Comments Add Comment

‘आँशुको शक्ति’ले केपी ओलीलाई भावुक बनायो

सुनिता दनुवारले लेखिन् आफैं बेचिएको दर्दनाक कथा

Sunita-book

२७ भदौ, काठमाडौं । ‘आँशु दुःख र पीडाको प्रतिक हो । तर, आँशुको शक्तिले समाज परिवर्तन गराउन सक्छ भन्ने उदाहरण पेश गरेकी छन् सुनिता दनुवारले’

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भन्दा मञ्चमा सुनिता दनुवार सम्हालिन खोज्दै थिइन् ।

करीव १७ वर्षअघि उनीसहित करीव ३ सय नेपाली चेलीहरुलाई बम्बईको कोठीबाट उद्दार गरेर काठमाडौंसम्म ल्याउने गौरी प्रधान उनकै छेउमा थिए । सोमवार साँझ अन्नपूर्ण होटलको एउटा हलमा यस्तै दृष्य र कथाहरु छरपष्ट पोखिए ।

अवसर थियो सुनिता दनुवारको जीवन संघर्षको कथा ‘आँशुको शक्ति’ सार्वजनिक समारोह । त्यहाँ उपस्थित पात्रहरुमा सुनिता जस्तै कथा बोकेका अन्य धेरै चेलीहरुसँगै आँशुको शक्ति बलियो हुन्छ भन्ने उदाहरण बनेको शक्ति समूहका सिंगो टिम पनि थियो ।

त्यहि दुःख र पीडाबाट बगेको आँशु शक्ति बन्छ भन्ने जिवन्त उदाहरण शक्ति समूह हो । अनि शक्ति समूहको एउटा पिलर सुनिता दनुवार । सार्वजनिक भएको पुस्तक आँशुको शक्तिमा सुनिताले आफ्नो बाल्यकाल, आफू बेचिएको क्षण, कोठीमा भोगेको जिन्दगीका अनेक पाटाहरु खुलासा गरेकी छन् ।

Kp-oli-and-sunita-danuwar

पुस्तक पूरै पढेर लोकार्पण गर्न पुगेका एमाले अध्यक्ष ओलीले पुस्तकभित्रका बिभिन्न पात्र र प्रसंगहरुको चर्चा गर्दै भने- केही मान्छे जहाँ गए पनि भावुक हुन्छन् तर, अक्सर म भावुक हुन्न । यो पुस्तकका केही प्रसंग पढ्दा म साँच्चिकै भावुक भएँ ।’

उनले भने-आँशुमा शक्ति हुन्छ, जसले अन्याय, अत्याचार र विकृतिहरुलाई बगाउन सक्छ । सुनिता दनुवारले एउटा व्यक्तिका रुपमा आफ्नो समाज, परिवेश र मुलुकको लागि आँशुको शक्तिबाट केही हदसम्म पराजित गर्न सफल भएको जस्तो मलाई लाग्छ । हिजो खुलेआम हुने विशेष गरि महिला बेचबिखन आज एक हदसम्म नियन्त्रणमा आएको छ ।’

मानव बेचबिखनको स्वरुप र शैली फेरिए पनि बेचबिखन निरन्तर रहेको भन्दै यसको नियन्त्रण गर्ने उपाय सुझाउन उनले त्यहाँ उपस्थित सुबोध प्याकुरेल, गौरी प्रधान, दुर्गा घिमिरे लगायतका अधिकारकर्मीहरुलाई आग्रह समेत गरे ।

पुस्तककी लेखिका सुनिताले बेचबिखनमा परेर फर्किएपछि आफूहरु यो अपराध अन्त्य गर्न बाहिर आए पनि हजारौं महिलाहरु समाजबाट बहिस्कारमा पर्ने डरले बाहिर खुल्न नसकेको बताइन् । उनले भनिन्-राज्यले उनीहरुको जिम्मा लिन्छ भने ठूलो समूह निस्कन्छ ।’

सुनिताका पति नृप दनुवारले आफूले सुनिता बेचबिखनमा परेको भन्ने जानेरै उनीसँग नाता गाँसेको बताए । उनले भने, ‘मैले सुनितालाई अपनाएको होइन, प्रेम गरेको हो । उनको आँशुको शक्तिले बेचबिखनको अपराधलाई केही हदसम्म बगाउन सफल भएको छ । यसमा म आफू गौरव गर्छु ।’

घोष्ट राइटिङ नेपालको प्रकाशन गरेको आँशुको शक्ति पुस्तकको सम्पादन टंक पन्त, कुशुम भट्टराई र इन्दू अंशुले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment