Comments Add Comment

चरेस खान इरानदेखि नेपाल !

फाइल फोटो
फाइल फोटो

१० असोज, काठमाडौं । इरानी नागरिक भाहिद निक्जामिर पटक–पटक पर्यटन भिसामा नेपाल आइरहन्छन् । पछिल्लोपटक गत १६ साउनमा उनी नेपाल आए ।

प्राकृतिक मनोरमले उनलाई नेपालप्रति आकर्षित गरेको होइन । नेपालको चरेसले उनलाई आकर्षिक गरेको हो ।

नेपालको चरेस विश्वकै उच्च गुणस्तरीय हुने भएकाले त्यही चरेस खान उनी पटक–पटक आउने गरेका हुन् । चरेस खान तीन वर्षदेखि नेपाल आउजाउ उनी १६ वर्षदेखि चरेसका अम्मली हुन् ।

तीन वर्षयता नेपालको चरेसले उनलाई मोहित बनाएको थियो । पटक–पटक नेपाल आएर चरेस लिएर जाने उनी यसपटक भने फन्दामा परेका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ ।

मुम्बई हुँदै श्रीलंका जान खोज्ने क्रममा उनी पक्राउ परेको एनसिबीका डिएसपी अपिल बोहराले बताए । निक्जामिर बाग्लुङ पुगेर आफैँले उक्त चरेस बनाएका थिए । चरेस गाँजाबाट बन्छ ।

पहाडी जिल्लाको गाँजाको चरेस राम्रो हुने भएकाले उनी आफैँ बाग्लुङ गएर चरेस बनाएका थिए । नेपालको गाँजामा टेट्रा हाइड्रो क्यानाबिनल (टिएचसी) धेरै हुने भएकाले नेपालको चरेस विश्वभर माग हुने गरेको छ । उनी पनि नेपाली चरेसको स्वादमा पल्किएका थिए ।

इरान घर भए पनि उनी पछिल्लो समय श्रीलंका र भारतमा बस्न थालेका थिए । चरेसको अम्मली भएकै कारण बुबाले केही पैसा दिएर घर छाड्न लगाएपछि आफू भारत आएको उनले बताएका छन् ।

एक सांगीतिक ब्यान्डमा उनी ड्रमरका रूपमा काम गर्छन् । उनकी प्रेमिका शुक्रबार स्वदेश फर्किएकी थिइन् । बरामद भएको चरेस आफैँलाई सेवन गर्न उनले लैजान लागेका थिए ।

सुटकेसमा फल्सबटम बनाएर लुकाएको अवस्थामा चरेस बरामद भएको थियो । उनको साथबाट ४ सय ५ ग्राम यार्सागुम्बा पनि बरामद भएको छ । जुन अवैध भएकाले उनलाई वन ऐनअनुसार कारबाही हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment