Comments Add Comment

रगत चाहियो ? युथ फर ब्लडलाई सम्झिनुस्

स्वयम्सेवी युवाहरुको सार्थक पहल

blood-donation

१८ साउन, काठमाडौं । विराटनगरका सरोज कार्कीलाई सुरुमा पढाइ र जागिरबाहेक अरु कुरामा वास्ता थिएन । सामाजिक काममा झन् फिटिक्कै रुची लाग्दैनथ्यो । तर, पाँच वर्षयताको कथा अर्कै छ ।

साथीको मामालाई बी पोजेटिभ रगत चाहिएको खबर रातिको नौ बजेतिर उनीसम्म आयो । तर, रातारात रगतको बन्दोबस्त हुन सकेन । भोलिपल्ट सरोजले साथीहरूसँग सम्पर्क गरी रक्तदाता फेला पारे । रगत पाएपछि साथीको परिवारमा छाएको खुसी र पाएको प्रतिक्रियाबाट उनलाई बेग्लै आत्मसन्तुष्टि प्राप्त भयो ।

‘त्यो घटनापछि रगत कति महत्वपूर्ण रहेछ भनेर बुझेँ मैले । त्यस्तो समस्या जसलाई पनि पर्न सक्छ भनेर म रक्तदान अभियानमा जोडिएँ,’ सरोज सुनाउँछन् ।

स्वयंसेवी युवा साथीहरूसँग घुलमिल बढ्दै गयो । रक्तदाताको समूह नै बनाएर अघि बढ्ने सल्लाह भयो । तर, ५०-६० जना युवासँग छलफल चलाउँदा ६ जना युवा मात्रै अघि सरे । सरोजका साथै सुरज सुवेदी, सविन चिमोरिया, सगुना बस्नेत लगायत युवाको प्रयासमा सुरु भएको अभियान हो युथ फर ब्लड ।

यो अभियानका युवाले बिरामीका लागि रक्तदाता खोजी गर्नुका साथै कलेजहरूमा रक्तदान जागरण कक्षा चलाउने र रक्तदान कार्यक्रमहरूमा सघाउने काम गर्छन् । कलेजमा सचेतना अभियान चलाएलगत्तै विद्यार्थीलाई रक्तदान गराउँछन् ।

मोरङदेखि सुरु भएको अभियानको संस्थागत लहरो अहिले झापा, सुनसरी, काठमाडौं, चितवन लगायत ठाउँमा फैलिएको छ । अभियानमा अहिले एक सय ५० जना स्वयंसेवी युवा सक्रिय रूपमा लागेका छन् भने अरु सहयोगी पनि गाँसिएका छन् ।

रगत आवश्यक परेको बेला दाताको खोजीमा भौंतारिन नपरोस् भनेर युथ फर ब्लडले रक्तदाताको ब्लड ग्रुप र फोन नम्बरसहित अनलाइन डाटाबेस नै बनाएको छ । यो सूचीमा ५० हजारभन्दा बढीको नाम छ

अभियानका युवाहरू फोनमा साथीहरूको नाम सेभ गर्दा पनि नामसँगै ब्लड ग्रुप लेख्छन्, ताकि अभर परेकोे बेला सम्झिन सजिलो होस् । एबी पोजेटिभ सरोज भन्छन्, ‘सामान्यतया आफ्नै वरिपरिका साथीभाइको ब्लडगु्रप के हो भनेर ख्याल गरिएको हुन्न । तर, कुनै दिन आफूलाई पनि चाहिन सक्छ है भनेर रक्तदानबारे तयार रहनुपर्छ ।’ उनी आफूले पनि २४ पटक रक्तदान गरिसकेका छन् ।

अभियानले कसरी काम गर्छ ?

रगत आवश्यक परेको बेला दाताको खोजीमा भौंतारिन नपरोस् भनेर युथ फर ब्लडले रक्तदाताको ब्लड ग्रुप र फोन नम्बरसहित अनलाइन डाटाबेस नै बनाएको छ । यो सूचीमा ५० हजारभन्दा बढीको नाम छ ।

कतैबाट फलानो ग्रुपको रगत आवश्यक परेको भन्ने थाहा भएपछि डाटाबेसमा मिल्दो ग्रुप भएका रक्तदातालाई रक्तदानको लागि सूचित गरिन्छ ।

सामान्य अवस्थामा युथ फर ब्लडले कसैलाई रगत चाहिने थाहा पाएपछि फेसबुकका साथी-सर्कलबाट रक्तदाता खोज्ने गर्छ । यो समूहको फेसबुक पेजको भित्तामा पनि रगत चाहिएको सूचना विभिन्न व्यक्तिले पोस्ट गरिरहन्छन् ।

पछिल्लो समय रगत खोज्ने क्रममा सामाजिक सञ्जालको सही प्रयोग नभएर समस्या बढेपछि समूहले विशेष तरिका अपनाएको छ । विभिन्न सहरमा रहेका रेडक्रसको ब्लड बैंकमै युथ फर ब्लडले आफ्नो फोन नम्बर टाँसिदिने गरेको छ । फोनबाट खबर आएपछि समूहले रक्तदातालाई ब्लड बैंकमा दौडाइहाल्छ ।

समूहले रगत चाहिएमा काठमाडौंमा ९८४३५५२८८२, मोरङमा ९८६२००५२२५, झापामा ९८१७९७६२११, सुनसरीमा ९८६२१६६५३५ र चितवनमा ९८४५२७५२१२, ९८१५२२४००४ मा सम्पर्क गर्न नम्बरहरू उपलब्ध गराएको छ ।

सुरु-सुरुको समयमा युथ फर ब्लडले फेसबुक र ट्विटरमा बिरामीको विवरण राखेर ब्लडग्रुप मिल्ने दाताको खोजी गथ्र्यो । तर, रगत पाइसकेपछि पनि फेसबुक र ट्विटरका पोस्ट हेरेर रक्तदाताहरूले बिरामीका आफन्तलाई फोन गरिरहने गरेपछि त्यो व्यावहारिक देखिएन ।

भक्तपुरमा त्यस्तै घटना भयो । ‘बालिकालाई एबी पोजेटिभ रगत चाहियो’ भनेर फेसबुकमा राखेको पोस्ट भाइरल भयो । रगत जुटिसक्दा पनि बिरामीका बुबालाई कति दिनसम्म फोन आउने क्रम जारी नै रह्यो । उनले धन्न झेलेकै थिए । ‘छोरीलाई रगत चाहिएको हो ?, रगत दिन कतिबेला आउँछ ?’ भन्ने प्रश्नमा उनले हरेकलाई बताइरहे- ‘छोरी बितिसकी, चाहिँदैन अब रगत ।’

बच्चाको न्वारनमा बोलाउँछन्

सुरजलाई रक्तदान जस्तो मानवीय संवेदना गाँसिएको  कुराबाट हत्तपत्त अलग हुन सक्छु भन्न लाग्दैन । ओ पोजेटिभ उनीसँग रातिको साढे ११ बजे गर्भवती महिलालाई रगत दिन गएको अनुभव पनि छ ।

रगत दिएपछि र जुटाइदिएपछि पारिवारिक सम्बन्ध नै बनेको मीठा प्रसंगहरू पनि छन् । उनले सुनाए, ‘हामीलाई बच्चाको न्वारानमा समेत बोलाउँछन् । तपाईंको रगत पाएर जन्मिएको बच्चा हो, तपाईँ आउनैपर्छ भन्छन् । हामी खुसी मन लिएर जान्छौं ।’

जनचेतना अझै कमजोर

रक्तदान गर्दा नराम्रो असर पर्ने, कमजोर भइने जस्ता भ्रमपूर्ण सोचाई समाजमा अझै छन् । यस्तो भ्रम निवारणका लागि रक्तदानलाई स्कुलको पाठ्यक्रममै समेट्नुपर्ने आवश्यकता देख्छन् युथ फर ब्लडका अभियन्ताहरू ।

सुरज भन्छन्, ‘एकचोटि आफूलाई नपरीकन कसैले कुरा बुझेको पाइँदैन । कुनै दिन आफूलाई पनि रगत चाहिन सक्छ है भन्ने सोचले नै रक्तदान टिकिरहन सक्छ ।’

सहरमा विभिन्न दिवस र संघसंस्थाहरूको वाषिर्कोत्सव र सन्दर्भ नपारी पनि रक्तदान कार्यक्रम भइरहन्छ । तर, ब्लड बैंकमा रगतको अभाव भएको समाचार पनि लगातार आइरहन्छ । यस्तो हुनुमा ब्लड बैंकले रक्तदातालाई उत्प्रेरित नगर्नुलाई कारण मान्छन् सुरज ।

‘रक्तदाताहरू स-साना कुरा ख्याल गर्छन् । रक्तदान गर्दा राम्रा टेक्निसियन नभएर समस्या भयो र रक्तदानपछि टिकट र प्रमाणपत्र नपाउँदा समेत उनीहरू नमजा मान्छन्,’ उनले भने । यो अवस्थामा कतिपय रक्तदाता दोहोर्‍याएर रक्तदानका लागि जाँदैनन् ।

गत बुधबार स्थापनाको ५० वर्ष मनाएको रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको स्वर्ण जयन्ती समारोहमा पनि यो समस्या देखियो । सम्मान गरिने व्यक्तिहरूलाई पदक र प्रमाणपत्र नबाँडिदा विवाद भयो ।

युथ फर ब्लडलाई आर्थिक समस्याले दुःख दिने गरेको छ ।  रगत चाहिएको खबर आएपछि रक्तदाता खोज्न र बिरामी पक्षलाई खबर गर्न सञ्चार खर्च आवश्यक पर्छ । यस्तै, काठमाडौंसहित विभिन्न सहरमा यो अभियानको अफिस खोलिएको छ ।

मोबाइल फोनका लागि रिचार्ज कार्ड जुटाइदिने सहयोगी भेटिए पनि कोठा भाडा तिर्न सदस्यहरूले खल्तीकै पैसा हाल्ने गरेका छन् । विगत वर्षमा यदाकदा नाटकको च्यारिटी शो र क्यालेन्डर छापेर पैसाको जोहो गरिएको थियो ।

रगत चाहिएर कता खोजौं भनेर अलमलिएको बेला युथ फर ब्लड अभियानलाई सम्झिँदा हुन्छ । ब्लड बैंकमा रगतको अभाव हटाउन नसके पनि अभियानका युवाहरू अप्ठेरो परेको अवस्थामा सहयोग गर्ने साथी बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment