Comments Add Comment

माधव नेपालको प्रश्नः नेपालीसँगको बिहे राष्ट्रपति बन्नकै लागि हो ?

'मधेसवादी दलका मुद्दालाई मधेसी समुदायको मागका रुपमा नबुझौं'

Madhav kumar nepal

१० असोज, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केही मधेसवादी दलको मागलाई समग्र मधेस र मधेसी जनताको मागका रुपमा बुझ्दा मधेस मुद्दा पेचिलो बनेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारीको मधेस मामिला बिभागले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता नेपालले भने, ‘सीमांकन हेरफेर, अंगीकृत नागरिकले राज्यका प्रमुख संवैधानिक पदमा जान पाउनुपर्छ भन्ने जस्ता मागहरु मधेसी समुदायका होइनन् । केही मधेसवादी दलको मागलाई समुदायको मागमा रुपमा ब्याख्या गर्नु हुँदैन ।’

तीन पुस्ताभन्दा लामो समयदेखि मध्य तराईको गौरका स्थायी बासिन्दा रहेका पूर्वप्रधानमन्त्री नेपालले मधेसवादी दलका कार्यकर्ताले दुईपटक आफ्नो घर जलाएको भन्दै चित्त दुःखाए ।

उनले आफू निरन्तर मधेसी जनताको बीचमा गइरहेको बताए । नेपालले भने, ‘म मधेस जान पाएको छैन, कालोझण्डा ठीक पारिहाल्छन् । म पनि हेर्छु, के गर्दा रहेछन् भनेर ।’

उनले अघि भने, ‘अघि बढेपछि आफैं पछि हट्छन् । मधेसी जनता एमालेको पक्षमा छन्, मधेसवादीहरुको बिरोधलाई मधेसीको बिरोधका रुपमा लिन हुँदैन ।’

केही मधेसवादी दल र मधेसको नाममा प्रोजेक्ट चलाउने केही बुद्धिजिवीले गलत ढंगले मधेसमा सामुदायिक बिद्वेष फैलाउन खोजेको भन्दै एमाले नेता नेपालले सचेत रहन आग्रह गरे । उनले भने, ‘केही दल र जमिन्दारहरुले मधेसी जनतामाथिको शोषण र सामाजिक विभेदलाई दबाउन मधेसी पहाडी भावना फैलाउन खोजेका छन् ।’

‘राष्ट्रपति बन्नका लागि बिहे गर्ने ?’

नागरिकताका सन्दर्भमा मधेसका आदिवासी जनताको कुनै गुनासो नरहेको उनले बताए । विवाह गरेर आउनेको हकमा पहिलो पुस्ताले अंगीकृत नागरिकता लिने प्रावधान सही रहेको भन्दै यसमा संशोधन गर्न खोज्नुको उद्देश्य गलत रहेको नेपालको दाबी छ ।

अंगीकृत नागरिकले राष्ट्रपति बन्न पाउनुपर्ने माग रहेको भन्दै उनले प्रश्न गरे, ‘कुनै नेपालीसँग बिहे गर्नुको उद्देश्य राष्ट्रपति वा प्रधानमन्त्री बन्नकै लागि हो ? नेपालको राष्ट्रपति बन्नका लागि लभ गर्ने ? माया गर्ने वा बिहे गर्ने भनेको कुनै पद पाउनका लागि हो ?

बिहे गरेर नेपालमा आउनेहरुमा स्वभाविक रुपमा आफ्नो जन्मस्थानप्रति नै माया र लगाव हुने भन्दै एमाले नेता नेपालले पहिलो पुस्ताले त्याग गर्नुपर्ने नियम संसारभर नै रहेको बताए ।

संविधान मधेस पक्षीय छः नारायणकाजी

Madhav-nepal

कार्यक्रममा माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले राष्ट्रिय समस्या समाधानका लागि सबैले लचकता अपनाउनुपर्ने बताए । उनले भने, ‘राष्ट्रियताको मुद्दामा नझुकौं, अरु कुरामा सहमतिको बिन्दु पहिल्याउनुपर्छ । नत्र निर्धारित मितिमा तीनओटा चुनाव भएनन् भने मुुलुकमा संवैधानिक संकट र राजनीतिक रिक्तता उत्पन्न हुनेछ ।’

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले बाहृय शक्तिले नेपालको संविधानमा डिक्टेट गर्न खोजे एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताए । उनले संविधान मधेस पक्षीय रहे पनि केही मधेसवादी दलले अत्यन्त नकारात्मक ढंगले जनतालाई प्रभावित पारेको टिप्प्णी गरे ।

श्रेष्ठले भने, ‘मधेसको समस्यालाई त्यहाँका केही दलले सत्ता स्वार्थका लागि प्रयोग गरेका छन् । संविधानले मधेसी जनतालाई दिएको अधिकार र मधेस पक्षीय कुराहरुबारे जनतालाई बुझाउन हामीले सकेनौं । अब लचकताका साथ एकताबद्ध भएर मधेसको मुद्दालाई सम्बोधन गर्न आ-आफ्ना अडानबाट एक कदम पछि हट्नुपर्छ ।’

कार्यक्रममा प्राध्यापक एवं एमाले सांसद लालबाबु यादवले संविधान मधेस पक्षीय रहे पनि मधेसवादी दलहरुले तराई मधेसमा आफ्नो चुनावी स्वार्थका लागि साम्प्रदायिक नारा उचालेको आरोप लगाए । उनले भने, ‘म मधेसका जनताबीच संवादमा गइरहेको छु, सीमांकन हेरफेर वा नागरिकताका कुरा जनताका मुद्दा होइनन् ।’

प्रेस चौतारीका सचिव भउचप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापा, एमाले केन्द्रीय प्रचार बिभाग सचिव विष्णु रिजाल, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment