Comments Add Comment

पर्यटन क्षेत्रमा ४ लाख २६ हजार प्रत्यक्ष रोजगार

कुल रोजगारीमा पर्यटनको ३.२ प्रतिशत योगदान

हाईक्याम्पबाट मार्दी बेस क्याम्प जाने बाटो ।
हाईक्याम्पबाट मार्दी बेस क्याम्प जाने बाटो ।

१७ साउन, काठमाडौं । नेपालको कुल रोजगारीमा पर्यटन क्षेत्रको योगदान ३.२ प्रतिशत रहेको छ । पर्यटन क्षेत्रमा ४ लाख २६ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएको विश्व पर्यटन परिषदको तथ्यांक छ । यो सन् २०१५ को तथ्यांक हो ।

अहिले नेपालमा १ करोड ३३ लाख प्रत्यक्ष रोजगार छन् । यो कुल जनसंख्याको झण्डै ४५ प्रतिशत हुन आउँछ । तथ्यांकले कुल जनसंख्याको ठूलो हिस्सा आंशिक वा पूर्ण बेरोजगार रहेको देखाउँछ । स्वदेशमा रोजगारी नपाएर अहिले दैनिक रुपमा औषत १५/१६ सय नेपाली वैदेशिक रोजगारीमा जान्छन् ।

नेपाल पर्यटकीय सम्भवना भएको मुलुक हो । कुनै पनि मुलुकको रोजगारीमा पर्यटन क्षेत्रको योगदान ठूलो रहेको हुन्छ । नेपालमा पनि एक पर्यटक बराबर १२ जनाले रोजगारी पाउने सरकारी तथ्यांक छ । नेपालको रोजगारीमा पर्यटन क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी विशेष योगदान पु¥याएको छ ।

सन् २०२६ सम्ममा नेपालको पर्यटन उद्योगमा झण्डै ६ लाख ५४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने विश्व पर्यटन परिषदको प्रक्षेपण छ । यो संख्या तत्कालीन कुल रोजगारीको ३.८ प्रतिशत हुनेछ ।

परिषदका अनुसार सन् २०१५ मा नेपालको पर्यटन तथा पर्यटनसँग जोडिने कृषि, हस्तकला, निर्माण, सार्वजनिक कार्य,  ट्राभल एण्ड टुरिजम समेतबाट कुल रोजगारीको ६.९ प्रतिशत अर्थात ९ लाख १८ हजार ५ सयले अप्रत्यक्ष रुपमा रोजगारी गरिरहेका छन् । यो संख्या सन् २०२६ सम्ममा बढेर १३ लाख ९० हजार पुग्ने छ ।

नेपालको पर्यटन उद्योगमा प्रत्येक वर्ष होटल, ट्राभल र टुर कम्पनीमा आवश्यक हुने कर्मचारीहरू र तिनको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । यसका आधारमा आगामी १० वर्षका लागि आवश्यक मानव संसाधनको योजना र दक्ष जनशक्ति उत्पादनका लागि विभिन्न तालिमहरू आयोजना गर्नुपर्ने पर्यटन मन्त्रालयको भनाई छ ।
नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययन अनुसार सन् २०११ म दर्ता भएका तथा नभएका भोजन तथा आवास सुविधा (होटल/एकोमोडेसन) गरी २ हजार ६०४ वटा थिए । तीमध्ये १५ वटा प्रमुख तथा ५ वटा साना गन्तव्यहरूमा गरी ३५ हजार ७८९ जना पर्यटकहरू बस्न सक्ने कोठाहरू थिए ।

अविकसित देशहरूमा एउटा पर्यटकीय कोठाका लागि २.५ जना पूर्णकालीन कर्मचारीहरू आवश्यक पर्छ । यो अनुपात भारतमा १.७५ बराबर १ जना (कर्मचारीः कोठा) र चीनमा २ कर्मचारी बराबर १ कोठा छ । यदि भारतको अनुपातलाई आधार मान्ने हो भने नेपालका २ हजार ६०४ होटलका ३५ हजार ७८९ कोठाहरू सञ्चालन गर्न ६२ हजार ६३० कर्मचारीहरूलाई रोजगारी दिनुपर्छ ।

नेपालमा होटल तथा रेष्टुराँसहित ट्राभल एजेन्सीहरू, ट्रेकिङ कम्पनीहरू, पदयात्रा पथ प्रदर्शकहरू, ¥याफ्टिङ, पर्यटन प्रहरी र साहसिक खेलहरूमा ठूलो संख्याले रोजगारी पाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment