Comments Add Comment

लोकगीतमा चरम विकृतीः यो गीतमा ज्योतीलाई भित्री बस्त्र देखाउनु पर्ने कारण के थियो ?

दोहोरी प्रतिष्ठान भन्छ-'हामी चुप लागेर बस्दैनौ, छलफल गर्दैछौ'

jyoti magar video
अब लोकगीत हाम्रा रहेनन् । केही गायक-गायिका अझै पनि लोकगीतमा नेपाली माटो, सुगन्ध, भाका खोजीरहेका छन् । तर, एउटा आलु कुहिँदा बोराका सबै आलु नै कुहिन्छन् भने जस्तै हुन थालेको छ, लोकगीत ।

विशेषगरि, युटुबमा दर्शक बढाउने नाममा गायक-गायिकाहरुले आफ्नो संकृतीलाई विर्सन मात्र होइन, सोझै मार्न थालेका छन् । तीजका होस् या दशैका, वा सामान्य लोकगीत मात्र किन नहुन् । गायक-गायिकाले शब्दको प्रयोगमा छाडापन भित्राइरहेका छन् । अझ, भिडियोको त कुरा नै नगरौ ।

विदेशमा कार्यक्रम गर्न जाने लोभमा होस् या ‘बदनाम होस् गुमनाम नहोस्’ भनेर नै किन नहोस्, मोडलहरु लोकगीतका भिडियोमा उच्छृङ्खलता भित्राइरहेका छन् । सायद, यसैले पनि होला अहिले म्यूजिक भिडियोमा मोडलिङ गर्नेहरुलाई दर्शकले पत्याउन छाडेका छन् । केही गायक-गायिकालाई छाड्ने हो भने, लोकगीत गाउनेहरुलाई दर्शकले चिन्न छाडेका छन् ।

केही दिन अगाडि मात्र गायिका ज्योती मगरको तीज गीत रिलिज भयो । गीतले दरमा फलफूल होइन बियर र वाइन खाने कुरा गरेको छ । ज्योतीको पहिरनको त कुरा नै नगरौ ।

बारम्बार यस्तै खालका गीत सार्वजनिक गरेर आलोचना हुँदा पनि ज्योतीले चेतेकी छैनन् । उनकै आवाज र मोडलिङमा एक गीत बजारमा आएको छ । ‘केरा काटेर’ बोलको गीतको भिडियोमा ज्योतीले मोडलिङ गरेकी छिन् । तर, भिडियो हेर्दा यसलाई लोकगीत भन्न नै लाज लाग्छ ।

चर्को विरोधपछि यो गीतलाई म्यूजिक नेपालले आफ्नो च्यानलबाट हटाएको छ । तर, अर्को एक च्यानलमा यो गीत अपलोड गरिएको छ । अहिले नेपाली चलचित्रमा बरु यस्ता खालका उच्छृङ्खलता कम हुन थालेका छन् । अहिले, चलचित्र निर्माण गर्नेहरु कथा, बिषय, प्रस्तुतीमा ध्यान दिन थालेका छन् । तर, यस्तो रोग केही लोकगीतका मोडल र गायक-गायिकाहरुलाई सरेको छ ।

‘केरा काटेर’ बोलको गीतको भिडियोमा गायिका ज्योती मगरले आफ्नो लामो पहिरन जानी-जानी माथि सारेकी छिन् । ज्योतीले आफ्नो भित्री बस्त्र स्पष्ट देखिनेगरि पहिरन माथि सारेर ‘जामा छोटो भयो’ भन्दै गीत गाएकी छिन् ।

के भन्छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ?
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा यसलाई विकृती भित्रीएको स्विकार गर्छन् । अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने-‘ज्योती हाम्रो प्रतिष्ठानकी सदस्य होइनन् भनेर हामी चुप लाग्ने कुरा हुँदैन । तर,प्रतिष्ठानले कारवाही गर्ने होइन, आग्रह गर्ने हो ।’

शर्माले भने-‘ एउटा व्यक्ति बौलाउछ भने अरु चुप लागेर बस्ने कुरा हुँदैन । आज हामी चर्चित लोकगायिकाहरुलाई बोलाएर यस बिषयमा छलफल गर्दैछौ । यसपछि, केही कदम चाल्ने निर्णय गर्छौ ।’

शर्माका अनुसार अहिले प्रतिष्ठानका कुनै पनि सदस्य ज्योतीसँग सार्वजनिक कार्यक्रममा जान छाडेका छन् । आफूहरुले ज्योतीसँग सार्वजनिक कार्यक्रम नजान भनेको चन्द्रले बताए ।

ज्योती मगर त एउटा प्रतिनिधी पात्र हुन् । लोकगीतका नाममा छाडापन भित्राउन केही भिडियोका निर्देशक, मोडल, गायक-गायिका नै अगाडि छन् । युटुबमा मेरो गीतको म्यूअर्स यति बढ्यो र उती पुग्यो भनेर धाक लगाउन फेरि उनीहरु नै पछि पर्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment