Comments Add Comment

कामदारको २४ घण्टे बिमा ग्यारेन्टी नगरेसम्म साउदीसँग श्रम सम्झौता नहुने

श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउनुपर्ने नेपालको अडान

labour-agreement
२ कात्तिक, काठमाडौं । नेपाली कामदार लैजानेबारे साउदी अरेबियासँग हुने भनिएको द्विपक्षीय श्रम सम्झौता अन्योलमा परेको छ । बिमा र रोजगारदाता परिवर्तनको अधिकारबारे कुरा नमिलेपछि साउदीसँग द्विपक्षीय श्रम सम्झौताको विषय टुंगो लाग्न नसकेको हो ।

श्रम सम्झौताका प्रारम्भिक मस्यौदामा नेपालले साउदीसँग कामदारलाई २४ घण्टे बिमा उपलब्ध गराउन प्रस्ताव गरेको थियो । तर, साउदी सरकारले आˆनो धार्मिक कानुनले त्यसलाई निषेध गर्ने भन्दै मानेको छैन ।

साउदी कामदारको २४ घण्टे बिमा गर्न तयार नभएसम्म नेपालले श्रम सम्झौताका लागि सहमति नजनाउने श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिए ।

कार्यस्थलसहित करार अवधिभर कामदारको जुनसुकै कारण नेपाली कामदारको ज्यान गएपनि बिमा रकम उपलब्ध गराउन नेपालले साउदीसँग माग गरेको हो । सबै विषय मिलिसक्दा पनि साउदी बिमा सुविधा दिन भने तयार नभएकोले लगभग तयारी सकाएर पनि सम्झौताको मिति तय गर्न नसकिएको प्रवक्ता भूर्तेलले बताए ।

अहिले विदेशमा ज्यान गुमाएका कामदारका परिवारलाई नेपाल सरकार र स्वदेशी कम्पनीले मात्रै क्षतिपूर्ति दिने गरेका छन् । रोजगारदाता मुलुकले पनि कामदारलाई बिमा प्रत्याभुत गर्नुपर्ने नेपालको अडान छ । सम्झौताको मस्यौदा तयार गरेेर बसेपनि बिमाका लागि कुरा नमल्दिा प्रक्रिया रोकिएको छ ।

‘हामी कामदारको अधिकतम् सुरक्षा र हितलाई केन्द्रमा राखेर यो अडान लिइरहेका छौं । किनभने बिमा कामदारको अधिकार नै हो’ भुर्तेलले भने,’बिमा भयो भने साउदी पुग्ने नेपाली कामदार र उनीहरुका परिवारले कुनै दुर्घटना भइहाले उचित राहत पाउन सक्छन् । अहिलेको जोखिमलाई कायमै राखेर श्रम सम्झौता नगर्ने सोचमा मन्त्रालय छ ।’

उनले नेपाली कामदार विभिन्न कारण ज्यान गुमाउन बाध्य हनुपरेको भन्दै कार्यस्थलको बिमामात्रै माग नगरिएको उनको भनाइ छ । २४ घण्टे बिमाले कामदारको जोखिमलाई घटाउने सरकारको विश्वास छ । तर, साउदी यसमा सहमत नहुँदा भने श्रम सम्झौतामा थप ढिलाइ भएर अनिश्चतता बढेको छ ।

६ महिनामा कम्पनी फेर्न दिन माग

उनले कामदारले ६ महिना काम गरेपछि कुनै समस्या भए रोजगारदता परिवर्तन गर्न पाउनुपर्ने विषय पनि श्रम सम्झौतामा समावेश गर्न साउदीसँग माग गरिएको बताए ।

तर, साउदीले यसमा पनि असहमति जनाएको छ । केही समयअघि मात्रै साउदीले रोजगारदाता परिवर्तन गर्नेमाथि थप कठोर हुने भन्दै जरिवाना रकममा भारी वृद्धि गरेको थियो ।

तर, नेपालले कामदारले समस्या भोगेमा कम्पनी वा रोजगारदता परिर्वतन गर्न पाउनुपर्ने अडान राखेको छ । यसमा पनि कुरा मिल्न बाँकी छ ।

न्युनतम् तलब ११ सय रियाल

श्रम सम्झौताको मस्यौदामा नेपाली कामदारले साउदीमा न्युनतम ११ सय रियाल तलब पाउनैपर्ने उल्लेख छ । न्युनतम् तलव ११ सय रियाल पुर्‍याउन साउदी पनि तयार भएको छ । सुरुवात १३ सय रियाल हुनुपर्ने प्रस्ताव गरिएपनि सम्झौतामा ११ सय रियाल कायम गर्न लागिएको छ ।

अहिले ७ सय रियाल न्युनतम् तलवमै नेपाली कामदार साउदी पुगिरहेका छन् । सम्झौतामा हस्ताक्षर भए अब साउदी सरकारले नेपाली कामदारको तलव ११ सय रियाल तोक्नेछ । यसबाट नेपाली कामदारको न्युनतम् तलव केही बढ्नेछ ।

साउदीले लामो समयदेखि नेपालबाट कामदार लगिरहेको छ । तर, साउदीसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन ।

सरकारले साउदी अरेबियासँग दुई किसिमकै कामदारको हितलाई समेटेर श्रम सम्झौता गर्ने तयारी गरेको हो । जेनेरल वर्कर अर्थात औद्योगिक तथा निर्माण लगायतका क्षेत्रमा जाने कामदार र घरेलु कामदारबारे यसमा स्पष्ट व्यवस्था गरिनेछ ।

श्रम सम्झौताले नेपाली कामदार लैजाने प्रक्रिया, कामदारको सुरक्षा तथा हित, पारिश्रमिक, सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गर्नेछ ।

सम्झौता भएपछि नेपाली कामदारका लागि साउदी थप आकर्षक श्रम गन्तब्य बन्ने प्रवक्ता भुर्तेल बताउँछन् । तर, पछिल्लो समयमा साउदीमा नेपाली कामदारको समस्या बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment