Comments Add Comment

हवाई इन्धन तीन गुणासम्म महँगो

Nepal-Oil१ भदौं, काठमाडौं । सरकारको चर्को कर र नेपाल आयल निगमले अत्यधिक नाफा राखेका कारण नेपालमा हवाई इन्धनको मूल्य बढी भएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले घटाउनका लागि सरकार गुहारेको छ ।

निगमले उडान गर्ने अन्य गन्तव्यभन्दा काठमाडौंमा इन्धनको मूल्य तीन गुणासम्म महँगो पर्ने गरेको पाइएको छ । अत्याधिक मूल्यका कारण यात्रुलाई प्रत्यक्ष मार परेको तथा आफ्नो प्रतिस्पर्धी क्षमता कमजोर भएको भन्दै मूल्य घटाउन पहल गरिदिन निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गुहारेको आजको कारोबार दैनिकमा समाचार छ ।

निगमले मन्त्रालयलाई पत्र लेखी हवाई इन्धनको मूल्य घटाउन पहल गरिदिन आग्रह गरेको छ । हाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटिर २५ रुपैयाँ खुद नाफा राखेको छ ।

वायुसेवा निगमले गत साउन १ को मूल्यका आधारमा तयार पारेको विवरणअनुसार इन्धन भर्दा मलेसियामा प्रतिलिटर ३७.९९ रुपैयाँ र  नेपालमा १०६.८५ रुपैयाँ भुक्तानी गर्नुपरेको छ ।

‘निगमले उडान गर्ने सबै गन्तव्यमा पर्ने मूल्य र नेपालमा पर्ने मूल्यको तुलना गरेर मन्त्रालयमा पत्र पठाएका छौं,’ निगम प्रवक्ता रामहरि शर्माले भने । अन्य एयरलाइन्सहरूले अाफ्नै मुलुकमा धेरै इन्धन भरेर आउने भएकाले निगमलाई मात्र बढी भार परेको निगमको भनाइ छ ।

‘सरकारले विशेष निर्णय गरेर भए पनि राष्ट्रिय ध्वजावाहक भएको नाताले निगमलाई अन्यलाई भन्दा सस्तोमा दिनुपर्छ भन्ने हाम्रो माग हो,’ प्रवक्ता शर्माले भने ।

निगमले पठाएको पत्र पर्यटन मन्त्रालयले उपयुक्त लागेमा अर्थ मन्त्रालय पेस गर्नेछ भने अर्थले करमा सहुलियत दिने निर्णय मन्त्रिपरिषद्मा लैजान सक्नेछ । स्रोतका अनुसार अर्थले तत्काल यस्तो निर्णय गर्न सक्ने अवस्था नभए पनि आपूर्ति मन्त्रालयले नाफा घटाउन निगमलाई निर्देशन भने दिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment