Comments Add Comment

भरतपुर अस्पतालमा विना अप्रेशन इआरसिपी प्रविधीबाट उपचार शुरू

Bharatpur-Hospital

१४ असोज, चितवन । चितवनको भरतपुर अस्पतालमा शुक्रवारबाट बिना अप्रेशन पित्त नलीमा रहेको पत्थरीको उपचार इआरसिपी मेशिनद्वारा गर्न थालिएको छ । राजधानी बाहिर धुलिखेल बाहेक चितवनको भरतपुर अस्पतालमा यो सेवा शुरु भएको हो ।यो प्रविधिबाट पित्तनलीमा रहेको ढुंगा निकाल्ने, पित्त नलीको जाँच गर्ने, पत्थरीको ट्युमर परजीवि हेर्ने, नली साँघुरो भएको भए जाँच गरी स्टाण्ड राख्ने काम गरीने अस्पतालका सर्जन डा. श्याम श्रेष्ठले जानकारी दिए ।

भरतपुर अस्पतालमा शुक्रबार आयोजित एक कार्यक्रमबीच यो सेवाको शुभारम्भ गरिएको छ । धुलिखेल अस्पतालका बरिष्ठ चिकित्सकद्वय राम गुरुङ र विवेक पूर्वे तथा भरतपुर अस्पतालका सर्जन डा. आषिश पुनले अप्रेशन थिएटरमा गरेको बिरामीको उपचार लाइभ भिडियो मार्फत सभाहलमा देखाइएको थियो ।

सभा हलमा रहेका क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. बिनय ठाकुर र भरतपुर अस्पतालका डा. सुरेश प्रधानले उपचाररत चिकित्सकहरूसँग कम्युनिकेशन गरेका थिए ।

Operation-by-ERCP-Machineआज शुक्रवार २ जना बिरामीहरुको पित्तनलीमा रहेको पत्थरी मुखबाट पाइप राखेर निकालिएको थियो । भरतपुर अस्पतालले ४२ लाख रुपैयाँको लागतमा यो मेशिन भित्राएको हो । उपचार पद्दतीमा यसलाई बिशिष्टकृत सेवा भित्र राखिएको छ ।

क्यान्सर अस्पतालका वरिष्ठ सर्जन डा. ठाकुरले पित्त नलीको क्यान्सर भएर साँघुरो भएको, अप्रेशन गर्न नमिल्ने, पत्थरी र जण्डिस भएका बिरामीहरूमा स्टाण्ड राख्नका लागि यो उपचार सेवा निकै प्रभावकारी भएको बताए ।

नेपालको विर अस्पताल, टिचिङ अस्पताल र धुलिखेल अस्पतालमा मात्रै रहेको यो सेवा अब भरतपुर अस्पतालमा पनि शुरू भएको छ ।

‘यो उपचार पद्दती निकै भरपर्दो र प्रभावकारी छ,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले भने, ‘बिरामीलाई अप्रेशन गर्नुपर्ने, घाउ पाक्ने, ढिलो निको हुने, रकम र समय दुबै खर्च हुने अवस्थाको अन्त्य इआरसिपी उपचार पद्धतीबाट हुन्छ ।’

भरतपुर अस्पतालले यो प्रविधिबाट ९ हजार रुपैयाँमा सेवा दिने भएको छ । बाहिरका अस्पतालमा उपचार गराउँदा ५० हजार रूपैयाँसम्म खर्च हुन्छ ।

चितवनका अन्य कुनै पनि नीजि अस्पताल वा मेडिकल कलेजहरुमा यो सेवा उपलब्ध छैन ।

भरतपुर अस्पतालको सर्जरी विभाग र मेडिसिन विभाग मिलेर सेवा दिने मेसु डा. मरासिनीले जानकारी दिए । अस्पतालले सर्जरी विभागका डा. आशिष पुन र केही नर्सहरूलाई इआरसिपी उपचार प्रविधिबारे तालिमका लागि समेत पठाएको थियो ।

भरतपुर अस्पतालका निवर्तमान अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पतालबाट बिशिष्टकृत सेवा आरम्भ भएको भन्दै यसबाट विपन्न, असाहयहरूले पनि लाभ उठाउन सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment