Comments Add Comment

मुलुकको अधिकांश क्षेत्र दातामै निर्भर

Ministry-of-Finance२७ साउन, काठमाडौं ।  मुलुकको शान्ति–सुरक्षादेखि धर्म–संस्कृतिका क्षेत्रमा समेत दातासँग निर्भरता बढ्दै गएको देखिएको छ । मुलुकभित्रै करको दायरा बढाई सार्वजनिक खर्चमा आत्मनिर्भर बनाउनुपर्नेमा दातामाथिको निर्भरता बढ्दै गएको हो ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको चालू आर्थिक वर्षको व्यय अनुमानको विवरण पुस्तकमा उल्लेख भएअनुसार नेपालको रक्षाबाहेक अन्य सबै सेवा तथा कार्यगत क्षेत्रमा वैदेशिक अनुदान र ऋण प्रवाह भएको छ ।

चालू आर्थिक वर्षको ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार रुपैयाँ चालू खर्च अनुमान गरिएकोमा राजस्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख मात्रै व्यहोर्न सकिने सरकारले बजेट वक्तव्यमै उल्लेख गरिसकेको आजको कारोबार दैनिकमा समाचार छ ।

यस हिसाबले मुलुकमा उठ्ने राजस्वले चालू खर्च समेत नधान्ने स्थितिमा मुलुक पुगिसकेको छ । चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ४३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ऋण र अनुदान गरी दातृ सहायताबाट २ खर्ब ७२ अर्ब ६१ करोड २१ लाख ४८ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ ।

राजस्वको आकार खासै नबढ्ने तथा कुल सार्वजनिक खर्च (कुल वार्षिक बजेट) मा चालू खर्चको हिस्सा निरन्तर बढ्दै गएपछि अन्ततः सरकारी वित्त व्यवस्थापनमा मुलुक कमजोर देखिएको छ ।

“कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा नेपालले लिएको सार्वजनिक ऋणको अंश दक्षिण एसियामै कम छ, तर सबैखाले सेवा तथा कार्यगत क्षेत्रमा समेत वैदेशिक सहायता फिजाउँदा यसले कूटनीतिक र रणनीतिक दरार उत्पन्न हुन्छ,” अर्थ मन्त्रालयका एक अधिकारीले भने “लगानी र बचत तथा आयात र निर्यातबीचको खाडल पुर्न, विकास वित्त परिपूर्ति गर्न, सीप र प्रविधि भित्र्याउन तथा अन्तर्राष्ट्रिय कूटनीतिक, सांस्कृतिक, व्यापारिक एवं रणनीतिक सम्बन्धलाई राष्ट्रिय स्वार्थ अनुकूल हुनेगरी सहायता परिचालन गर्नुपर्ने हो, तर हामी कर्मचारीको तलबभत्तामै दातानिर्भर भयौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment