Comments Add Comment

१७ वर्ष लुक्दा पनि उन्मुक्ती पाएनन् यी लागुऔषध कारोवारीले

५ वर्षमा २ सय ८० जना फरार अपराधी पक्राउ

narayan-bahadur-thapa-and-raju-gole

१० कात्तिक, काठमाडौं । गत कात्तिक १ गते नुवाकोट, भद्रुटारका नारायणबहादुर थापा गाउँकै खेतमा बिटा लगाउँदै थिए । त्यतिकैमा करिब १ बजे केही व्यक्तिहरु थापाको खेतमै पुगे । जब ति व्यक्तिहरुले परिचय दिए, थापा थचक्कै बसे ।

थापा तिनै व्यक्ति थिए जसलाई अदालतले १७ वर्षअघि लागुऔषध कारोवारको अभियोगमा १५ वर्ष जेल संजाय सुनाएको थियो । अनि थापालाई भेट्न पुग्ने नयाँ व्यक्तिहरु थिए सिआइबीका प्रहरी ।

आफु सिआइबीको नियन्त्रणमा परेपछि थापा मानवीय नाताले बिटासम्म लगाउने समय दिन आग्रह गरे । तर १७ वर्ष देखी फरारको सुचिमा रहेका थापाले किन छुटकारा पाउँथे र । घरमा आएर श्रीमतीसँग उनले निकैबेर रुवावासी गरे र प्रहरीको साथ लागेर हिँडे ।

सिआइबीका डीएसपी कमल थापा भन्छन्, ‘ठिटो हुँदा धन्दा गरेको मान्छेलाई बुढेसकालमा समात्न जाँदा हामीलाई पनि त्यति राम्रो लाग्दैन, तर के गर्नु कानुन भन्दा माथि कोही छैन ।’

प्रहरीका अनुसार थापालाई अदालतले जेल संजाय तोकेको कुरा उनकी श्रीमती बाहेक अरुलाई थाहै थिएन । काठमाडौंको मनमैजुमा समेत घर भएका उनी बेला बेलामा भाडा लिन आउँथे र गाउँ पुगिहाल्थे ।

‘आफुले गरेको अपराधको संजाय यतिका वर्षपछि भुक्तान गर्नु पर्छ भन्ने उनले सांेचेका रहेनछन्,’ डीएसपी थापाले बताए । थापाका एक छोरा दुवइ प्रहरीमा जागिरे छन् भने अर्को छोरा जापानमा र छोरी अमेरिकामा छन् ।

२०५३ साल पुस २९ गते थापाले काम गर्ने ठमेलस्थित एभरेष्ट ट्रेकिङबाट खैरो हेरोइन बरामद भएको थियो । त्यही आरोपमा अदालतले उनलाई २०५६ सालमा सात वर्ष कैद र ५ लाख जरिवाना सजाय तोक्यो । मागदावी गरे बमोजिम सजाय नतोकिएपछि प्रहरी पुनरावेदन अदालत पाटन पुग्यो । पुनरावेदन अदालतले ०५९ सालमा थापालाई १५ वर्ष कैद सजाय र पाँच लाख जरिवाना फैसला सुनाएको थियो ।

अपराध गरेर केही भागेपछि प्रहरी र कानुनबाट बचिन्छ भन्ने भ्रम धेरै अपराधिमा हुन सक्छ । तर अदालतले दोषि ठहर गरेपछि फरार भएका अपराधीहरुको खोजीका लागि नेपाल प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरो -सिआइबी)ले विशेष अभियान चलाउँदै आएको छ । यसै क्रममा थापा जस्ता लागुऔषध कारोवारीदेखि हत्याराहरुसम्म धमाधम जेल जान थालेका छन् ।

हत्या गरेर कोरिया पुगेका घले १५ वर्षमा समातिए

असोज १६ गते सिआइबीका एक अधिकृत सामान खरिद गर्न खिचापोखरी पुगे । सामान छान्दै उनी चौथो तल्लामा रहेको एउटा कपडा पसलमा पुगेर रोकिए ।

पसलमा सामान विक्रि गरिरहेका एकजनालाई केहीबेर उनले नियालेर हेरे । ति अधिकृत पक्का भए, उनी त्यही व्यक्ति थिए जसलाई हत्याको अभियोगमा अदालतले जन्मकैद फैसला सुनाएको छ ।

०५७ साल कात्तिक १८ गते ठमेलको ‘जेली ५४’ नामको डिस्कोमा सुवर्ण गुरुङको हत्या गरेर फरार ति व्यक्ति थिए राजु घले । गुरुङको हत्यापछि पक्राउ परे पनि तारेखमा छुटेका घले भागेर कोरिया पुगे । सन् २००६ मा कोरिया गएका घलेलाई यता अदालतले दोषि ठहर गर्दै जन्मकैद सुनाएको थियो । मान्छे मारेर विदेश पुगे पछि त छुटकार पाइन्छ भन्ने सोचेका घले तिन वर्षदेखि काठमाडौंको खिचापोखरीमा व्यापार गरेर बसेका थिए । गत असोज १६ गते सिआइबीले पसलबाटै उनलाई नियन्त्रण गरेर कारागार पठायो ।

श्रीमतीलाई ज्यूँदै जलाउने श्रेष्ठ पनि जेलमा

०५६ सालमा कोटेश्वरमा आफ्नै श्रीमतीलाई ज्युँदै जलाउने नवराज श्रेष्ठ पनि कार्वाहीको दायराबाट उम्किन सकेनन । ०६२ सालमा पुनरावेदन अदालत पाटनले सर्वस्वसहित जन्मकैद संजाय तोकेका श्रेष्ठ नवराज नगरकोटीको नाममा नागरिकता बनाएर ललितपुरमा लुक्दै आएका थिए । आफनो परिचय र नागरिकता नै परिर्वतन गरेर बसे पनि नवराज १७ वर्ष पछि कारागार चलान भएका छन् ।

बेलुका आउने र एउटा भट्टीमा बसेर रक्सि पिउने उनको दैनिकी थियो । त्यही दैनिकीको बारेमा सिआइबीले सुचना पाएको थियो । त्यसपछि उनी के उम्किन सक्थे । अहिले कारागार पुगेका छन् अपराधको सजाय भुक्तान गर्न ।

पाँच वर्षमा ७ सय ३३ वर्ष कैद असुली

सिआइबीले पाँच वर्षको अवधिमा २ सय ८० जना फरार अपराधीलाई पक्राउ गरिसकेको छ । सिआइबी प्रमुख डीआइजी नवराज सिलावलका अनुसार अहिलेसम्म पक्राउ परेका २ सय ८० जनाबाट सात सय ३३ वर्ष १६ महिना कैद भुक्तान गराइएको छ ।

२५ महिला र २ सय ५५ पुरुष मार्फत विभिन्न अपराधको तीन अर्व ८५ करोड रुपैंया जरिवाना पनि असुल भएको डीआइजी सिलवालले बताए । एक लाख २४ हजार अभियोगमा अपराधीहरुले संजाय भुक्तान नगरेको सुची सिआइबीसँग रहेको उनको भनाई छ ।

पाँच रुपैंया जरिवानादेखी २ घण्टा जेल संजाय तोकिएका अपराधीहरुसम्म फरारको सुचिमा छन् । तर अध्यागमनसँग त्यस्ता अपराधीको सुची नहुँदा सजिलै उम्कने गरेको ब्युरोका डीएसपी थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment