Comments Add Comment

भरतपुर क्यान्सर अस्पतालको ५६ करोड फ्रिज

मन्त्रीको मुख ताक्दा बोर्ड बैठक अन्यौल

Bharatpur-Cancer-Hospital

१६ भदौ, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालको ५६ करोड रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७२/७३ मा नेपाल सरकारबाट पूँजिगत अनुदान स्वरूप आएको ठूलो परिमाणको बजेट फ्रिज भएको हो ।

गत आर्थिक वर्षमा सरकारले अस्पतालको विकास र स्तरोन्नतीका लागि विभिन्न शीर्षकमा ५६ करोड रकम पठाएको थियो । सरकारले क्यान्सर रोग फैलावटको अवस्था पत्ता लगाउने पेटस्क्यान लगायतका अन्य उपकरण खरिदका लागि उक्त परिमाणको रकम पठाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा समेत पेटस्क्यान मेशिन खरिद गर्ने रकम फ्रिज भएको थियो । सरकारले गत आर्थिक वर्षमा अस्पताललाई पेटस्क्यान र लिन्याक मेसिन खरिदको लागि करिव ३३ करोड, सिटी सिमिलेटरका लागि ५ करोड, मोडुलर ओटी निर्माणका लागि २ करोड, आइसियू सेटअपका लागि २ करोड र भवन निर्माणका लागि ७ करोड रुपैयाँ रकम विनियोजन गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक सिवी पुनको असक्षमता र अध्यक्ष डा. प्रकाशराज न्यौपानेको खराव नियतका कारण रकम फ्रिज भएको बोर्ड सदस्य रामप्रसाद न्यौपानेले आरोप लगाए ।

अस्पतालले गत आर्थिक वर्षमा कर्मचारीको तलव भत्ता बाहेक सरकारबाट अनुदान प्राप्त रकमबाट पुँजिगत रकम खर्च गर्न नसकेको अस्पताल सञ्चालक समितिका एक सदस्यले बताए । अस्पतालले गत आर्थिक वर्षमा स्वास्थ्य कर कोषबाट प्राप्त करिब २५ करोड रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गरेको छ ।

मन्त्रीको मुख ताक्दा बोर्ड बैठक अन्यौल

सरकारबाट प्राप्त अनुदान रकम फ्रिज हुनबाट जोगाउन बोर्डबाट कुनै पनि पहल नभएको कर्मचारीहरूको आरोप छ ।

क्यान्सर अस्पतालको बोर्ड बैठक गत वैशाख महिनापछि बसेको छैन । बोर्ड बैठक नबस्दा अस्पतालको प्रशासनिकलगायत अन्य चालु आर्थिक वर्षको खर्चको स्वीकृति प्राप्त नहुँदा समस्या आएको छ ।

कर्मचारीहरूले साउन महिनाको तलब खुवाउनका लागि नै समस्या भएको छ । प्याथोलोजीमा किटहरु नभएको, अप्रेशन थिएटरका लागि आवश्यक सामानहरू समेत अभाव हुँदै गएको एक चिकित्सकले बताए ।

अस्पतालको बोर्ड बैठक कहिले बस्छ भन्नेबारे जानकारी नभएको कार्यकारी निर्देशक डा. पुनले बताए । ‘मैले अध्यक्षलाई पत्र नै लेखेर बोर्ड बैठक राख्न भनेको छु,’ कार्यकारी निर्देशक पुनले भने, ‘अध्यक्षले मन्त्रीसँग सल्लाह गरेरमात्रै बोर्ड बैठक राख्छु भन्नुभएको छ ।’

जागिर भक्तपुरको, अध्यक्ष भरतपुरको

Dr.-Prakash-Raj-Neupane
डा. प्रकाशराज न्यौपाने

भरतपुर क्यान्सर अस्पतालका अध्यक्ष न्यौपाने भक्तपुर क्यान्सर अस्पतालका जागिरे हुन् । न्यौपानेले कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्ती लिएका थिए ।

उनको ध्यान भरतपुर क्यान्सर अस्पताल बनाउनेतिर भन्दापनि भक्तपुर क्यान्सर अस्पताल बनाउनेतिर बढी केन्दि्रत भएको आरोप लाग्दै आएको छ ।

अध्यक्ष प्रकाशराज न्यौपानेले अस्पतालमा अत्याधुनिक उपकरण ल्याउन बिभिन्न समस्या र उल्झनहरू झिक्ने गरेको आरोप बोर्ड सदस्य रामप्रसाद न्यौपानेले लगाए । ‘उनकै कारणले क्यान्सर रोगमा कामयावी मानिएको पेट स्क्यान मेशिन ल्याउने प्रकृयासमेत अवरूद्ध बनेको छ,’ सदस्य न्यौपानेले भने ।

भवन निर्माण अलपत्र

झण्डै २ सय बेड थप गर्ने लक्ष्यसहित निर्माण थालिएको अस्पतालको भवन निर्माण पनि अलपत्र परेको छ । २०७२ भदौ महिना भित्र भवन निर्माणको काम पूरा गरिसक्ने लक्ष्य थियो । करिव ६० करोड रुपैयाँ लागतमा ३३ महिना भित्र पूरा गर्ने भनेर थालिएको भवन निर्माणको म्याद भदौ महिनामा सकिएको हो ।

गत वैशाखमा बसेको बोर्ड बैठकबाट भवन निर्माणको समयावधि १५ महिना थपिएको छ । यसले लागत बढाउने देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. सिवी पुनले बताए ।

समयमा नै काम नहुँदा पिलर उठाउनका लागि बुनिएका रडहरूमा खिया लागेको छ । यो भवन निर्माण भएमा भरतपुर क्यान्सर अस्पतालको शैया ३९४ पुग्ने छ ।

भरतपुर क्यान्सर अस्पतालमा हाल शैया अभाव हँदा बिरामीहरु महंगो पैसा तिरेर नीजि अस्पतालहरूमा उपचार गराउन बाध्य छन् ।

‘नियमविपरित नियुक्त गर्न दबाव’

अस्पतालका अध्यक्ष डा. न्यौपानेले नियमविपरित दुई जना चिकित्सक राख्नसमेत दवाव दिँदै आएको आरोप लागेको छ ।

प्रशासनिक प्रकृयाभन्दा बाहिर गएर अन्यत्रैबाट टिप्पणी फाइल उठाएर अध्यक्ष न्यौपानेले प्याथोलोजी र स्त्री तथा प्रसुती रोग विभागमा १/१ जना चिकित्सकलाई नियुक्त गर्न दवाव दिँदै आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

‘नियम र कानुनको पालना गर्ने गराउने व्यक्तिहरू नै नियमविपरित काम गर्न दवाव दिन थालेपछि अन्य कर्मचारीहरुले के गर्ने,’ प्रशासनका एक कर्मचारीले भने ।

यसमा कार्यकारी निर्देशक पुनको समेत मिलेमतो रहेको आरोप ति कर्मचारीको छ ।

‘नियुक्त नहुँदै डा. सुरज उप्रेतीले त एकदिन प्लाथोलोजीमा काम नै गर्नुभयो । रिपोर्टमा हस्ताक्षर नै गर्नुभयो,’ प्याथोलोजी विभागका एक कर्मचारीले भने, ‘जसले जे गर्दिए पनि हुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment