Comments Add Comment

सरकारका प्रवक्ता रेडियोका कर्मचारीसँग घुमघाममा मस्त

मन्त्रीलाई घुमाउने भन्छन्- ६ मन्त्री र सचिव फेरिसकें

ram karki and suresh karki१३ असोज, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) वौद्धिक नेता मानिन्छन् । उनले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएपछि अन्य मन्त्रीले भन्दा राम्रो काम गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, कार्कीले मन्त्रालय सम्हालेको एक महिना नपुग्दै धेरैलाई निराश बनाउन थालेका छन् ।

मन्त्री बन्नासाथ कार्कीले मिडियाप्रति गुनासो गर्दै सकारात्मक समाचारहरु कम आउने गरेको बताएका थिए । सकारात्मक समाचार लिखाजत्रो मात्रै आउने गरेको मन्त्री कार्कीको गुनासो थियो । तर, मन्त्री कार्कीले अहिलेसम्म सकारात्मक समाचार आउने गरी काम गर्न सकेका छैनन् ।

गतसाता मन्त्री कार्कीलाई उधृत गर्दै समाचार आयो, जसमा भनिएको थियो कि उत्तरतर्फको हिमालमा बाटोघाटो बनाउँदा पर्यावरण बिग्रन्छ । कार्कीको यो भनाइलाई कटाक्ष गर्दै पूर्वप्रधानमन्त्री केपी ओलीले सार्वजनिकरुपमै उनलाई वातावरणविदको संज्ञा दिएका छन् ।

मन्त्रालयचाँहि सञ्चार तर उहाँ वातावरणविद हुनुहुँदोरहेछ भन्दै ओलीले अल्फाबिटाको एक कार्यक्रममा बाटो बनाउँदा वातावरण बिग्रने कुरा गरेकोमा मन्त्री कार्कीको खिल्ली उडाएका छन् ।

सरकारका प्रवक्ता भए पनि मन्त्री कार्कीले अहिलेसम्म आफूमाथि लागेका यी आरोपहरुको औपचारिक खण्डन गरेका छैनन् । गरुन् पनि कसरी रु उनलाई एक जना कर्मचारीको पछि लागेर घुमघाम गर्नमै फुर्सद छैन ।

मन्त्री कार्कीलाई यतिबेला रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीले घुमाउने गरेका छन् । शुक्रबार साँझ मन्त्री कार्की र उनका छोरीलाई उनै कर्मचारीले मकवानपुरको दामन पुर्‍याएर दारुपानीसहित एक रात बास बसाए । गाडीमा दामन जाने क्रममा ती कर्मचारीले राम कार्की आफ्नै परिवारको सदस्य एवं दाजु भएको बताए ।

मधेसी नेता राजलाल यादवको सिफारिसमा रेडियो नेपालमा छिरेका सुरेशले जुनसुकै सञ्चारमन्त्री हुँदा पनि आफ्नो प्रभावमा पार्ने गरेका छन् । यसअघि सञ्चारमन्त्री शेरधन राईलाई पनि उनले दामन घुम्न प्रस्ताव गरेका थिए । तर, राईले मानेनन् ।

मन्त्री कार्कीलाई दामन घुमाएको र एक रात बास बसेको खर्चसमेत तिनै रेडियोका कर्मचारीले ब्यहोरेका थिए । त्यसक्रममा बिहान सिमभञ्ज्याङमा रेडियो नेपालको टावर निरीक्षण गराएर कार्कीले रेडियोमा समाचारसमेत बजाए ।

दामनबाट फर्केलगत्तै मन्त्री कार्कीलाई रेडियो नेपालका उनै कर्मचारीले दाजु नाता लगाउँदै प्लेन चढाएर मुगु पुर्‍याए । मुगुको रारा ताल घुमाएर उनले मन्त्री कार्कीसँगै खिचाएको फोटो आफ्नो फेसबुकमा हालेका छन् ।

माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरको कार्यक्रममा भाग लिन भन्दै मन्त्री कार्की मुगु गएका हुन् । यसअघि मन्त्री कार्कीले सरकारको जिम्मेवारी सम्हालेपछि धनकुटाको भेडेटार, नाम्जे र नुवाकोट भ्रमण गरेका छन् ।

मन्त्री कार्कीलाई आफ्नो साख्खै दाजु बताउँदै फनफनी घुमाइरहेका सुरेस यसअघि सिरहामा वकिल थिए । त्यहाँ रहँदा मुद्दा हेर्ने क्रममा कार्कीको सम्बन्ध मधेसी फोरमका नेता राजलाल यादव र वीपी यादवसँग भयो । पछि राजकिशोर यादव मन्त्री बनेपछि सुरेशले राजलाललाई भन्न लगाएर राजकिशोरमार्फत रेडियो नेपालको कार्यकारी निर्देशक पद हात पारेका हुन् ।

अहिले रेडियो नेपालमा सुरेशको पदावधि सकिन लागेको छ र उनी सुरेन्द्र कार्कीलाई हातमा लिएर पदावधि थप गर्ने योजनामा छन् । यही योजनाअनुसार उनले मन्त्री कार्कीलाई कहिले दामन त कहिले रारा घुमाएर प्रभावमा पार्न खोजेका हुन् । प्रचण्डसँग पनि आफ्नो राम्रो सम्बन्ध रहेको र शेरबहादुर देउवाले पनि कार्यकर्तालाई जागिर लगाइदिन आफूलाई फोन गर्ने गरेको सुरेशको दाबी छ ।

रेडियो नेपालमा बसेर ड्युटी गर्नुपर्ने बेलामा उनी सञ्चार मन्त्रालयको कर्मचारीजस्तै गरी मन्त्रीसँगै घुमघाममा तल्लीन छन् । मन्त्रीसँगै हिँडेपछि उनले सञ्चार सचिवलाई पनि टेर्ने कुरै भएन । आफ्ना निकटस्थहरुसँग उनी आफूले ६ जनाभन्दा बढी सचिव र मन्त्रीहरु फेरिसकेको बताउँछन् ।

मन्त्री कार्की दामन घुम्न जाँदा उनले विभिन्न विषयमा छलफल गर्ने र रिफ्रेस हुने भन्दै केही पत्रकारलाई पनि लगेका थिए । तर, त्यहाँ कुनै छलफल भएन । खानपिन र बास बस्ने काममात्रै भयो । पत्रकारको टोलीसँग कार्कीको फोटो सेसन भयो ।

मन्त्रीहरु जिल्ला भ्रमणमा जाँदा भ्रमण खर्च र भत्ता भनेर सरकारलाई बिल बुझाउने प्रचलन छ । पार्टीको भातृ संगठनको बैठकमा जिल्ला दौडाहा एवं रारा तालमा रमाइलो गर्न पुगेका मन्त्री कार्कीको खर्चको बिल सरकारले व्यहोर्छ या माओवादी पार्टीले ?  यो विस्तारै खुल्दै जाला । कि यो खर्च उनै रेडियोका कर्मचारीले व्होर्छन् ?  तर, त्यसको स्रोत होला भन्ने अर्को प्रश्न उठ्न सक्छ ।

मुख्य काममा मन्त्रीको ध्यानै छैन

सरकारका प्रवक्ताको काम प्रचण्ड नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने, सरकारबारे फैलिएका भ्रमहरु कसरी चिर्ने अनि राजनीतिक सहमतिको वातावरण बनाउन कसरी सहजीकरण गर्ने भन्ने हो । तर, यो जिम्मेवारीतर्फ सञ्चारमन्त्रीको खासै ध्यान गएको यो एक महिनाको अवधिमा देखिँदैन ।

ram karki_suresh karkiबरु यसको विपरीत मधेसी मोर्चालाई सहमतिमा ल्याउने पहल गर्नु भन्दा पनि मन्त्री कार्कीको दृष्टिकोण मधेसको मामिलामा उति साह्रो सकारात्मक नरहेको मोर्चाका नेताहरुको गुनासो छ ।

टेलिकममा विना पैसा कामिनीको नियुक्ति !

सूचना तथा सञ्चारमन्त्री कार्कीले यसैसाता नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्तिको सिफारिस गरे । मन्त्रिपरिषदले उनको सिफारिस सदर गरिसकेको छ ।

पार्टीभित्रैबाट पैसाको बिटो लिएर अन्य व्यक्तिलाई टेलिकममा ल्याउन लागिएको तर, आफूले रोकिदिएको मन्त्री कार्कीको दाबी छ । आफूले एक पैसा नखाई कामिनीलाई टेलिकममा सिफारिस गरिदिएको कार्कीले आफू निटस्थहरुलाई बताएका छन् ।

कामिनीको नियुक्तिबाट माओवादीकै पार्टीकै केही नेतासमेत रिसाएको मन्त्री कार्कीको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment