Comments Add Comment

बिजुलीबजार र तीनकुनेमा बन्ने भो नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’

network arch bridge (3)

११ असोज, काठमाडौं । सिड्नीको ओपेरा हाउसको पृष्ठिभूमिमा देखिने हार्वर ब्रिजले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । र, लाग्छ नेपालमा पनि यस्तै विकास भइदिए हुन्थ्यो ।

योजना अनुसार काम हुने हो भने अबको झण्डै डेढ वर्षमा यस्तै अत्याधुनिक र आकर्षक पुल काठमाडौंको बिजुलीबजारमा ठडिनेछ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ । यो नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवर्धनको पक्षले पनि उत्कृष्ट मानिने आयोजनाका इञ्जिनियर बिरेन्द्रकुमार यादव बताउँछन् ।

बिजुलीबजारमा काम सुरु

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार बिजुलीबजार र तिनकुनेमा अहिले रहेको पुलको दायाँ-बायाँ ४ वटा पुल बन्नेछन् ।

धोबीखोलामा पुल निर्माणका लागि काम सुरु भइसकेको छ भने बाग्मती नदीमा बन्ने पुलको डिजाइन स्वीकृतिको अन्तिम चरणमा छ । दुबै स्थानमा पुल निर्माणका लागि ठेक्का भने स्वीकृत भइसकेको छ ।

अहिले रहेको पुललाई यथावत राखी सडकको सर्भिस लेनमा दुबैतर्फ आर्क पुल जडान गरिनेछ । पुल निर्माण भएपछि सर्भिस लेन (मुल सडकको दायाँ-बायाँको लेन)बाट गुडेका सवारीले पुलको बीच लेनमा आउनुपर्ने छैन । र, दायाँ-बायाँतर्फका सर्भिस लेनमा सार्वजनिक सवारीको चाप बढी हुन्छ ।

माइतीघर-तीनकुने सडकखण्डका सर्भिस लेनहरु नयाँ पुलसँगै जोडिनेछन् । अहिले सर्भिस लेनमा आएका सवारी पनि पुल हुँदै वार-पार गर्छन् । र पुनः मोडिएर सर्भिसलेनमा लैजानुपर्ने बाध्यता छ । यो बाध्यतालाई अब बन्ने ४ वटा पुलले हटाइदिने इञ्जिनियर यादवले बताए ।

के हो नेटवर्क आर्क ब्रिज ?

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

यसलाई निर्माण गर्दा सुरुमा खोला/खोल्साको वारी-पारी सडकको चौडाइँ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो ।

आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच-बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बांगो आकारका आर्क राखिन्छ ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।

त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ । किनभने खोलाको बीचमा पिल्लर ठड्याउनुपर्दैन, जसका कारण कम खर्चिलो पनि छ ।

पुलमा आरसीसी प्रविधिबाट आर्क बनाइन्छ । पुलको सडक भागमा पीच वा आरसीसी नै गरिन्छ ।

कति छ लागत ?

आयोजनाका अनुसार बिजुलीबजारको पुलको लागत १२ करोड रूपैयाँ छ । बागमती नदीमा बन्ने पुलको भने २१ करोड लागत पुग्नेछ ।

बिजुलीबजारको पुल ५० मिटर लामो बन्ने छ । यसको निर्माणको जिम्मा जेइ कन्सट्रक्सनलाई दिइएको छ ।

बाग्मती पुलको लम्बाइ भने ८५ मिटर लामो छ । यसको निर्माण पप्पु कन्सट्रक्सनले गर्नेछ । यसमा पनि बिजुलीबजारमा जस्तैगरी सर्भिसलेनसँग जोडेर दुई वटा आर्क ब्रिज हालिनेछ ।

पुलको छेउँतर्फ फुटपाथ पनि रहनेछन् । जसमा पैदलयात्रुलाई हिँड्न सहज हुनेछ । एउटा आर्क ब्रिज १० मिटर फराकिलो हुनेछ । यसअनुसार दुईतर्फ ब्रिज हाल्दा पुलको चौडाइ अहिलेको भन्दा २० मिटर फराकिलो हुनेछ ।

बिजुलीबजारको पुल ०७४ को माघसम्म निर्माण सम्पन्न भएर सञ्चालनमा आउने आयोजनाको विश्वास छ ।

‘शहरी सौन्दर्य दाता’

यो पुलको अर्को आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो । विश्वका धेरै शहर हुँदै बग्ने नदीमा यस्ता पुलहरु बनेका छन् । अन्य स्थानमा यही प्रविधिका ठूला पुलहरु बनेका छन् ।

यसले शहरको सौन्दर्यतालाई बढाउन मद्दत गर्ने भएकाले नै यो प्रविधिलाई काठमाडौंबाट सुरु गरिएको इञ्जिनियर यादव बताउँछन् । यी पुलका आर्कमा ‘कलरफुल लाइट’ जडान गर्ने योजना पनि छ । यसले सडक झिलिमिलि मात्रै हुनै छैन, पुललाई आकर्षक समेत देखाउने छ ।

दुबै पुल निर्माण भएपछि बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा हुने ट्राफिक जामको समस्या पनि कम गर्न मद्दत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment