Comments Add Comment

रुकुममा ३ स्वायत्त र एक विशेष क्षेत्रसहित १० स्थानीय तह प्रस्ताव

Rukum District (1)

६ असोज, काठमाडौं । रुकुम जिल्लामा ३ स्वायत्त र एक विशेष क्षेत्रसहित १० स्थानीय तह प्रस्ताव गरिएको छ । स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति रुकुमले १० स्थानीय तह गठन गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन केन्द्रमा पठाएको छ ।

स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगले रुकुमलाई ६ वटा स्थानीय तहको प्रस्ताव पठाउन प्राविधिक समितिलाई भनेको थियो ।
रुकुमले केन्द्रमा पठाएको प्रस्तावमा पुथा, उत्तरगंगा र भुम्यालाई स्वायत्त क्षेत्र तथा ठूलीभेरीलाई विशेष स्वायत्त क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

विशेष, स्वायत्त र संरक्षित क्षेत्रहरुमा राजनीतिक अधिकारबाहेक सामाजिक र आर्थिक अधिकारमात्र रहने संविधानमा व्यवस्था गरिएको छ ।

ठुलीभेरी विशेष स्वायत्त क्षेत्रको केन्द्र राडीलाई बनाउन प्रस्ताव गरिएको छ । यसमा घेत्मा, आठविसडाँडागाउँ, आठविसकोट, गोतामकोट, स्यालाखदी र मग्मा गाविसका ७ र ८ वडालाई राखिने छ ।

यसैगरी पुथा स्वायत्त क्षेत्रको केन्द्र गरघाटलाई बनाउन प्रस्ताव गरिएको छ । पुथा स्वायत्त क्षेत्रमा मैकोट, हुकाम र जाङ गाविसका ८ र ९ वडालाई राख्न प्रस्ताव गरिएको छ ।

यसैगरी उत्तरगंगा स्वायत्त क्षेत्रको केन्द्र त्रिवेणी प्रस्ताव गरिएको छ । यसमा तकसेरा, कोल, राङसी र जाङ गाविसका १ देखि ७ वडा रहनेछन् ।

भुम्या स्वायत्त क्षेत्रको केन्द्र सिसाघारी प्रस्ताव गरिएको छ । भुम्याभित्र क्राँक्री, महत, चुनवाङ, मोरावाङ, काँडा र रुकुमकोटको ४ नम्बर वडालाई समेटिएको छ । रुकुमकोट रुकुमको विकसित र शिक्षित गाविसमध्येमा पर्दछ ।

मुसिकोट नगरपालिकामा खलंगा, साँख, चौखावाङ, भलाक्चा, छिवाङ र स्यालापाखा गाविसका ३ र ४ नम्बर वडालाई गाभिएको छ । यसको केन्द्र खलंगा रहने छ ।

Rukum District (2)

सिस्ने गाउँपालिकामा सिस्ने गाविससहित, प्वाङ, पोखरा र रुकुमकोटका १, २, ३, ५, ६, ७, ८ र ९ नम्बर वडालाई राखिएको छ । यसैगरी स्यालापाखा गाविसका १, २, ५, ६, ७, ८ र ९ वडालाई पनि सिस्नेमै राखिएको छ । सिस्नेको केन्द्र रुकुमकोट बनाउन प्रस्ताव गरिएको छ ।

सिस्ने रुकुम जिल्लाको प्रसिद्ध हिमालको नाम हो ।

स्यार्पु गाउँपालिकाको केन्द्र छिनखेत प्रस्ताव गरिएको छ । स्यार्पु गाउँपालिकामा पिपल, बाँफिकोट, झुला, मग्माका १, २, ३, ४, ५, ६ र ९ वडालाई गाभिएको छ । यसैगरी दुली गाविसका ४, ५ र ६ वडा पनि स्यार्पु गाउँपालिकामै राखिएको छ ।

स्यार्पु रुकुमको मनोरम ताल हो ।

रुकुमको अर्को गाउँपालिका सानीभेरीलाई प्रस्ताव गरिएको छ । यसको केन्द्र सिम्ली रहने छ । सानीभेरी गाउँपालिकामा सिम्ली, गरायला, अर्मा र पूर्तिमकाँडाका वडानम्बर १, २, ३, ६, ७ र ८ नम्बर वडालाई राखिएको छ । यसै गाउँपालिका दुली गाविसका १, २, ३, ७, ८ र ९ नम्बर वडालाई पनि राखिएको छ ।

रुकुमको अर्को गाउँपालिका त्रिवेणी हो । यसमा रुँघा, खारा, मुरु, पेउघा र नुवाकोट गाविसको ३ नम्बर वडालाई राखिएको छ ।

त्रिवेणी गाउँपालिकाको केन्द्र सिमु्रतु प्रस्ताव गरिएको छ ।

रुकुमले अर्को एउटा भने बेनामे प्रस्ताव केन्द्रमा पठाएको छ । वेनामे प्रस्तावमा चौरजहारी नगरपालिका, खोलागाउँ गाविस, नुवाकोट गाविसका १, २, ४, ५, ६, ७, ८ र ९ वडा तथा पूर्तिमकाँडा गाविसका ४, ५ र ९ वडा छन् ।

यसको नाम र केन्द्र तोकिएको छैन । त्यसको टुंगो नगरपरिषदबाट लगाउने भनिएको छ ।

कतिपयले विमानस्थलसमेत भएको र व्यापारिक केन्द्र पनि भएकाले चौरजहारीलाई नै केन्द्र तोक्न माग गरेका थिए भने कतिपयले नार्जीदेखि माथि र चन्द्रबजारदेखि तलतिर कुनै स्थानमा केन्द्र राख्नुपर्ने बताएका थिए ।

यस विषयमा कुरा नमिलेपछि नगरपरिषदले मिलाउने गरी बेनामे प्रस्ताव केन्द्रमा पठाइएको प्राविधिक समितिमा आमन्त्रित सदस्य गोपाल शर्मा ‘अनल’ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment