Comments Add Comment

मैदाबाट बनेका परिकार त्याग्नुस्, दीर्घजीवी हुनुस्

यस्ता छन् मैदाले स्वास्थ्यमा पुर्‍याउने असर

maida३ भदौ, काठमाडौं । तपाईं यसपालीको चाडपर्वमा मैदाका परिकार बनाएर खाने योजना बनाउनु भएको छ ? यदी छ भने त्यो योजना त्याग्नुस् । किनकी मैदाबाट बनेका परिकारहरु हेर्दा आकर्षक र स्वादिलो भए पनि यसले हाम्रो स्वास्थ्यमा हानी पुर्‍याउँछ ।

चीन र कतिपय युरोपियन देशहरुमा त मैदामा मिसाइने केमिकलको प्रयोग निषेध नै गरिएको छ ।

मैदा के हो ?

मैदा एक प्रकारको बोक्रारहित गहुँलाई मसिनो गरी पिँधिएको पिठो हो । यसलाई अंग्रेजीमा ‘अल् पर्पोज फ्लोर’ पनि भनिन्छ । गहुँबाट मैदा निकाल्ने क्रममा त्यसमा भएको सबै फाइबर निकालिएको हुन्छ ।

त्यस्तै, यसलाई बेञ्जाइल पेरोक्साइड व्लीच गरेर सफा सेतो रंग दिइन्छ । चीन तथा युरोपियन देशहरुमा बेञ्जोल पेरोक्साइड प्रयोग निषेध गरिएको छ किनकी यो स्वास्थ्यको लागि हानिकारक छ ।

त्यसो त मैदालाई दैनिक प्रयोग गर्दा यसको असर तुरुन्तै देखिँदैन । तर लामो समयसम्म प्रयोग गरेपछि भने हाम्रो शरीरमा यसका साइड इफेक्ट्स देखिन सुरु हुन्छ । यस्ता साइड इफेक्ट्सले दीर्घकालीन रुपमै हाम्रो शरीरमा असर पुर्‍याउने पोषणविद डा. भुपाल बानियाँ बताउँछन् ।

मैदाका असर

हामी सबैको भान्छामा मैदाले बनेका परिकार पाइनु सामान्य कुरा हो । पुरी, सेल, दुनोट मःमः वा अन्य पिठोबाट बन्ने परिकारमा हामी प्रायः मैदाकै प्रयोग बढी गर्छौं । चाडपर्व नजिकिएसँगै मैदाको किनबेच बढी हुन्छ ।

तर, तपाईंलाई थाहा छ, मैदा हाम्रो शरीरका लागि कत्तिको हानिकारक छ ? यसले हाम्रो शरीरलाई कतिसम्म असर पुर्‍याउँछ ? आउनुस्, हामी पनि जानौं, मैदाले हाम्रो स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा ।

मुटुको समस्या

जब ब्लडसुगरको मात्रा बढ्छ, तब रगतमा ग्लुकोज जम्न थाल्छ । यसले शरीरमा केमिकल्स रियाक्सन हुन्छ, जसले गर्दा कैटरैक्ट तथा मुटुको समस्या उब्जन्छ ।

त्यस्तै, मैदामा डाल्डा मिसाएको खण्डमा यो जनावरको बोसो भन्दा खराब हुन्छ, जसलाई सामान्य शब्दमा ‘ट्रान्सफ्याट’ भनिन्छ । यसले राम्रो कोलेस्टोरल (एचडीएल)लाई घटाएर खराब कोलेस्ट्रोरल (एलडीएल) को मात्रालाई बढाउँछ । जसले गर्दा मुटुका भल्भमा लेउजस्तो बस्दछ । यसले मुटुमा रोग लाग्नुका साथै हृदयघातको सम्भावनालाई बढाउँछ ।

विशेषगरी, मैदाबाट बन्ने सेल, पुरी, समोसा, रोटी, मम, डोनट लगायतका परिकारमा डाल्डाको प्रयोग गर्नाले शरीरका लागि घातक सावित हुन्छ ।

पेटको समस्या

मैदाबाट बनेका परिकार खानाले पेटमा पनि समस्या बढाउँछ । मैदाबाट बनेका धेरै परिकार खानाले आन्द्राको भित्तामा एकप्रकारको लेसिलो तह जम्दै जान्छ । जसका कारण शरीरमा पाचन प्रक्रियालाई कमजोर बनाउँछ । त्यतिमात्रै होइन कब्जियतको समस्या पनि बढ्छ  । पेटको समस्याले मानिस बारम्बार विरामी भइरहन्छ ।

त्यसैले चिकित्सकहरुले चोकर पनि मिसिएको गहुँको पिठोका परिकार खान सुझाव दिने गर्दछन् ।

हड्डी कमजोर हुन्छ

गहुँलाई पेलेर मैदा बनाउँदा त्यसमा रहेका प्रोटिन, मिनरल्सको मात्रा समाप्त हुन्छ र त्यसमा प्रयोग भएका एसिडिक तत्वमात्र बाँकी रहन्छ । जसले हड्डीमा भएका क्याल्सियमलाई बाहिर निकाल्छ र हड्डीलाई कमजोर बनाउँछ । त्यसैले दीर्घजीवी हुनुछ भने मैदाका परिकार खान चटक्कै छाड्नु नै उत्तम हुन्छ ।

फुड एलर्जी हुन्छ

मैदामा ग्लूटन हुुन्छ, जसले मानिसहरुमा खानाको एलर्जी हुने सम्भावना बढाउँछ । ग्लूटनको एलर्जी सबै मानिसलाई एकै प्रकारले हुन्छ भन्ने छैन । कसैकसैलाई यसले असर नपार्न पनि सक्छ । तर जसलाई असर गर्छ, उसलाई खानाको एलर्जी हुने सम्भावना रहन्छ ।

त्यसो त मैदामा अधिक मात्रा ग्लूटन पाइन्छ, जसले खानालाई लचिलो बनउनुका साथै नरम बनाएर टेक्सचर प्रदान गर्छ । जबकी गुहँको पिठोमा धेरै मात्रामा फाइबर तथा प्रोटिन पाइने गर्छ ।

मोटोपना बढाउँछ

अधिक मात्रामा मैदा खानाले मानिसको तौल बढ्न थाल्छ, जसले गर्दा तपाई मोटो हुन थाल्नु हुन्छ । यतिमात्र होइन मैदाको अधिक प्रयोगले कोलेस्टोरलको मात्रा तथा रगतमा ट्राइग्लिसराइड समेत बढ्छ । त्यसैले यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो खानाबाट मैदालाई हटाउनु नै उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment