Comments Add Comment

एनआरएनले बनाइदिने नमूना बस्ती प्रधानमन्त्रीले शिलान्यास गर्ने

Gorkha Laprak, earthquake Victims (17)
लाप्राकमा भूकम्प पीडितहरुको अस्थायी बस्ती

१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले भूकम्प पीडितहरुलाई बनाइदिन लागेको नमूना बस्तीको शिलान्यास प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोर्खाको लाप्राकमा गर्ने भएका छन् ।

एनआरएन अध्यक्ष शेष घलेले बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर नमूना बस्ती शिलान्यास गरिदिन आग्रह गरेका थिए । अध्यक्ष घलेको सो आग्रहलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको एनआरएनका कार्यकारी निर्देशक राजेश शमसेर राणाले जानकारी दिए ।

‘हाम्रो अध्यक्ष र प्रधानमन्त्री ज्यूसँग आज भेट भएको थियो,’ राणाले अनलाइनखबरसँग भने, ‘एनआरएनले भूकम्प पीडितहरुलाई गरेको सहयोग सह्रानीय भएको भन्दै प्रधानमन्त्री ज्यूले नमूना बस्ती शिलान्यास गर्न जान्छु भन्नुभएको छ ।’

एनआरएनले गत वैशाख १२ को भूकम्पबाट घरबार विहीन भएकाहरुका लागि सबै सुविधायुक्त एक हजार नमूना घर बनाइदिने घोषणा गरेको थियो । त्यसका लागि ३५ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

गत वैशाख १२ गते गोर्खाको लाप्राक केन्द्रविन्दु भएर विनाशकारी महाभूकम्प गएको थियो । भूकम्पले गोर्खासहित १४ जिल्लामा ठूलो जनधनको क्षति भएको थियो भने लाप्राकमा जमिन फाटेर बस्ती न बस्न नसक्ने अवस्था छ ।

एनआरएनको गुरुयोजना अनुसार लाप्राकको गुन्सीपाखामा सुविधायुक्त ६ सयवटा घरहरुको नमूना बस्ती बनाइने छ र त्यहाँ लाप्राकका भूकम्प पीडितहरुलाई पुनर्बास गराइने छ ।

भूकम्पलगत्तै पीडितहरुको उद्धार, राहत वितरण तथा पुनर्निमाणमा सक्रिय भएको एनआरएनले सरकारसमक्ष एकीकृत नमूना बस्ती निर्माणको योजना प्रस्ताव गरेको थियो । तर, सरकारले ढीला गरी त्यसलाई स्वीकार गरेको थियो । राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एनआरएनबीच नमूना बस्ती निर्माणको सम्झौता भएपछि विस्तृत अध्ययन गरी गुरुयोजना बनाइएको थियो ।

नमूना बस्ती निर्माण र भूकम्प पीडितहरुको राहतका लागि संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुले सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment