Comments Add Comment

जिविस कर्मचारीदेखि सिंगापुरे लाहुरेसम्म ‘आतंककारी’ संगठनमा

चौकी र बैंक आक्रमणको योजना बनाउने समूह यसरी समातियो

mangolian-national-force
मंगोल मुलबासी राष्ट्रिय फोर्सका सदस्यहरु

८ कात्तिक, काठमाडौं । उपत्यकाका विभिन्न विद्यालयमा बम आतंक चलाउने एक समूहलाई पक्राउ गरेको एक साता नवित्दै प्रहरीले त्यस्तै आतंककारी शैलीको एक सशस्त्र समूहलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विषेश ब्युरोले पाँच दिनदेखि चलाएको विशेष कारबाहीमा हतियार तथा विष्फोटक पदार्थसहित ‘मंगोल मुलबासी राष्ट्रिय फोर्स’ नामको भूमिगत समूहको नाइकेसहित १३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ थान कटुवा पेस्तोल, २ थान रिभल्वर, १२ राउण्ड गोली, सैन्य दस्ता, कम्ब्याड ड्रेस र केही विष्फोटक पदार्थ समेत बरामद भएको छ ।

यसरी भयो कार्वाही

केही दिन अघि भक्तपुरको मनोहरा खोलाको किनारस्थित सुकुम्बासी बस्ती केही व्यक्तिहरु शंकास्पद अवस्थामा रहेको सूचना विषेश ब्युरोमा पुगेको थियो । विशेष ब्युरोेले सूचनाको आधारमा सुकुम्बासी बस्तीमा निगरानी बढायो । निगरानीको क्रममा गत बुधबार सुकम्बासी बस्तीमा रहेको एक घरमा छापा मार्दा दुई थान कटुवा पेस्तोलसहित पाँचथरका सचिन्द्र पालुङवा लिम्बु भन्ने शशी लिम्बु पक्राउ परे ।

लिम्बुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेपालका पश्चिम र पूर्वीक्षेत्रमा सैन्य दस्तासहित संगठित भैरहेको ‘मंगलबासी राष्ट्रिय फोर्स’ नामको भूमिगत समूह सक्रिय भैरहेको खुलेको हो ।

mangolian-force
सोमबार सार्बजनिक गरिएकाहरु

लिम्बु पक्राउ परेलगत्तै थप कार्वाही गरेको विषेश ब्युरोले बिहीबार भक्तपुरकै विभिन्न स्थानबाट संगठनका प्रमुख भनिएका उपेन्द्र घर्तीमगर, पूर्वक्षेत्रीय प्रमुख भनिएका ताप्लेजुङ सिकौचीका पृथ्वीनारायण लिम्बु र मध्यक्षेत्रीय प्रमुख भनिएका रामेछापका टेम्डी शेर्मालाई पक्राउ गरेको थियो ।

त्यस्तै सुवास राई भन्ने खोटाङका सुवास चन्द्र किराँती पनि भक्तपुरबाट पक्राउ परेका छन् भने सिन्धुपाल्चोकबाट रविन श्रेष्ठ पक्राउ परेका छन् । उता रोल्पामा पाँच जना पक्राउ परिसकेको प्रहरी बताउँछ । संगठनको हेडक्वाटर भनिएका प्रमुख नेताहरुसँगै अन्य सदस्यहरु पनि पक्राउ पर्नुलाई प्रहरीले ठूलो सफलता भनेको छ ।

भूमिगत समूहबाट बरामद हतियार र विष्फोटक पदार्थहरु
भूमिगत समूहबाट बरामद हतियार र विष्फोटक पदार्थहरु

जिविसको कर्मचारीदेखि सिंगापुरे लाहुरेसम्म आतंककारी संगठनमा

विशेष ब्युरोको कार्वाहीमा परेका १३ जनामध्ये कोही जिल्ला विकास समितिका कार्यालय सहयोगीदेखि सिंगापुरका पूर्वप्रहरी समेत रहेको खुलेको छ ।

भूमिगत समूहमा रहेर आपराधीक गतिविधि गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका रविन श्रेष्ठ जिल्ला विकास समिति सिन्धुपाल्चोकका कार्यालय सहयोगी भएको डीआइजी बमबहादुर भण्डारीले बताए । पश्चिमबाट आएका सदस्यहरुले उनकै घरमा सेल्टर लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै पूर्वी क्षेत्रीय प्रमुख भनिएका पृथ्वीनारायण लिम्बु सिंगापुरका पूर्वप्रहरी भएको पनि भएको खुलेको छ । लामो समय सिंगापुर प्रहरीबाट अवकाश पाएका लिम्बुले पूर्व क्षेत्रमा संगठनलाई आवश्यक विष्फोटक पदार्थदेखि गि्रनेटसम्म सप्लाई गर्ने गरेको भण्डारीले जानकारी दिए ।

चौकी आक्रमणको असफल प्रयास

प्रहरीका अनुसार रुकुमलाई आधार इलाका बनाएर २०७२ सालमा यो सैन्य दस्ता गठन भएको थियो । मंगोल नेशनल फोर्स, मंगोल मुलबासी फोर्स (किराँत)र संयुक्त जातीय मुक्ति मोर्चाबीच एकता भएर ‘मंगोल राष्ट्रिय फोर्स’ गठन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विषेश ब्युरो प्रमुख डीआइजी भण्डारीका अनुसार यो समूहसँग एक सय चार जना सदस्य छन् । यो समूहले केही महिना अघि रोल्पास्थित एक चौकीमा आक्रमणको प्रयास गरेको थियो ।

सुरक्षाको कारण प्रहरी चौकीको नाम खुलाउन नचाहेका डीआइजी भण्डारीले भने ‘ आक्रमण गर्ने योजनासहित रातको १ बजे यो समूह चौकी पुगेको थियो । त्यसक्रममा उनीहरुले सरुमा ढुंगा हानेर प्रहरीको सतर्कता पत्ता लगाएका रहेछन् तर प्रहरी चनाखो देखिएपछि भागेको देखिन्छ ।’

mangol-mulbasi-rastriya-force
भूमिगत समूहबाट बरामद सामाग्री

रोल्पामा प्रहरी चौकी आक्रमण गर्ने प्रयास असफल भएपछि मध्यक्षेत्रका कमाण्डर भनिएका टेम्डी शेर्पाको योजनाअनुसार यो समूह सिन्धुपाल्चोकको चौकीमा आक्रमण गर्ने योजना बनाएर गएको थियो । त्यहीक्रममा सूचना चुहिएपछि आपराधिक समूहको हेडक्वाटर नै पक्राउ परेको डीआइजी भण्डारीले बताए ।

यो समूहले अन्य बैंक तथा वित्तीय संस्थाहरु लुट्ने योजना पनि बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पूर्वलडाकुको तालिम, जनअदालत गठन

मंगोल मुलबासी राष्ट्रिय फोर्सलाई माओवादी पूर्वलडाकुहरुले सैन्य तालिम दिएको पाइएको छ ।

डीआइजी भण्डारीका अनुसार पूर्वलडाकु बिमल विकले यो समूहका सदस्यहरुलाई तालिम दिने गरेका थिए ।

प्रहरीले फेला पारेका तस्वीरहरुमा लडाकू शैलीमा सैन्य पोशाकमा तालिम लिइरहेका व्यक्तिहरु देखिन्छन् ।

रुकुमलाई आफनो सुरक्षितस्थल बनाइरहेको भूमिगत समूहले रोल्पामा भने जनअदालत समेत गठन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जनअदालतबाट उनीहरुले विभिन्न मुद्दा मामिला मिलाउनेदेखि जरिवाना तिराउनेसम्मको काम गरिसकेका थिए ।

द्वन्द्वकालको हतियारले चुनौती थप्योः डीआइजी भण्डारी

राजनीतिक संगठनको नाममा विभिन्न अपराधिक समूहले सुरक्षा चुनौति थप्न थालेको प्रहरीको विश्लेषण छ । पछिल्लो समय भूमिगत समूहसँग भेटिएका हतियारहरु थप चुनौतिपूर्ण बन्न थालेको विषेश ब्युरो प्रमुख डीआइजी भण्डारीको विश्लेषण छ ।

उनले भने, ‘नेत्रविक्रम चन्ददेखि सिके राउतसम्मको समूह अतिवादी हो । यिनीहरुले अहिलेसम्म हतियारको प्रयोग गरेका छैनन् तर अन्य भूमिगत समूहले राजनीतिको नाममा हतियार देखाउन थालेका छन् । यो हाम्रोलागि चुनौतिपुर्ण छ ।’

द्वन्द्वकालमा हराएका भनिएका हतियारहरु यार्सा गुम्बा लुट्ने अपराधीदेखि पूर्वलडाकुहरुको हातसम्म पुगेकाले त्यसलाई निस्तेज पार्न प्रहरी थप सक्रिय भैरहेको डीआइजी भण्डारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment