Comments Add Comment

यी हुन् नेपाली पर्यटनको गुणस्तर वृद्धिका ६ चुनौती

हाईक्याम्पबाट मार्दी बेस क्याम्प जाने बाटो ।

१६ साउन, काठमाडौं । नेपाल पर्यटकीय मुलुक भएपनि पर्यटन क्षेत्रबाट खासै लाभ लिन सकेको छैन् । मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान २ प्रतिशतको हाराहारीमा छ ।

अहिले नेपालमा वार्षिक ८ लाख पर्यटक भित्रिन्छन् । जसमध्ये अधिकांश पर्यटक कम खर्च गर्ने खालका हुन्छन् । नेपालमा प्रशस्त खर्चालु पर्यटक भित्राउन सकिने सम्भवना भएर पनि हामी चुकिरहेका छौं । खर्चालु पर्यटक भित्राउन नेपालमा प्रशस्त पर्यटकीय प्रोडक्ट छन् ।

नेपाली पर्यटनको गुणस्तरमा सुधारका लागि धेरै काम गर्नुपर्ने देखिन्छ । पर्यटनको गुणस्तर सुधारका लागि धेरै चुनौतीहरु समेत रहेका छन् । पर्यटन मन्त्रालयले ल्याएको १० वर्षे राष्ट्रिय पर्यटन रणनीतिक योजनामा मुलुकको पर्यटनको गुणस्तर सुधारका लागि प्रमुख ६ चुनौती रहेको उल्लेख गरिएको छ ।

१) जनशक्तिको गुणस्तर

नेपालका सबै प्रकारका होटलहरूमा कम शैक्षिक योग्यता भएका, कम व्यावसायिक दक्षता भएका, र व्यावसायिक लगाव कम भएका कर्मचारीहरूको बाहुल्यता भएका कारण यिनीहरूलाई प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न कठिनाइ भएको छ ।

यो अवस्था विशेषगरी काठमाडौं उपत्यकाभन्दा बाहिरका र धेरै दुर्गम स्थानका होटल तथा रिसोर्टहरूमा विद्यमान छ । यस्ता क्षेत्रहरूमा कम पढेका तथा निम्न आय भएका यूवाहरूका लागि पर्यटन तालिमको अवसर सिर्जना गर्नुपर्ने देखिन्छ ।

२) आवासको गुणस्तर

नेपालमा पदयात्रा मार्गका साना चिया पसलमा उपलब्ध हुने बासदेखि काठमाडाैं, पोखराका ५ तारे होटलका ‘सुइट’ कोठाहरूसम्म गरी पर्यटकका लागि विभिन्न प्रकारका आवास सुविधा छ ।

छिमेकका गन्तव्यहरूको भन्दा नेपालका होटलहरूको शुल्क सापेक्षिक रूपले कम छ । उस्तै खालको सेवा दिए पनि आवासका सुविधाहरू भने एक नासका छैनन् । सेवा र सुविधाका बारेमा सम्बद्ध निकायहरूबाट हुनुपर्ने नियमित अनुगमनमा पनि कमी रहेको छ ।

३) सेवाको गुणस्तर

नेपालका होटलहरूमा दिइने सेवा एकनासको पाइँदैन । पर्यटकको अपेक्षा, उनीहरूले खोजेको सेवा, दिनुपर्ने सेवा र गुणस्तरका बारेमा व्यवसायी वा कर्मचारीहरूले राम्रोसँग नबुझेर यस्तो हुन सक्छ ।

घ) सुरक्षित खाद्यपदार्थ र स्वास्थ्य

नेपालको खाद्य पदार्थको गुणस्तरसम्बन्धी छविलाई विश्वस्तरमै लोकप्रिय पर्यटक गाइड बुकहरू लोन्ली प्लानेट, रफ गाइड्स आदिले चुनौती दिइरहेका छन् । उदाहरणका लागि, यी पुस्तिकाहरूले नेपालमा सलाद खाँदा र पानी पिउँदा समेत होस पु¥याउनका लागि पर्यटकहरूलाई आग्रह गरेका छन् ।

सेवाप्रदायक वा व्यवसायीहरूले सुरक्षित खाद्यपदार्थका लागि आफ्नो स्थानबाट प्रयास गरेका भएपनि सरकारी संयन्त्र भने कम स्रोत–साधनका कारण सबैतिर पुग्न सकेको छैन ।

सन् २०११ मा नेपालमा भएका जम्मा ४० जना खाद्य निरीक्षकहरूले वर्षभरिमा जम्मा १ हजार २१ वटा होटलहरूको निरीक्षण गरेका थिए । नेपाल पर्यटन बोर्डले सरकार तथा अन्य सङ्घसंस्थाहरूका लागि सुरक्षित खाद्यपदार्थ सेवा तथा सफाइसम्बन्धी तालिमहरू प्रदान गर्ने तथा सूचना आदानप्रदान गर्दछ । जसलाई देशका विभिन्न भागहरूमा नियमित रूपले  विस्तार गर्दै लग्नु जरूरी छ ।

पर्यटकहरूलाई नेपालका विविध खाद्य परिकारहरूको स्वतन्त्ररूपमा स्वाद अनुभव गर्ने अवसर सिर्जना गर्न होटल, रेष्टुराँ तथा अन्य सेवा प्रदायकहरुले ती परिकारहरूको गुणस्तर र सरसफाईमा बढीभन्दा बढी ध्यान दिनुपर्ने देखिन्छ ।

ङ) अध्यागमन प्रक्रिया र प्रवेशाज्ञा (भिसा) सेवा

नेपालकोे एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अध्यागमन तथा प्रवेशाज्ञा (भिसा) सेवा दिने गरेको छ । जुन सन्तोषजनक नभएको पर्यटकको गुनासो छ ।
साथै, भिसासम्बन्धी सेवा प्राप्तिमा समेत ढिलाई हुने गरेको पाइन्छ । विश्वका अन्य थुप्रै विकशित देशका विमानस्थलहरूमा दिइने सेवाको तुलनामा हाम्रो सेवा कम गुणस्तरको हुनु हाम्रो लागि ठूलो चुनौती हो ।

च) गन्तव्यस्थलमा गुणस्तर

नेपालका पर्यटकीय गन्तव्यहरूमा सरसफाई, पूर्वाधार, सुरक्षा, दिगोपन र आकर्षण व्यवस्थापनमा विभिन्न समस्याहरू छन् । पर्यटकहरूको पहिलो प्राथमिकताका स्थानहरू काठमाडाैं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा पदयात्रा र लुम्बिनीमा वातावरणीय समस्याहरू छन् ।

एकातर्फ भइराखेका पूर्वाधारहरू तथा सेवामा व्यापक सुधार गर्नुपर्ने र अर्कोतर्फ वर्षेनि बढ्दै गएका पर्यटकहरूलाई व्यवस्थापन गर्नुपर्ने दुई प्रकारका चुनौती नेपालको पर्यटनमा देखिएका छन् । पर्यटन गन्तव्यहरूमा भौतिक पूर्वाधारका अतिरिक्त मानवीय पूर्वाधार विकास र व्यवस्थापनको गुणात्मक सुधारको आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment