Comments Add Comment

लोकमानज्यू ! तपाई किन बोल्नुहुन्न ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह विरुद्ध महाअभियोग लगाई संसदले पदमुक्त गर्नुपर्ने प्रा.डा.गोविन्द केसीको माग संसदको परीक्षा थियो भने त्यो रद्द प्रायः भैसक्यो ।

डा. केसीको भोक हडताल टरे पनि जारी छ आन्दोलन । बरु यो प्रकरणमा अख्तियारलाई हुतिहारा बनाउने प्रपञ्च जारी छ । आफ्नै सार्वभौम अधिकार अनुसार वारपार गर्न नसक्ने असक्षम संसद, पद र संस्थाको छातामुनीबाटै छापामार प्रत्याक्रमण गर्ने लोकमान शैली दुबै अख्तियार सिध्याउने प्रपञ्च सावित हुँदैछन् । र, यो मौसम भ्रष्टाचारका पक्षपातीहरुलाई बन्दैछ स्वर्णकाल । यही हो, सबैले चिन्ता गर्नुपर्ने चुरो कुरो ।

सूर्य खड्का
सूर्य खड्का

घुमाई फिराई जति कुरा गरे पनि सम्पूर्ण रुपले लोकमानको पदमुक्तिको रिङमा घुमेको डा. केसीको आन्दोलनबारे जसरी स्वस्थ्य क्षेत्र, सञ्चार माध्यम, राजनीतिक दलको कित्ता विभाजन भैरहेको छ, यो न आन्दोलन सार्थक हुने संकेत हो, न त  लोकमानले हाइसञ्चो गर्न पाउने संकेत हो । बरु हो त लोकमानको रीसले अख्तियार निरीह बन्दै जाने मेलो मात्रै हो । सौताको रीसले पोइको काख बिगार्ने आख्यानसँग मेल खाँदैछ, अख्तियार प्रमुखको विरुद्धमा उत्रेको आन्दोलनको असर अख्तियारमा परेको प्रष्टै छ ।

यो प्रकरणको सरल निकास सीमित छन । पहिलो संसदले कार्कीमाथि संवैधानिक प्रवन्ध अनुसार महाअभियोग लगाइदिनुपर्छ । दोस्रो स्वयं कार्कीले राजीनामा दिनुपर्छ  । यी दुबै निकास मीठा कल्पना हुन् । किनकि यो त्रिशंकु संसदले त्यो तहको एक्सन लिने औकात राख्ला भनेर अरु त अरु स्वयं डा. केसीलाई पनि विश्वास छैन । उनले शुसासन समितिलाई लोकमानको मतियार भनी बयान दिन नजानु त्यसैको प्रमाण हो ।

शुसासन समितिले बोलाउदा घाँटी दुखेर जान नसकेको बताएका लोकमानविरुद्ध सोही समितिले फेरि बोलाउने आँट नगर्नुको सिधा अर्थ हो समितिले थप कारवाहीको आँट गर्न सक्दैन । कांग्रेस सांसदद्वय गगन थापा र धनराज गुरुङ तथा माओवादी सांसद श्याम श्रेष्ठले संसदमा दर्ता गराएको लोकमान विरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावबारे पनि छलफल नहुने अड्को अनसनको समाप्तीसँगै भैरहेका छन् ।

त्योभन्दा पनि खतरनाक सन्देश के हो भने सांसदहरु नै विभक्त भएर लोकमानको वकालत गर्न थालिसकेकाले यो प्रकरण करायो करायो खै के हरायो भन्दा भिन्न हुने देखिन्न ।

राजीनामा र लोकमानको भेटघाटको कल्पना गर्न सकिन्छ, अरु केही गर्न सकिन्न । किनकि यो लोकमानको तजबिजी अधिकार हो । त्यसैले अब लोकमानले नै यो प्रकरणमा मुख खोले केही सजिलो होला नै ।

किन मुख खोल्ने लोकमानले ?

खासमा लोकमानसिंह कार्की एक व्यक्ति, प्रवृत्ति मात्रै हैन, संस्थामा पनि संवैधानिक संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त भएकाले उनले नबोल्नुको तुक छैन । एउटा संवैधानिक संस्था जनताप्रति आफ्ना प्रमुखमाथि लागेका जायज वा नाजायज आरोपबारे बेखबर बस्ने तौरतरिका न जवाफदेही अख्तियारको परिचायक हो, न त आरोपित प्रमुखका लागि नै शोभनीय सवाल हो । हावा नचली पात हल्लिन भन्छन् । कुरो केही गडबड नभाइकन काठमाण्डौं विश्वविद्यालयका पदाधिकारीहरुले सुशासन समितिमा हारगुहार मागेका पक्कै हैनन रहेछ । त्यो कुरो अब लोकमानले नै स्पष्ट पारिदिनुपर्छ, संस्थाको गरिमा र पदीय मर्यादाको सम्मान गर्न ।

आरोप लाग्नु, बात लाग्नु नै दोषी करार हुनु हैन नै, हुन पनि सक्दैन । अनि आफूमाथिका तमाम आरोपको प्रतिरक्षा, प्रतिवाद गर्न किन डराउने त्यत्रो समानान्तर सत्ता चलाउने महारथी भनी सम्वोधित प्रमुख आयुक्त ? फेरि आरोप व्यक्ति, समूह, संस्था र समाज हुँदै नेता, सांसद, संसदीय समिति र संसदमै पुगिसक्यो ।

जरुरी सार्वजनिक महत्वको प्रश्तावका रुपमा संसदीय छलफलको कार्यसूचिमा परेको विषयमाथि मुख्य सरोकार व्यक्ति र संस्था प्रमुखका नाताले प्रतिवाद वा प्रत्युत्तर गर्न अब कुनै थप ऐन नियमका पाना पल्टाई राख्न नपर्ला नि, पर्ला र ?

आरोप लाउनेहरु संगठित, शसक्त र थप बलशाली हुँदै जादा आरोपीले साँध्ने मौनता न स्वीकारोक्ति हो न खारेजी ? कसरी बुझ्ने बलियो, निष्पक्ष र कामकाजी अख्तियारका पक्षपाती जनताले ? यो डा. केसी र लोकमानको साढे जुधाइमा अख्तियारको बाच्छा मिचाइ गर्ने प्रवृत्तिमा बिराम आवश्यक छ । किनभने लोकमान वा गोविन्दमानहरु जुधिरहँदा अख्तियार निम्छरो हुनु हुन्न धेरैकाल । अख्तियारलाई नै एक प्रमुखका कारण सधैं बिलखबन्दमा पारिनु हुन्न अब कम्तिमा ।

लोकमान सिंह कार्की
लोकमान सिंह कार्की

दलहरुले बिट मारे, सांसदले माछो मार्ने छाँट छैन 

जनतालाई राम्रैसँग हेक्का छ, लोकमानमाथि उठेका औंलाहरु उठ्नुपर्ने कांग्रेस, एमाले र माओवादीका प्रमुखहरुमाथि हो । तर, राजनीतिमा त्यो साहस न सामाजिक अभियन्ताहरुको छ, न अरुकै । डा. गोविन्द केसीहरुको जुलुस र र्‍याली सानेपा, पेरिसडाँडा वा धुम्वाराही दरबारतिर जान सकेन, जाने आँट पनि देखिएको छैन । केबल माईतीघर बानेश्वर सडक खण्डको यो र्‍याली र जुलुसको तार्किक सम्वोधन जब कांग्रेस, एमाले र माओवादी लगायतले नगर्ने भएपछि सबैतिर अग्रसर भैदिने लोकमान नै अग्रसर किन नभैदिने त ?

गगन थापा, धनराज गुरुङ र श्याम श्रेष्ठको साहसलाई अपवाद मान्ने हो र रविन्द्र अधिकारीहरुको समर्थनलाई प्लस प्वाइन्ट मान्ने हो भने लोकमान विरुद्धको आरोप उनको सामाजिक लोकपि्रयता खुइल्याउने र उनलाई आम रुपमा पंगु बनाउन काफी भाको छ । तर, पनि डा. केसीले गरेको मागको पूरापूर सुनुवाइ हैन यो । त्यो तहसम्म यो मुद्दा पुग्ला भनेर किन अनुमान गर्न सकिन्न भने कांग्रेस केन्द्रीय समिति बैठकले डा. केसीका मागका सन्दर्भमा पछिल्लो केन्द्रीय समितिले गरेको निर्णयले यो मागको बीट नै मारिसकेको छ ।

डा. केसीले उठाएका मागहरुमध्ये राजनीतिक मागमा कांग्रेस केन्द्रीय समितिले राखेको विमति गगन र धनराजहरुको हाईहाईती बढाउने उर्जा हो । तर, संसदबाट कार्कीविरुद्ध महाअभियोग लाग्ने चुरो कुरोको चारतारे खारेजी नै हो । यस पृष्ठभूमिमा आफै बोले भने लोकमान उनकै मान बढ्ने हो ।

एमाले सुरुदेखि नै लोकमानको पक्षमा छ । डा. केसीले मनमोहन अस्पतालको विरुद्ध जेहाद छेड्दा प्रतिरक्षात्मक बनेको एमाले आश वा त्रास जे भए पनि लोकमानविरुद्ध छैन । स्व. शुसील कोइराला, प्रचण्ड र केपी ओलीको दस्तखतमा नै उनको नियुक्ति भाको हो ।

एमालेका एकाध नेतावाहेक पार्टी वा सांसदले कार्कीविरुद्ध महाअभियोगको जेहाद छेड्ने न संकेत देखिन्छ न सम्भावना । मात्र मनमोहन मेडिकल कलेज बचाउन पाए पुगेको छ एमालेलाई । उनीहरुले खुलेरै गोविन्द केसीविरुद्ध डा. भोला रिजालहरुसँग सहयात्रा थालिसकेका छन् ।

माओवादीले यो मुद्दामा आफू कहाँ कसरी सुरक्षित हुने भन्नेबाहेक थप जोखिम लिने चान्सै छैन । यसको संकेत सांसद प्रभु शाहहरुले दिइसके । अख्तियारका कमी कमजोरी सच्च्याउनुपर्ने तर, अख्तियारलाई बलियो बनाउनुपर्ने शाहको प्रतिनिधि अभिव्यक्ति माओवादी लोकमानविरुद्ध आक्रामक नहुने पूरापूर प्रमाण हो । सभामुख ओनसरी घर्ती पिजन हलमा रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई अग्राधिकार दिन नकस्सिनुको अर्थ सभाध्यक्षमाथि नेता पति वर्षमान पुनहरुको छायाँ परेको उदाहरण नै हो ।

लोकमानजतिको पहुँच, प्रभाव, उचाइ भएको व्यक्तित्वले, जो उनकै शव्दमा आध्यात्मिक भावले पनि ओतप्रोत छन, भने किन आफू विरुद्ध मूर्दावाद भन्नेहरुलाई सम्वोधन गर्न सक्दैनन् ?

बोल्दा नै जाति  श्रीमान ?

भनाइ नै छ, उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हांगा नझुकेको कहाँ छ र ? हो, लोकमानजतिको पहुँच, प्रभाव, उचाइ भएको व्यक्तित्वले, जो उनकै शव्दमा आध्यात्मिक भावले पनि ओतप्रोत छन, भने किन आफू विरुद्ध मूर्दावाद भन्नेहरुलाई सम्वोधन गर्न सक्दैनन् ?

भारतीय धर्मगुरु पाइलट बाबाको सरसंगत र दीक्षाले निकै परोपकारी बनेका भनिएका यो स्तरका संवैधानिक प्रमुखले आँट्नु पर्‍यो नि मैले ढाँटेको छैन भनेर भनेर भन्न त । लोकले उठाएका प्रश्नमाथि उत्तर दिनुपर्ने अब लोकमानले नै हो, उनले सधै संस्थासँगै आफैंलाई जोगाउन खोजेर मात्रै हुँदैन ।

‘बात कर्ने से बात बन्दी है’ भनिन्छ । आफूमाथिका आरोपबारे हो भने हो, हैन भने हैन । तर खास चाहिँ के हो भन्ने दूधको दूध पानीको पानी पार्न पनि शरीरको कद, अख्तियारको संवैधानिक पद, विचार र जनउत्तरदायी भैदिनुपर्ने शिखर व्यक्तित्वका हिसाबले मौनतामा क्रमभंगता जरुरी छ, भूपालमानसिंह कार्कीका पुत्रको हैन, अख्तियारका प्रमुख आयुक्त कार्की श्रीमानको ।

बोल्नुस श्रीमान् अब बोल्नुस् । मुख खोल्नुस् । सुशासन समितिले छलफलका लागि बोलाउँदा तपाई घाँटी दुखेर जान नसक्ने तर त्यसको चार दिनमै साउन १५ गते एउटा टीभीको वाषिर्कोत्सवमा त सशरीर हसिलो खुसिलो कसरी प्रस्तुत हुन सक्नु भयो नि ? यही हो तपाईको दावी र दम्भको द्धैध चरित्रको प्रमाण ।

हुन त आफूलाई अप्ठयारो पर्दा त्यो टीभीले तपाईलाई सम्झेको पनि होला वा तपाईले अख्तियारको वाषिर्कोत्सवमा एभिन्यूजलाई गरेको सम्मानको गुन तिरेको पनि होला । तर, तपाईलाई सिंहदरवारको शुसासन समितिभन्दा टीभीको कार्यलय नजिक लागेको हजम भा छैन जनतालाई । त्यसैले संसदीय समितिहरु म्ाार्फत नै बोल्नु नै पर्छ श्रीमान अब त । टीभीमा तपाईलाई देख्दा जनतालाई फ्ल्यासब्याक भाको के मात्रै हो भने संकटमा यस्तै पात्र सम्झन्छ त्यो टीभी ।

वाइसिएलले कालो मोसो दलेका बेला व्यांङक डिफल्टर भनिएका सीताराम प्रसाईले प्राण भरिदिएको टीभीलाई अहिले तपाईले थप उर्जा दिनु भाको हो हैन ? जनता जान्दैन्न । तर, एकाध मिडियाका अतिथि र आहर बनेर मात्रै अब उम्किन नसक्ने गरी मुद्दाको आयतन बढी सक्दा संस्थालाई मात्रै ढाल बनाएर उन्मुक्ति मिल्दैन श्रीमान ।

कांग्रेस, एमाले र माओवादी अध्यक्षहरुको सहमति,संवैधानिक परिषदको सिफरिसमा राष्ट्रपतिबाट  ६ वर्षका लागि प्रमुख आयुक्तमा नियुक्त कार्कीले पूर्ण कार्यकाल जिम्मेवारी सम्हाल्नेमा प्रश्नवाचक चिन्ह लागिसक्या छ । तर, उनलाई त्यही वीच पनि हटाइहाल्ने हुति संसदले देखाउन सकेको छैन ।

हालका दिनमा कार्कीका विरुद्धमा सडकमा जे जे देखिन्छ, त्यस आधारमा उनले केही बोल्नैपर्ने देखियो । उनलाई चोर औंला ठडयाउनेहरुले केही सुन्न चाहे, देख्न चाहे । तर, उनको मौनताले त्यो सबै अधुरै अपुरै रहयो । तसर्थ अब बोल्ने पालो उनकै हो ।

कार्यकाल त गफै न भो सप्पै श्रीमान ? 

लोक जान्दछ, अख्तियार स्वतन्त्र संवैधानिक निकाय हो, जसले भ्रष्टाचारको नियन्त्रण र रोकथामसम्बन्धी जिम्मेवारी निर्वाह गर्दछ  । तर, उनलेे फिफाले भ्रष्ट सर्टिफाईड गरेका एन्फा अध्यक्ष गणेश थापालाई किन कारवाही गरेनन् ? के फिफाले कारबाही गरिसक्दा र संसदीय समितिले कारबाही गर भनेर लेखी पठाउँदा पनि लोकमानका लागि गणेश थापा निर्दोष नै हुन् ? हुन् भने त्यो पनि प्रष्ट भनिदिनु नि, किन मुल्तवीमा राख्नु मुद्दा ?

“भ्रष्टाचार एक विषालु सर्पजस्तै हुन्छ । सर्पको विषले मानव शरीरलाई नै विषाक्त बनाएझैं भ्रष्टाचारले समाज र राष्ट्रलाई हानी पुर्‍याउने हुनाले यसको नियन्त्रण अनिवार्य र अपरिहार्य छ” भन्ने विलियम शेक्सपियरको भनाइबाट आफूलाई प्रभावित दावी गर्ने कार्कीले समाजलाई भ्रष्टाचारको दुष्प्रभाव र यसका सम्भावित जोखिमहरुबाट मुक्त गराउन भनी गरेका सबै प्रण त आखिर गफाडीका गफ नै बने । अनि किन ठूला कुरा मात्रै गर्नु र अब ? के केही मीडियाहरु दाहिना बनाएकै भरमा सबै कुरा पचाइदिने सुर हो र ? त्यसो हो भने झन भूलमाथि महाभुल भै जानेछ श्रीमान ।

Lokman-Sing-Karki‘भ्रष्टाचार जुनसुकै परिमाण र मात्रामा भए पनि अपराध नै हो र सार्वजनिक पदाधिकारीले आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु आफैंप्रति र राष्ट्रप्रतिको धोका हो’ भन्ने श्रीमानका गफ आफैमाथिका बातको राफसाफ गर्नमा पनि लागू हुनु परयो नि । परोइन र ?

संसदमा जरुरी सार्वजनिक महत्वको विषय बनिसकेको विषयमा तपाई कतिञ्जेल मौन बस्ने त श्रीमान ?

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, स्थानीय विकास लगायत पूर्वाधार निर्माण, वैदेशिक रोजगारी तथा अध्यागमन, राजस्व प्रशासन, प्राकृतिक श्रोत साधन एवं सर्वसाधारणको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय र क्षेत्रमा देखिएका अनियमितता र विकृतिहरु नियन्त्रण गरेका तपाईका प्रतिवेदनका ठेलीहरु झेलीका पुलिन्दा हैन्न भने, संसदलाई छाती फुलाएर मुख फर्काइदिनुस । देश तपाईलाई सुन्न आतुर छ । हैन भने लोकले मान्दै छैन श्रीमान, श्रीमानका कथनी र करणीमा आनका तान फरक भाकैले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक तपाईलाई गाली गर्ने मानव सागरमा त्यत्तिकै रुपान्तरित हुँदैछन ।

श्रीमानलाई प्रमुख आयुक्त पाएपछि सर्वसाधारण नागरिकहरुमा आयोगप्रतिको अपेक्षा बढेकै देखियो । समाजका सबै क्षेत्रका मान्छे स्वतस्फूर्त तपाईविरुद्ध मात्रै यसरी अरिंगालको गोलोझैं खनिनु भनेको तपाईको करिष्मेटिक नेतृत्वको उपज शिवाय केही हैन होला । त्यसैले आफ्नो करिष्मेटिक प्रत्युत्तर सुनाइदिनुस श्रीमान लोकलाई ।

आयोगमा प्राप्त हुने उजुरीहरुको संख्या वृद्धि हुने तर  कारवाही त स-साना खरदार सुब्बा बाहेक अरुलाई नहुने नजिरको स्पष्टोक्ति पनि श्रीमानले दिए जनता धन्य हुने थिए । तपाईभन्दा माथि अख्तियार कि अख्तियारभन्दा माथि तपाई ?

भन्दिनुस् न श्रीमान अब त । डा. केसीको स्वरुप फेरिएको आन्दोलनको एजेण्डा ज्युँदै छन् र उनलाई पागल करार गर्ने तपाई नै अब आफू पानीमाथिको ओभानो हुनुको प्रमाण बर्षाउनुस् श्रीमान् । संस्थालाई मुकुण्डो बनाएर अख्तियारलाई सिध्याउने खेती सकौं न अब त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment