश जानका लागि पासपोर्ट जिम्मा लगाए । झण्डै डेढवर्ष अघि मलेसिया जानका लागि बुझाएको पासपोर्ट अहिले कहाँ पग्यो भन्नेमा उनी अनविज्ञ छन् ।

‘मेरो पासपोर्ट लिएर बेपत्ता बनाएका छन् । म्यानपावर चलाउनेहरु मिलेर एकले अर्कालाई देखाउँदै मलाई झुलाइरहेका छन्,’ चौंलागाईं भन्छन्,’पासपोर्टको लागि २० हजार फिरौति मागेका छन् । मेरै पासपोर्ट लिएर राख्ने अनि मैसँग तिनर्ैै नसक्ने पैसा माग्छन् ?’

उनलाई आफ्नो पासपोर्ट हात पारेर अर्को देश जानु छ । सुरुमा उनले पासपोर्ट फ्लोरिडा म्यानपावरमा बुझाएका थिए । त्यहाँ गएर बुझ्दा भिसाका लागि पासपोर्ट अकर्ैै म्यानपावरमा पुगेको उनले थाहा पाए ।

अलमिडियटर म्यानपावरकी सञ्चालिका सुमित्रा लोहनीले चौंलागाईलाई दुई साताअघि पासपोर्ट आफैंसँग छ लिन आउन भनेकी थिइन् । लिन जाँदा २० हजार रुपैयाँ तिर्नुपर्छ भनेपछि उनी पैसा नभएका कारण पछि आउँछु भन्दै फर्किए ।

त्यसपछि उनले अरुमार्फत थाहा पाए कि आफ्नो पासपोर्ट फिर्ता लिन शुल्क तिर्नुपर्दैन । उनले पासपोर्टका लागि ५ हजार रुपैयाँ दिन सक्ने लोहनीलाई बताका थिए । तर, चौंलागाई ५ हजार मात्रै दिने भनेपछि लोहनीले पछि बोली फेरिन् र पासपोर्स आफूसँग छैन भनिदिइन् ।

उनले त्यपछि चौंलागाँईको पासपोर्ट सामाखुसीको गुरुङ म्यानपावर छ भन्दै सञ्चालक कुमार गुरुङको फोन नम्बर दिइन् । सञ्चालक गुरुङले दुईचार दिन ‘छ कि छैन हेर्न समय लाग्छ’ भन्दै झुलाएर र अन्तिममा ‘छैन रहेछ’ भनिदिए ।

‘मैले २० हजार रुपैयाँ तिरेको भए अस्ति नै अलमिडियटर म्यानपावरबाटै पासपोर्ट पाउँथे,’ चौंँलागाई भन्छन्, ‘तर, त्यत्रो पैसा छैन भनेपछि हरायो भनिदिए । पासपोर्ट बेचिन्छ भन्ने सुन्छु, न मेरो पनि बेचियो की ?’

चौंलागाई प्रतिनिधि पात्र मात्र हुन् । यसरी पासपोर्ट लिने तर, भिसा नलगाउने गर्दै धेरै म्यानापावरले ठगी धन्दा चलाइरहेका छन् । पासपोर्ट कब्जामा राख्ने र आफूले मागेजति पैसा नदिएसम्म फिर्ता नदिने प्रचलन म्यानपावरहरुमा ब्याप्त छ ।

भिसा नै नलागेर अडि्किएकाले मात्र होइन, आश्वासन दिएभन्दा फरक कामका लागि विदेश पठाउन लागेको थाहा पाएपछि सचेत कामदारहरुले पासपोर्ट फिर्ता माग्ने गरेका छन् । तर, म्यानपावरहरुले यसका लागि मोटो रकम माग्ने गरेका छन् । अन्तर्राष्ट्रिय कानुनअनुसार कसैको व्यक्तिगत पासपोर्ट कब्जा गरेर राख्न पाइँदैन । तर, नेपालमा यही कामलाई धन्दा बनाएर कमाउनेहरु प्रशस्तै भएको श्रम तथा रोजगार मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यस्ता विषयमा केही उजुरी वैदेशिक रोजगार विभागमा पनि पुग्ने गरेको छ । विभागले पीडित कामदार र म्यानपावरबीच समझदारी गराएर पासपोर्ट फिर्ता गराइदिने गरेको जनाएको छ । उजुरीपछि अधिकांश म्यानपावरले एक रुपैयाँ पनि शुल्क नलिई पासपोर्ट फिर्ता गर्ने गरेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

‘पासपोर्टको फिरौति माग्ने गुनासो थुप्रै आउँछ । हामीले मिलाएर पासपोर्ट फिर्ता गरेका छौं’ प्रवक्ता अधिकारी भन्छन्-‘म्यानपावहरु भिसा शुल्क कामदारले ब्यहोर्नुपर्ने बताउँछन् भने कामदारले म्यानपारले झक्याएर भनेको भन्दा अर्कै काम र सुविधामा पठाउन लागेको भन्दै तिर्न मान्दैनन् ।’

भिसा आएपनि राम्रो काम र तलब नभएको भन्दै जान नमानेपछि पासपोर्ट फिर्ता लिन ठूलो फिरौति धन्दा चहिलरहेको सरकारी अधिकारी पनि स्वीकार्छन् । तर, पीडितले विभागमा उजुरी दिए र न्याय दिन सकिने उनीहहरुको भनाइ छ ।

कतिपय कामदारले त पासपोर्ट बनाउन भन्दा बढी फिरौति मागेपछि नयाँ एमआरपी बनाउने गरेका छन् । तर, सोझा-साझालाई भने भिसा क्यान्सलेशन चार्ज लगायत विभिन्न शुल्क जोडेर ३० हजार रुपैयाँसम्म पनि म्यानपावरहरुले उठाउँछन् । तर, भिसा नै नलागेका पासपोर्टमा पनि ठूलो रकम उठाउने गरेको पीडित कामदारको गुनासो छ ।

तर, यसरी पासपोर्ट जफत गरेर राख्नेलाई कारवाही गर्ने गरिएको छैन । यसैकारण म्यानपावर व्यवसायीले यो पासपोर्टमा फिरौति माग्ने धन्दालाई ब्यापक बनाउँदै लगेका छन् ।

तर, पीडित कामदार भने पासपोर्ट नपाएर विदेश जान पाएका छैनन् । कतिपयले फेरि पासपोर्ट बनाएर विदेश उडिरहेका छन् । म्यानपावरले त्यसरी कब्जा गरेको पासपोर्ट कामदारले फिर्ता नलिए के गर्छ भन्ने विषय अझ गौण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment