Comments Add Comment

‘लोकमानले संविधान निर्माणमा पनि अवरोध गर्न खोजेका थिए’

अख्तियारलाई निजी कम्पनीका रुपमा चलाएपछि महाअभियोगः नेम्वाङ

Subas-Nemwang
१० कात्तिक, काठमाडौं । महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले संविधान निर्माण प्रक्रियामा समेत अवरोध गर्ने प्रयास गरेको खुलेको छ ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका अनुसार लोकमानले आफूलाई शक्तिशाली हुने गरी संविधान बनाउन दबाव दिए । तर, दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिएका थिए ।

प्रेस चौतारी नेपाल ललितपुर शाखाले बुधबार लगनखेलमा आयोजना गरेको चियापान नेम्वाङले संविधान निर्माण प्रक्रियामा समेत लोकमानले व्यवधान खडा गरेको खुलासा गरे ।

विघटित संविधानसभा अध्यक्ष नेम्वाङले भने, ‘संविधान मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिन बिभिन्न ढंगबाट दबाव दिए । तर, उनको चाहना अनुरुप नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारमा बोलाएर बयान लिए ।’

सभासदहरुलाई प्रभावित पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई तर्साउन अख्तियार प्रयोग गरेको उनले बताए । ‘बयान लिने क्रममा कर्मचारीहरुले अख्तियार प्रमुखले भने बमोजिम सभासदहरुलाई मनाउन किन नसकेको भनेर प्रश्न सोधेका रहेछन्’ उनले भने ।

आफूले सर्वदलीय बैठक बोलाएर अख्तियारले संविधान निर्माणमा अवरोध गरेको सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्दा मामिलाबाट मुक्त गर्न कार्की बाध्य भएको नेम्वाङले बताए ।

लोकमानले अख्तियारलाई निजी कम्पनीका रुपमा चलाएकाले महाअभियोग लगाउनुपरेको उनले बताए । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने भने, ‘अख्तियारका अरु आयुक्तहरुको मान मर्दन गर्ने र एक्लै व्यक्तिगत प्रतिशोधका आधारमा अघि बढ्ने क्रम रोकिएन । यो कुरा कांग्रेस सभापति शेरवहादुर देउवाले लोकमान शाही आयोग भन्दा पनि निरंकुश भएको भनिसक्नुभएको छ ।’

महाअभियोग प्रस्तावको सम्बन्ध सत्ता समिकरणसँगै कुनै कोणबाट पनि नरहेको प्रष्ट पार्दै उनले भने-सत्ता परिवर्तनसँग यसको कुनै साइनो छैन, यसबारे कांग्रेसले चिन्ता नगरे हुन्छ ।’

चौतारी ललितपूरका अध्यक्ष डिल्ली आचार्यको अध्यक्षतामा दशैं,तिहार, छठ र नेपाल सम्बतका अवसरमा आयोजित चियापानमा एमाले पोलिटव्यूरो सदस्य रघुजी पन्त, प्रचार बिभाग उपप्रमुख सूर्य थापा, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतले शुभकामना दिएको सचिव घनश्याम धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment