Comments Add Comment

नेविसंघ निर्वाचन तालिका पुनः संशोधन, पौडेल पक्ष धर्नामा

nebisang_mahadibesan (2)३१ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ गुट उपगुटमा बिभाजित भएपछि महाधिवेशन प्रतिनिधि विवाद समाधानको प्रयास असफल हुँदै गएको छ । नेताहरुले सहमतिको प्रयास जारी रहेको बताएका छन् । तर, फर्जी प्रतिनिधि समावेश गरिएको दाबी गर्दै आएको रामचन्द्र पौडेल पक्षले त्यसलाई नसच्याए महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएको छ ।

अध्यक्षका दावेदार दिपक भट्टराईले अनलाइनखबरसँग भने, ‘अहिलेकै अवस्थामा निर्वाचन तालिका अगाडि बढ्न सक्दैन । फर्जी मतदाता नहटेसम्म आन्दोलन जारी रहन्छ ।’

फर्जी मतदाता खारेज गर्न माग गर्दै पौडेल पक्षका नेता-कार्यकर्ताहरु पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

भट्टराईले आफूहरु विधिवत महाधिवेशनको पक्षमा रहेको बताए । यसअघि निर्देशन समितिले पत्रकार सम्मेलन गरेर ३४ सय प्रतिनिधि भनेर सार्बजनिकरुपमा बोलेको तर, त्यसको केहि दिन पछि फर्जी प्रतिनिधि संख्या थपेर ३७ सय ६० बनाइएकामा पौडेल पक्षको आपत्ती छ । उनले कुनै एउटा गुट विशेषले नेविसंघ कब्जा गर्न खोजेको आरोपसमेत लगाए ।

‘फर्जी मतदाताहरुलाई राखेर संगठन कब्जा गर्ने षडयन्त्रप्रति हाम्रो घोर विरोध र आपत्ती छ,’ भट्टराईले भने ।

निर्वाचन कार्यक्रम संशोधन

पौडेल पक्षको चेतावनी पछि निर्वाचन कार्यक्रम पुनः संशोधन गरिएको छ ।

यसअघि निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तर, त्यसलाई पुनः संशोधन गरी बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म लम्बाइएको छ ।

मनोनयन दर्ताको समय अवधि लम्बिएसँगै अरु प्रक्रिया पनि प्रभावित भएका छन् । मनोनयन दर्तापछि उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो साढे दुई बजे हुने निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारहरुको नामावली वर्णानुक्रमअनुसार प्रकाशित हुनेछ । नामावली वर्णानुक्रमअनुसार भए-नभएको दावी संशोधन माग गर्ने समय तीन बजेसम्म तोकिएको छ ।

त्यसपछि दोस्रो उम्मेदवारको नामावली प्रकाशन अपरान्ह साढे तीन बजे हुनेछ भने उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध गर्ने समय साढे तीन बजेदेखि साढे चार बजेसम्म निर्धारण गरिएको छ ।

दावी विरोध उपर जाँझबुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन साँझ साढे पाँच बजे र उम्मेदवारीको नामावली फिर्ताको समय साढे पाँच बजेदेखि साढे सात बजेसम्म तोकिएको छ ।

त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन राति ९ बजे हुने निर्वाचन समितिका संयोजक भरत पोख्रेलले बताए ।

मतदान भने मंगलबार बिहान सात बजेदेखि साँझ सात बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । मतदान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment