Comments Add Comment

सर्वोच्च अदालतमा एकै दिन २८० मुद्दा पेशीमा चढे

बलात्कारको मुद्दामा महिला न्यायाधीशलाई प्राथमिकता

Newly appointed Judge-of-Supreme-Court-of-Nepal Photo RSS

१७ साउन, काठमाडौं । न्यायाधीशको अभावले मुद्दाहरुको चाङ लाग्दै आएको सर्वोच्च अदालतमा सोमबार एकै दिन २८० वटा मुद्दा दैनिक पेशीको सूचीमा चढे । सोमबारै सपथ खाएका ११ न्यायाधीशले समेत फुर्सद पाएनन् ।

सर्वोच्च अदालतमा अहिलेसम्म प्रधानन्यायाधीशसमेत ९ जना न्यायाधीश रहेकोमा सोमबारदेखि यो संख्या २० पुगेको छ । २० जनाले नियमितरुपमा मुद्दा हेर्ने हो भने दिनमै दुई अढाइसय मुद्दाहरु छिनोफानो गर्न सहज हुने अवस्था सिर्जना भएको छ ।

इजलासमा नयाँ र पुरानाको मिसमास

सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीश हरिकृष्ण कार्कीलाई सोमबार चोलेन्द्रसमशेरको संयुक्त इजलासमा खटाइएको थियो । न्यायाधीशद्वय हरिकृष्ण र चोलेन्द्रको इजलास नं ७ मा सीजी फुड्स, एशियसन थाई फुड्स लगायतको मुद्दाहरु पारिएको थियो ।

नवनियुक्त न्यायाधीशमध्ये दीपककुमार कार्कीको इजलास जगदीश शर्मा पौडेलसँगै ८ नम्बरमा परेको थियो । उनीहरुका भागमा उत्प्रेषण आदेशसम्बन्धी मुद्दाहरु पारिएको थियो ।

त्यस्तै नवनियुक्त केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेलाई १० नं इजलासमा खटाइएको थियो । उनीहरुले बढीजसो भ्रष्टाचारसम्बन्धी मुद्दाहरु हेरे । तीमध्ये दुईवटामा उनीहरुले आदेश सुनाए । केहीमा मिसिल झिकाउने आदेश दिए ।

त्यस्तै इजलास नं १ अन्तरगतको इजलासमा प्रधानन्यायाधीश सुशीला कार्की र नवनियुक्त न्ययाधीश ईश्वरप्रसाद खतिवडाको बेञ्च खडा गरिएको थियो । विविध अन्तरगतको एउटा मुद्दा प्रधानन्यायाधीश सुशीला र न्यायाधीश गोपाल पराजुलीको बेञ्चमा परेको थियो ।

नवनियुक्त ११ न्यायाधीशमध्ये न्यायाधीश अनिलकुमार सिन्हा ६ नम्बर इजलासमा पुराना न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठसँगै खटिएका थिए ।

त्यस्तै नयाँ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पुराना न्यायाधीश ओमप्रकाश मिश्रसँगै ५ नम्बर इजलासमा खटाइएको थियो ।

नवनियुक्त न्यायाधीश डा. आनन्दमोहन भट्टराई पुराना न्यायाधीश दीपकराज जोशीसँगै खटिएका थिए भने अर्का नयाँ न्यायाधीश प्रकाशमानसिं राउत पुराना न्यायाधीश गोपाल पराजुलीसँग २ नं इजलासमा खटिए ।

Sapana meera

बलात्कारको मुद्दामा महिलालाई प्राथमिकता

सर्वोच्च अदालतमा पेशी तोक्ने महत्वपूर्ण भूमिका प्रधानन्यायाधीशको हुन्छ । प्रधानन्यायाधीश सुशीला कार्कीले जबरजस्ती करणीसम्बन्धी मुद्दामा महिला न्यायाधीशलाई प्राथमिकता दिएकी छिन् । उनले तीनवटा जबरजस्ती करणीसम्बन्धी मुद्दासमेत ८ वटा मुद्दाहरु नवनियुक्त न्यायाधीशद्वय मीरा खड्का र सपना प्रधान मल्लको संयुक्त इजलासमा पारेकी छिन् । तर अाठैवटा मुद्दामा फैसला अाएन ।

खड्का र मल्लको १२ नं इजलासमा सरोज जीसी, जहरी कामी र नरेश केसी प्रतिवादी भएका तीनवटा भिन्नाभिन्नै जबरजस्ती करणी एवं करणीसम्बन्धी उद्योगका मुद्दाहरु पेशीमा चढेका थिए ।

त्यसका साथै सपना र मीराको बेञ्चमा दिनेश राई प्रतिवादी भएको ज्यानमार्ने उद्योग सम्बन्धी मुद्दा पनि पेशीमा चढेको थियो । त्यस्तै ठगी, अनियमित रुख कटान, गैंडाको खाग तस्करी र एउटा कर्तव्य ज्यान सम्बन्धी मुद्दासमेत गरी ८ वटा मुद्दा नवनियुक्त न्यायाधीश खड्का र मल्लको इजलासमा चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment