Comments Add Comment

नेपाल टेलिकमले पायो फोरजी सञ्चालनको अनुमति

कार्यविधि बनेपछि एनसेलले पनि पाउने

७ कात्तिक, काठमाडौं । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको छ ।

ntc-logoसरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमलाई शुक्रबार बसेको प्राधिकरणको सञ्चालक बोर्डले अनुमति दिने भनी माइनुट उठाएको प्राधिकरणका प्रमुख दिगम्बर झाले अनलाइनखबरलाई जानकारी दिए ।

प्राधिकरणको सञ्चालक समिति बोर्डले माइनुट गरेको फाइलमा हस्ताक्षर भने आज-भोलिमै हुने उनले बताए ।

झाका अनुसार टेलिकमलाई १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने गरी अनुमति दिइएको छ । अब टेलिकमले १० मेगाहर्जबाट टु जी र थ्री जी सेवालाई निरन्तर गर्ने छ भने ५ मेगाहर्जबाट फोरजी सञ्चालन गर्ने छ ।

नेपाल टेलिकमसँग प्राधिकरणले दशैं अगावै फोरजी सञ्चालनको कार्ययोजना माग गरेको थियो । टेलिकमले अनुमति पाएको दुई महिनाभित्र अर्थात पुस महिनादेखि काठमाडौं र पोखराको शहरी क्षेत्रमा फोरजी सुरु गर्दै विस्तार गर्ने कार्ययोजना प्राधिकरणमा पेश गरेको थियो । टेलिकमले पेश गरेको कार्ययोजनाकै आधारमा टेलिकमलाई फोरजी सञ्चालनको अनुमति दिइएको झाले बताए ।

यससँगै नेपाल टेलिकमले प्राधिकरणले उपलब्ध गराएको १८ सय मेगावाट फ्रिक्वेन्सी ब्याण्डमार्फत् पुस १५ गतेबाट सेवाग्राहीले फोरजी सेवा उपलब्ध गराउन पाउने छ ।

कार्यविधि बनेपछि एनसेलले पनि पाउने

टेलिकमले अनुमति पाएपनि अन्य मोबाइल सेवा प्रदायक कम्पनीलाई केही समय लाग्ने भएको छ ।

‘एनसेललाई फोरजी सञ्चालन गर्न १५ मेगाहर्जको फ्रिक्वेन्सी आवश्यक पर्छ,’ झाले भने ‘तर एनसेलले अहिले पाएको फ्रिक्वेन्सी ११ मेगाहर्जमात्र हो ।’

टेलिकमले भने पहिले नै १५ मेगाहर्जबाट सेवा दिँदै आएको थियो ।

११ फ्रिक्वेन्सीमार्फत फोरजी सेवा सञ्चालन हुन नसक्ने र फि्रक्वेन्सी थप गर्न कार्यविधि नै बनाउन पर्ने भएकाले केही ढिला हुने उनले बताए । कार्यविधि बनाउन कमिटी गठन भइसकेको छ ।’

झाले भने ‘कार्यविधि बन्नसाथ एनसेललाई पनि फोरजी अनुमति दिने काम अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment