Comments Add Comment

राष्ट्रवादको अपव्याख्याः भीमसेन थापादेखि केपी ओलीसम्म !

'राजीनामा नै केपी ओलीको सच्चा राष्ट्रवाद हो'

अहिले निवर्तमान प्रधानमन्त्री केपी ओलीको सर्वत्र चर्चा छ । आफ्नो उखान टुक्का र ठट्यौलीपूर्ण अभिव्यक्तिका लागि चर्चामा रहने ओली यसपटक भने व्यवस्थापिका संसदमा राजीनामा दिँदाको भाषणका लागि चर्चित छन् ।

Arun-Kumar-Subediओलीकै सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म कहीँकतै उल्लेख नभएका विकासका सपनाहरुका लागि धेरैले केपी ओलीलाई सम्झिइरहेछन् । उनका त्यस्ता केही सपनाहरुको प्रशंशा यस पंक्तिकारले पनि गरेकै हो । तर, अहिलेको राजनीतिक बजारमा उनको खासियत भने उनले लिएको राष्ट्रवादी अडान र धारणा रहेको छ । यसलाई आधार बनाएर निकै विद्वान र गहन व्यक्तिहरुको भावना पनि तरल भएका अभिव्यक्तिहरु सामाजिक सञ्जाल र सञ्चार माध्यममा यत्रतत्र देखिएका छन् ।

राजनीतिक कुटनीतिको जटिलताका बावजुद जहिले भावनामा मात्र बहकिएर आफ्नो अभिमत व्यक्त गर्ने सामान्यजनको त कुरै छाडौं, यस अर्थमा केपी ओलीले लिएको अडानलाई राष्ट्रवादको उत्तम नमूनाका रुपमा सर्वप्रचारित भएपछि पंक्तिकारलाई पनि नेपालका चल्तीका राष्ट्रवादी भावना र नेपाल राष्ट्र एवं जनतालाई त्यसले पुर्‍याएको लाभ-हानीको कसीमा एकपटक फेरि विश्लेषण गर्ने उत्कण्ठा उत्पन्न भयो ।

अहिलेको प्रौढ पिँढीदेखि पढ्दै र बढ्दै गएको किशोर पिँढीसम्मले भीमसेन थापाका बारेमा एउटै प्रकृति र प्रवृतिको इतिहास पढेको छ । यसको स्रोत खासगरी राजा महेन्द्रका पालामा दरवारिया पृष्ठपोषणमा लेखिएको इतिहास नै हो । यो इतिहासको ठीक विपरीत व्याख्या एवं ठहर छ, इतिहासकार बाबुराम आर्चाय र पछिल्लो पिढीँका केही इतिहासकारहरुको । तर, त्यो इतिहास भने जसले स्वध्यायन गर्छन् तिनले मात्रै पढिरहेछन् । सरकारी आधिकारी स्तरबाट पढाइरहिएको छैन । बाबुराम आर्चायको इतिहासलाई आधार मान्दा भीमसेन थापाको छवि अहिलेको इतिहासमा पढाइएजस्तो पटक्कै छैन ।

यसक्रममा मलाई एउटा गम्भीर प्रश्नले लामो समयसम्म सताइरहेथ्यो आखिर आफ्नै पूर्वजहरुलाई खोपीमा राखेर र दरबारभित्रकै पारिवारिक व्यक्तिहरुलाई उपयोग गरेर सधैं आफ्नो हातमा शक्ति राखिरहने भीमसेन थापाप्रति राजा महेन्द्रको त्यत्रो अनुराग के कारणले उत्पन्न भयो ?

भीमसेन थापा कसरी शक्तिमा आए ?

मेरो मनमा लगभग ढेड दशकदेखि उत्पन्न यो प्रश्नको उत्तर नेपाली सेनाको इतिहासमा विध्ाावारिधि गर्नुभएका अवकाशप्राप्त जनरल प्रेमसिंह बस्नेतले दिनुभयो । जुन शाह वंशको इतिहासका लागि अलि अपमानजनक पनि रहेछ ।
पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाह त्ात्कालीन अवस्थामा राजा हुन लायक थिएनन् । त्रान्त्रिककहाँ त्रन्त्र साधनाका लागि जाने र आठै प्रहर रक्सी पिइरहने अनि अलिअलि तनबल आउनासाथ तन्त्र साधनाका नाममा काम-अभ्यासमै लिप्त रहन्थे प्रतापसिंह ।

Bhimsen-Thapa

अनवरत नशा र अत्यधिक यौनका कारण उत्पन्न दुर्बलताले प्रतापसिंहको अल्पायुमै निधन भयो । उनका पुत्र रणबहादुर शाह झनै यौन मुद्दाका कारण अर्धपागल नै रहन्थे । अस्वाभाविक यौन चरित्र र अस्वाभाविक आकारको यौनाङ्गका कारण रणबहादुर उन्मत्त भैरवका राज अवतार थिए । उनको नजिक पर्नासाथ रानीहरु रोईकराई गरेर भाग्न चाहन्थे ।

राजाको यो अवस्थाप्रति चिन्तित दरवारिया वैद्य, अझ काम-विधाका ज्ञाताहरु राजाका निम्ति उपयुक्त स्त्रीको खोजीमा लागिरहन्थे । यसैक्रममा आफ्ना पतिको मृत्युका कारण पशुपतिमा शतविज छर्न आएकी मैथिल विधवा ब्राम्हणीमाथि दरवारियाहरुको नजर पर्‍यो ।

ठूलो प्रयत्नपछि रणबहादुर शाहकी जेठी महारानीले गोर्खा लगेर ती विधवा ब्राम्हणीसँग आफ्नो पतिको विवाह गराइदिइन् । तिनै महारानीबाट गिवार्णयुद्ध विक्रम शाह जन्मिए । तर, सुत्केरी महारानीमाथि अधैर्य राजाले बारम्वार गमन गरेपछि भएको रक्तस्रावले ती महारानीको मृत्यु भयो ।

महारानीको जीवन रक्षाका लागि गरिएका तान्त्रिक, वैद्य र देवकार्य केहीले काम गरेन । आफ्नो रेहक्षुधा तृप्तिका लागि मन परेकी महारानीको मृत्युवाट थप विक्षिप्त बनेका रणबहादुर शाहले देवधामको अपमान गर्न शुरु गरे । पशुपतिनाथको शिवलिंगमा कोपरा खन्याउने र गुहेश्वरीमा बाँस हाल्ने जस्ता काम गर्न गराउन थाले । यस्ता विक्षिप्त रणबहादुरलाई उपयोग गरेर भीमसेन थापा सत्ताको शिखरमा पुगे ।

भीमसेन थापाले गिर्वाणयुद्धविक्रमको वचपनलाई भरपूर उपयोग गरे । पछि भीमसेन थापाद्वारा स्थापित भारदारहरुको गुटद्वन्द्वलाई अन्त्य गर्दै जगंबहादुरले राणा शासनको शुरुवात गरेका हुन् । त्यसपछि राणाहरुले शाहहरुलाई माथिका दुई राजाहरुसहित पछिका केही सन्की राजाहरुको उदाहरण दिएर बारम्बार अपमान गर्ने गर्थे । वर्णशंकरजस्ता अपमानजनक शब्द प्रयोग गर्ने गर्थे ।

वि.सं. २००७ सालअघिको आफ्नो जीवनमा यो अवस्था प्रशस्त भोगेका महेन्द्रले आफू राजा भएपछि आफ्ना पूर्वजलाई महिमाहित गर्ने अभियानमा लागे, जसका कारणले पहिले भीमसेन थापालाई महिमान्वित गर्नुपर्ने अवस्था आयो । यसैअुनसार दरबार पोषित इतिहास निर्माण भयो ।

माथिको यो विवरण अवकाशप्राप्त जनरल डा. प्रेमसिंह बस्नेतको कोट-अनकोट कथन हो । यो लेखक केही मामलामा राजा महेन्द्रको प्रशंसक पनि हो भने केही मामलामा कटू आलोचक । तर, महेन्द्रजस्तो गम्भीर प्रकृतिका राजाले इतिहासलाई यथारुपमा नछाडेर किन यसरी लेखाउनेतर्फ लागे ? मेरा लागि अझै पनि यो जिज्ञासाको विषय छ । त्यस्ता बहुलठ्ठी पूर्वजका कारण महेन्द्रको शीर्षस्थतामा कुनै असर त पर्ने थिएन । तर, पनि एउटा निर्देशित इतिहास लेखियो, जसका आधारमा आजको आम भावनासमेत निर्माण हुन पुगेको छ ।

भीमसेनको राष्ट्रवाद

राजा महेन्द्रबाट प्रक्षेपित भीमसेन थापाको राष्ट्रवाद कस्तो थियो र त्यसले नेपाललाई के दियो ? यो गम्भीर प्रश्नको उत्तर आजको केपी ओलीजीको राष्ट्रवादी छविको चर्चामा सान्दर्भिक हुन जान्छ ।

राष्ट्रवादको तटस्थ मानक र नेपालको विशिष्ट जातीय क्षेत्रीय स्वरुपका आधारमा वीपी कोइराला र राजा महेन्द्रको अलग-अलग सोच प्रष्ट देखिन्छ । तीमध्ये कुनले राष्ट्रियता सबल हुन सक्थ्यो र सक्छ भन्ने विवाद लामो हुन सक्छ

आफ्ना पूर्वजहरुको कृत्रिम महिमा निर्माण गर्दा भीमसेन थापाद्वारा गरिएका धेरै गल्तीहरु औचित्यपूर्ण सत्कार्यका रुपमा रुपान्तरित भए । जसको हठ अदुरदर्शिता र कुटनितिक अक्षमताले नेपालले एक तिहाइ भन्दा बढी भूभाग गुमाउनुपर्‍यो, यस्तो नेपाल निर्माणपश्चात राष्ट्रले भोगेको सबैभन्दा ठूलो आघातका कारणीलाई राष्ट्रवादको पहिरन भिराएर महिमान्वित गर्ने काम भयो ।

बहुलठ्ठी र बालक राजाहरु अनि तिनका संरक्षकहरुलाई आफ्नो पकडमा लिएर एकछत्र राज्यशक्ति उपयोग गर्न सक्षम भीमसेन थापाले बुद्धि पुर्‍याइदिएका भए आजको नेपालको भूगोल कस्तो र कत्रो हुने थियो ? त्यतिमात्र होइन, उनको कालसम्म तात्कालीन पश्चिम नेपालमा विद्रोहहरु उठिरहे । तर, नेपालको हारपश्चात नेपालमै रहनका लागि आवाज उठ्नु त कता हो कता, लेखिका शिवानीका अनुसार त्यसक्षेत्रमा मुक्ति उत्सव मनाइयो रे ।

अर्थात, यसले प्रष्ट पार्छ, आफ्नो आन्तरिक छविका कारणले पनि राष्ट्र विखण्डनको विजारोपण भएको रहेछ भीमसेन थापाका पालामा । त्यस्तो इतिहासमा प्रमाणित सत्यका वावजुद भीमसेन थापालाई राष्ट्रवादको रोलमोडेल मान्नेहरु धेरै छन् ।

तिनको कृत्रिम इतिहासका प्रायोजक राजा महेन्द्रलाई सर्वोत्तम राष्ट्रवादी मान्ने त झनै बढी छन् ।राष्ट्रवादको तटस्थ मानक र नेपालको विशिष्ट जातीय क्षेत्रीय स्वरुपका आधारमा वीपी कोइराला र राजा महेन्द्रको अलग-अलग सोच प्रष्ट देखिन्छ । तीमध्ये कुनले राष्ट्रियता सबल हुन सक्थ्यो र सक्छ भन्ने विवाद लामो हुन सक्छ ।

भीमसेन थापा र जंगबहादुरमा पनि राष्ट्रको सार्वभौम पहिचान स्थापना गर्न विपरीत किसिमका कार्यहरु छन् । तीमध्ये कुनले नेपाललाई फाइदा दियो ? यसको विवेचना र ठहर पनि बहसको ठुलै विषय हुन सक्छ ।

यी सबै एउटा आलेखमा पुरा हुने विषयहरु होइनन् । तर, लामो समयदेखि नेपालमा स्थापित राष्ट्रवादको मूलप्रवाह असहमतिहरुको निशेष र पहिचानहरुको निशेष गरी ‘एउटा भाषा एउटै भेष, एउटै जाति एउटै देश’ बनाउने कि सबैको सहभागिता र सहअस्तित्वको समावेशी राष्ट्रियताको आधार निर्माण गर्ने ? यो द्वन्द्व पहिलेदेखि रही आएको छ र आज निकै उत्कर्षमा छ ।

राजीनामा नै ओलीको सच्चा ‘राष्ट्रवाद’ हो

यही द्वन्द्वको शिथिलीकरणमा भन्दा वृहतीकरण गरी माथिको पहिलो मान्यतामा आधारित राष्ट्रवाद नै मूलप्रवाह हो भन्ने सोचबाट वर्तमान वातावरण निर्माण भइरहेथ्यो, जुन धरातलका नायक बनिरहेथे केपी ओली ।

KP Oliभीमसेन थापालाई महानायक मान्ने र राजा महेन्द्रलाई मात्रै सच्चा राष्ट्रवादी ठान्नेहरुको भावना केपी ओलीजीले साँच्चि नै जिते ।

ओलीजीले अनधिकृतरुपमा उठाएका विकासका केही सपनाहरुको ठूलै प्रशंशक हो यो लेखक । उनले उठाएका ती सपना किन अनधिकृत हुन् भने ती उनीसमेतले निर्माण गरेका राष्ट्रको नीति तथा कार्यक्रमसँग सम्वन्धित कुनै दस्तावेजमा छैनन् ।

तर, उनले अहिलेसम्म देखाएको राष्ट्रवादको अडानको रुप र त्यसैको पृष्ठभूमिमा अंगीकार गरिएको चोथाले र उत्तेजक परराष्ट्र नीतिको भने म कटू आलोचक रही आएको छु ।

यति हुँदाहुँदै पनि उनले गरेको अन्तिम निर्णय अर्थात राजीनामा र अर्को सरकारका लागि मार्गप्रशस्त गरिदिने कामचाँहि सबै भन्दा बढी राष्ट्रवादी भयो भन्ने विश्लेषण छ मेरो । उनको शासनमा मधेस वहिष्करणमा पर्‍यो र राष्ट्रिय राजनीतिको मूल प्रवाहवाट एक थरी जनता र राजनीतिक शक्ति अलग बस्न बाध्य भए । विस्तारै उत्ताउलिएको एकांगी राष्ट्रवादबीच राष्ट्र विखण्डनको सम्भावना बढ्दै गएको थियो । यदि यो द्वन्द्व अझ बढेको भए नेपालको विभाजनको सम्भावना निकै प्रवल भइसकेको थियो । अहिले पनि सायद अन्तरिम विश्राम मात्रै हुन सक्छ ।

भीमसेन थापाको ढिपीले खण्डित भनेको नेपाल अर्काे ढिपीले फेरि टुक्रिन सक्थ्यो । तर, यो स्थितिलाई केपी ओलीले राम्ररी भाप्ने काम गरे । संविधानको अर्कमण्यतालाई औजार बनाएर उनले सत्ता ओगटिरहन सक्ने थिए । व्यवस्थापिका संसद पनि विघटन गर्न सक्थे । यही संविधान ‘वाइमर’ संविधानको नेपाली संस्करण हुन सक्थ्यो । उनले यी सबै कार्यतर्फ लाग्ने कोशिस् गरेनन् । सबैले सोचेको भन्दा सहज र कम कटुतामा राजीनामा दिए ।

परिणामस्वरुप मधेसका राजनीतिक शक्तिहरु राष्ट्रिय राजनीतिको मूल प्रवाहमा समावेश भई वैधानिक बाटोमा आएका छन् । यसले राष्ट्रियता दह्रो भएको छ ।

एकातर्फ भीमसेन थापापन्थी र महेन्द्रवादीको नेता केपी ओली हुन पुगे भने अर्कातर्फ बाहिरिएकाहरु मूल प्रवाहमा आउन शुरु गरे । दुबै पक्ष एकअर्काका प्रतिपक्ष भएर प्रजातान्त्रिक सहकार्यमा रहने वातावरण बनेको छ अहिले ।

यो लेखक केपी ओलीको राष्ट्रिय अखण्डता अक्षुण राख्ने यो कदमलाई सर्वाधिक राष्ट्रवादी ठान्दछ, पूर्ववत् ‘पोस्चरिङ’मा रहेर एउटा भूखण्डमा पृथकतावादी सोच मौलाउने हदसम्मको उत्तेजनात्मक अडानलाई हैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment