Comments Add Comment

बजेटबारे प्रचण्डको टिप्पणीः ऋण काढेर घ्यू खाएजस्तो

ओलीसँग आग्रह- बुझिनेगरी सुझाव दिनोस् म त्यसै गर्छु'

Prachand-in-Parliament

१९ साउन, काठमाडौं । ओली सरकारले ल्याएको बजेटलाई अर्थशास्त्रीहरुले ‘ऋण काढेर गरिएको भतेर’ भन्ने टिप्पणी गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीका उमेद्वार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली सरकारको बजेटलाई ‘ऋण काढेर घ्यू खाएजस्तो’ भन्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको चुनाबका लागि बुधबार बोलाइएको व्यवस्थापिका संसदको बैठकमा प्रचण्डले मन्तव्य दिने क्रममा राजनीतिका साथै केही आर्थिक विषयमा पनि सम्बोधन गरे । यसक्रममा उनले प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्तावमा जवाफ दिँदा उठाएका केही प्रश्नहरुको जवाफ फर्काउने कोशिस गरे ।

राजस्वको स्रोतभन्दा एक खर्बर् बढी साधारण बजेटको आकार भएको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति संसदबाटै प्रश्न उठाए । माओवादीसमेत संलग्न रहेको ओली सरकारले राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ५७ अर्ब रुपैयाँ ठूलो आकारको (१० खर्ब ४८ अर्ब रुपैयाँको) बजेट ल्याएको थियो ।

बुधबार व्यवस्थापिका संसदमा बोल्दै प्रचण्डले ओलीमाथि प्रश्न गरे- ‘प्रधानमन्त्रीज्यु, तपाईले विकासका सपना त बाँड्नुभयो तर तपाईँको विकासको स्रोत के हो ?’

बजेटमा ५ खर्ब ६५ अर्ब रुपैयाँ राजस्वको लक्ष्य राखेको तर ६ खर्ब ६६ अर्ब साधारण खर्च छुट्याएको बताउँदै प्रचण्डले भने-‘मुलुकको अड्डा अदालत चलाउन र प्रसासन खर्च गर्न नै विदेशीबाट ऋण काढेर ल्याउनुपर्छ, यो बजेट तपाईँले नै ल्याएको होइन र ? प्रधानमन्त्रीज्यु, यो बजेट ऋण काढेर घ्यू खाएजस्तो भएन र ?’

बजेटमा कार्यक्रम नै उल्लेख गरेर रकम विनियोजन गरिएका बजेटहरु हुबुहु कार्यान्वयन गर्ने तर जहाँ बजेट नछुट्याई बाँडिएका सपनाहरु छन्, त्यहाँ नयाँ सरकारले निरन्तरता दिन नसक्ने प्रचण्डको भनाइ छ ।

‘कहिलेकाँही ती सपनाहरु जनताका लागि आकर्षण पनि हुन सक्छन् र कहिलेकाहीँ मनोरञ्जनमात्रै पनि हुन सक्छ,’ प्रचण्डले भने- ‘तपाईँले बजेट नछुट्याइकन पाइपलाइन, पानी जहाजका सपना बाँड्नुभयो, त्यो सपना सपना नै हुन्छ ।’

‘प्रधानमन्त्रीज्यू भाषणमात्रै गरेर हुन्छ ? तपाइँले अघि सार्नुभएको विकासको स्रोत के हो ?’ प्रचण्डले प्रश्न गरे- ‘स्रोत देखाइदिनोस् म त्यसै गर्छु ।’

विदेशीले सहयोग गरे आफुले त्यसरी नै बनाउने, दाताले सहयोग गरे त्यसरी नै बनाउने र आन्तरिक स्रोत परिचालन गरेर हुन्छ भने त्यसरी नै विकास गर्न तयार रहेको उल्लेख गर्दै प्रचण्डले भने-‘बुझिने गरी सुझाव दिनुहोस् प्रधानमन्त्रीज्यू म के गरुँ ?’

सरकारले दुई वर्षमा देशलाई कृषि र उर्जामा आत्मनिर्भर बनाउने रणनीति बनाएको र सोहीअनुरुप अघि बढ्ने प्रचण्डको भनाइ थियो ।

नेपाल स्रोत र साधनमा सम्पन्न भएको उल्लेख गर्दै प्रचण्डले कृषिमा सानो लगानीबाट ठूलो आय आर्जन हुने दाबी गरे । ‘हामीसँग पर्याप्त स्रोत र साधन हुँदा हुँदै पनि ५० लाख युवाहरु विदेशीन बाध्य भएका छन्,’ उनले भने- ‘यो मुलुकका लागि दुर्भाग्यको कुरा हो ।’

कृषिलाई मध्यनजर गरेर सबै विकासका पूर्वाधारहरु बनाउने हो भने केही वर्षभित्रै मुलुकमा उत्पादकत्व बढ्ने प्रचण्डले दाबी गरे ।

सम्बोधनकै क्रममा प्रचण्डले संसारभरका ३ अर्ब पर्यटकहरु नेपाल घुम्न आउन चाहेको बताए ।

नेपालका पहाडमा जलाशययुक्त विकास आयोजना निर्माण गर्न विदेशबाट कति लगानी ल्याउने र स्वदेशबाटै कति पुँजी जुटाउन सकिन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने प्रचण्डको भनाइ थियो ।

जसरी भए पनि फाष्ट ट्रयाक, बुढीगण्डकी, एयरपोर्ट, हुलाकी राजमार्ग र अन्य महत्वपूर्ण आयोजनाहरु निर्माण गर्ने प्रचण्डले दाबी गरे । उनले भने- ‘हामी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरु निर्माण गरेरै छाड्छौं, त्यसमा तपाईँले पनि साथ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment