Comments Add Comment

तीन अर्ब लगानीमा यस्तो बन्ने भयो धरहरा ! (भिडियोसहित)

लिफ्टबाट धरहरा चढ्न पाइने, म्युजियमदेखि थिएटरसम्मको सुविधा

new dharahara (4)
१७ साउन, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो ।

आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रालि/एमआरबी एण्ड एशोसिएट्सले डिजाइन तयार पारेको हो । सोमबार राजधानीमा एक कार्यक्रमबीच धरहराको स्केच सार्वजनिक गरियो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

सरकारले धरहरा ११ तलाको बनाउने भएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुने आर्किटेक इञ्जिनियर विष्णु पन्थीले बताए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।

धरहरामा भर्‍याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने पन्थीले जानकारी दिए । यो धरहरा बनाउन करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पार्कसहितको धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको उनको भनाई छ । हुलाकलाई चारखालमा स्थानान्तरण गरिने भएको छ ।

भिडियो हेर्नुस्

धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन नहुने भएको छ । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मन्त्री पोखरेलले बताए । ‘धरहराको पुनर्निर्माण नवः प्रविधिबाट हुन्छ’ उनले भने- ‘अब बन्ने धरहरा ८ रेक्टर स्केलको भूकम्प थेग्न सक्ने हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको पुनर्निर्माणका लागि ‘मेरो धरहरा म आफै बनाउँछु’ अभियान घोषणा गरेका थिए । राष्ट्रिय गौरवको धरहरामा सबै नेपालीको अपनत्व जगाउन यस्तो घोषणा गरिएको थियो । यो अभियानमा नेपाली नागरिकले स्वतस्फुर्त आर्थिक सहयोग गरिरहेका छन् ।

नक्सामा हेर्नुस् नयाँ धरहारा 
नक्सामा हेर्नुस् नयाँ धरहारा

अहिलेसम्म १ करोड ९५ लाख रुपैयाँ धरहराको पुनर्निर्माणका लागि उठिसकेको छ । नक्सासहित जनतासँग गएपछि सहयोग हृवात्तै बढ्ने पर्यटन मन्त्रीको विश्वास छ । धरहरा बनाउन जनताबाट उठाउने लक्ष्य राखिएको छ । अपुग रकम सबै नेपाल टेलिकमले लगानी गर्ने इच्छा जाहेर गरिसकेको उनले बताए । धरहरा बनाउन रकमको कुनै अभाव नहुने उनको भनाई छ ।

यस्तो हुनेछ धरहरा

new dharahara (1)
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा लिफ्टको व्यवस्था हुनेछ । आकस्मिक अवस्थाका लागि भर्‍याङको समेत हुने आर्किटेक इञ्जिनियर पन्थीले जानकारी दिए ।

धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टबाटै लिफ्ट चढेर धरहराको टुप्पोमा पुग्ने व्यवस्था मिलाइने बताइएको छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुने पन्थीले जानकारी दिए । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने उनको भनाइ छ ।

new dharahara (3)
धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । यसलाई हृयांगिङ गार्डेन नामाकरण गरिने छ । धरहराको भित्र हुने अठारौं तलामा मिनी थिएटर बनाइने भएको छ । थिएटर १७ जना क्षमताको हुने छ । जहाँ धरहराको विगतदेखि वर्तमानसम्मको भिडियो देखाइने छ ।

२ सय ४५ फिट अग्लो धरहराको टपमा सिसाले घेरेको ‘भ्यू डेक’ हुनेछ । जहाँबाट काठमाडौं अवलोकन गर्न सकिने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् । सुन्धरालाई थप आकषिर्त बनाइने भएको छ । सुनबाट बनेको सुन्धरामा मानिसले मज्जा लिन सक्ने बताइएको छ ।

धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । जहाँ १ सय ३४ गाडी र ७२२ बाइक पार्किङ गर्न सकिने पन्थीले जानकारी दिए । पछिल्लो समय राजधानीमा पार्किङ सबैभन्दा ठूलो समस्या बनेको छ । धरहरा घुम्न जानेलाई पार्किङको समस्या नहोस् भनि तीन तले पार्किङ सुविधा उपलब्ध गराउन लागिएको हो ।

new dharahara (5)
‘धरहरालाई सकेसम्म नेपाली पन दिन खोजिएको छ, मेटि्रयल्समात्र आधुनिक प्रयोग गर्न लागिएको हो’ आर्किटेक इञ्जिनियर पन्थीले भने- ‘धरहरा राष्ट्रको ल्यान्डमार्क हो, यो साँच्चिकै ल्यान्डमार्क बन्नुपर्छ ।’

पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । मन्त्री पोखरेलले काठमाडौंमा पशुपतिपछिको आकर्षक गन्तव्य धरहरा बन्ने विश्वास व्यक्त गरे । धरहराले पर्यटकलाई थप १ दिन काठमाडौंमा टिकाउन सहयोग पुग्ने उनको भनाई छ । यसले राजश्वमा समेत योगदान पुर्‍याउने उनले बताए ।

नयाँ बन्ने सरकारले पनि धरहरा निर्माणलाई प्राथमिकतमा राख्नुपर्ने मन्त्री पोखरेलको भनाई छ । ‘नयाँ सरकारले धरहराको काम कुनै पनि बाहनामा रोक्नु हुँदैन, हामी प्रतिपक्षमा बसेर धरहरा निर्माणका लागि दबाव सिर्जना गर्छौं ।’

new dharahara (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment