Comments Add Comment

जब महाकविले पासा खेल्दा कलम दाउमा राखे

laxmi-prashad-devkota-1महाकवि लक्ष्मीप्रसाद देवकोटासँग मेरो पहिलो भेट ०१२/१३ सालतिर भएको जस्तो लाग्छ । उहाँलाई आफ्ना कृतिहरु सार्ने मान्छे चाहिएको रै’छ । मेरो अक्षर निकै राम्रो थियो । उहाँले यस्तो राम्रो अक्षर भएको मान्छे त म खोजिरहेको थिएँ भन्नुभयो । मैले म गरिहाल्छु नि सेवा भनेँ ।

देवकोटाजी नेपाल भाषानुवाद परिषदका जागिरे लेखक हुनुहुन्थ्यो । उहाँले नै मलाई त्यहाँ जागिर मिलाइदिनुभयो । मैले मासिक ३० रुपैयाँ तलब पाउँथेँ । उहाँको तलब चाहिँ ८० रुपैयाँ थियो । पूर्णप्रसाद बाह्मण लगायतका अरु केही लेखक पनि अनुवादकका रुपमा जागिरे थिए । नाम भाषानुवाद भए पनि प्रायः सबै लेखकले मौलिक ग्रन्थ नै लेखे । पूर्णप्रसाद छोटा कथा लेख्नुहुन्थ्यो । देवकोटाजी महाकाव्य लेख्नुहुन्थ्यो ।

त्यहाँ जागिर गरेपछि देवकोटाजीका कृतिहरु साफी गर्ने काम गर्न थालेँ । भाषानुवाद परिषद्को कार्यालय हालको घन्टाघरभन्दा अगाडि थियो । त्यहाँ साहित्यकारहरु जम्मा भइरहन्थे । त्यसैले धेरै लेखकहरुसँग मेरो भेटघाट र चिनजान भयो ।

त्यस क्रममा ‘शारदा’ पत्रिकालाई पनि सघाउन पुगेँ । त्यहाँ पनि लेखक-कविहरुसँग सरसंगत भयो । त्यो सरसंगतले मलाई पनि लेखक बन्न प्रेरणा दियो र आफू पनि लेख्न थालेँ । लेखेर देवकोटालाई देखाउँथेँ । उहाँ राम्रो छ, राम्रो हुँदै गएको छ, लेख्दै गर भन्नुहुन्थ्यो ।

घ्यू कमिला जस्ता अक्षर

म उहाँलाई देवकोटाजी भनेर बोलाउँथेँ । उहाँ मलाई श्याम भन्नुहुन्थ्यो । कृति सार्ने क्रममा तुकबन्दी मिलेन भने म मिलाइदिन्थेँ । एक-दुई शब्द फेरबदल गरिदिन्थेँ । त्यो देखेर उहाँ श्यामले यहाँ अर्को शब्द थपिदिएछन्, सपार्न खोजेछन् भन्नुहुन्थ्यो । केही गाली गर्नुहुन्नथ्यो ।

देवकोटाजी साहित्यिक कार्यक्रममा भाग लिन रुस जानुभयो । त्यसबाट यहाँ कचिंगल निस्कियो । राजा तथा कुलपतिलाई एक शब्द सोध्दै नसोधी देवकोटा विदेश गएको भन्ने आरोप लाग्यो

उहाँको अक्षर मसिना थिए, घ्यू कमिला जस्तै । तर, स्पष्ट बुझिने खालका थिए । शब्द लेख्दा डिको नदिईकनै लेख्नुहुन्थ्यो । धाराप्रवाह लेख्न सक्ने खुबी थियो । कहिलेकाहीँ उहाँले बोल्ने र त्यही अनुसार मैले लेख्ने पनि गरियो । तर, त्यसो गर्दा उहाँको सोचाइ र बोलाइमा बीचमा अल्झो खडा भयो । त्यस्तो अलमल हुने गरेपछि भैगो मैं आफैं लेख्छु भनेर खुरुखुरु लेख्नुहुन्थ्यो ।
लेखक हुनलाई अन्तरभाव जाग्नुपर्छ । बोलेर अरुमार्फत लेखाउँदा त्यो अन्तरभाव जगाउनतिर ध्यान दिने कि बाहिर बयान गर्ने भन्नेमा सामञ्जस्य नमिल्दो रै’छ ।

उहाँको कृति मैले शुद्ध रुपमा सारेपछि त्यो पाण्डुलिपि छाप्नका लागि प्रेसमा पठाइन्थ्यो । त्यतिबेला प्रेस धेरै थिएनन् । किताब छाप्ने प्रेस ऋद्धिबहादुर मल्लको जोरगणेश प्रेस नै थियो । किताब छाप्ने बेला म पनि हेर्न जान्थेँ ।

देवकोटाको सबै किताब मैले सारेको होइन । मुख्य गरी ‘शाकुन्तल’ महाकाव्य, ‘तुषार वर्णन’ काव्य र अरु केही सारेको हुँ । अरु कतिपय कृति उहाँकै लेखोट प्रेसमा पुगेर सोझै पनि छापिन्थ्यो ।

देवकोटाको बढ्ता मिहिनेत परेको कृति त शाकुन्तल नै हो । महाकाव्य भएकोले स्वरूप पनि भव्य नै थियो । मलाई पनि त्यही मन पर्छ ।

shyamdas-3

राजासँग नसोधी विदेश जाँदा तीन महिनाको तलब जरिवाना

देवकोटा भन्नु त्यो बेलाका एउटा नमुना हुन् । अरुभन्दा असाधारण प्रतिभाका धनी हुनुहुन्थ्यो । तर, त्यो नमुनामा घात-प्रतिघात पनि आइलाग्यो ।

०१४ सालमा राजा महेन्द्रको अगुवाइमा नेपाल साहित्य कला एकेडेमी स्थापना भयो । कुलपति पनि राजा नै थिए । एकेडेमीको प्राज्ञ परिषद्का सदस्य थिए देवकोटा । त्यही समयमा देवकोटाजी साहित्यिक कार्यक्रममा भाग लिन रुस जानुभयो । त्यसबाट यहाँ कचिंगल निस्कियो । राजा तथा कुलपतिलाई एक शब्द सोध्दै नसोधी देवकोटा विदेश गएको भन्ने आरोप लाग्यो ।

उपकुलपति बालचन्द्र शर्मा लगायतका व्यक्तिहरुले राजालाई त्यस्तो कुरा लगाएका थिए । नसोधी त्यसरी जानु यो त एकदम अमर्यादित काम भयो भनेर कान फुकेका रहेछन् । त्यसवापत कारबाही स्वरुप देवकोटालाई तीन महिनाको तलब जरिवाना गरियो । उहाँसँग माधवप्रसाद घिमिरे पनि रुस गएका थिए । घिमिरेलाई पनि आधा महिनाको तलब जरिवाना भयो ।
त्यसरी जरिवाना नगरेको भए हुन्थ्यो । तर, कुरा लगाएपछि एक किसिमको घात नै भयो ।

एकेडेमीमा मैले पनि काम गरेँ । कामका सिलसिलामा देवकोटासँग कहिले नजिक भइयो त कहिले टाढा भइयो । भेट चाहिँ भइरहन्थ्यो ।

पैसाको अभाव भइरहन्थ्यो

देवकोटाजी यस्ता थिए, उस्ता थिए भनेर अनेक अफवाह फैलाइएको पाइन्छ । तलब थापेको दिन बाटोमा बाँड्दै हिँड्थे, आफ्नो कोट नै फुकालेर गरिबलाई दिन्थे भन्ने जस्ता चर्चा चलेको पाइन्छ । यस्तो कुरा मैले पनि सुनेको हुँ । तर, कोटै फुकालेर दिएको थाहा छैन । एक-दुई जनाले यत्तिकै फर्माएर भनेको हो कि जस्तो लाग्छ । वास्तवमा उहाँको जीवनमा पैसाको दुःखै थियो ।
उहाँ प्रायः भनिरहनुहुन्थ्यो, ‘पैसै पुगेन, घर चलाउन एकदम गाह्रो पर्‍यो ।’

एक बाजि आफ्नै दाजुभाइसँग पासा खेल्नुभएछ । पासा खेल्दा देवकोटाजी हार्दै जानुभयो । त्यस क्रममा दाजुभाइले सोधेछन्, ‘अब दाउमा के राख्ने ?’ त्यो बेला देवकोटाले फाउन्टेन कलम अघि सार्नुभएछ ।

देवकोटाजी जागिर गर्नुका साथै घरैमा ट्युसन पढाएर पनि अलिअलि पैसा कमाउनुहुन्थ्यो । अंग्रेजी भाषामा उहाँको पकड राम्रो थियो । विद्यार्थीले सय रुपैयाँको दरले ट्युसन फी दिन्थे । ट्युसन पढेका विद्यार्थी परीक्षामा पास पनि हुन्थे ।

एक बाजि छोरीको बिहे गराउनुभयो । मुश्किल पर्‍यो भनेर भाषानुवादमा आफ्नो समस्या राख्नुभयो । उहाँलाई बिहे खर्च स्वरूप पाँच सय रुपैयाँ सहयोग दिइयो ।

एक पटकको घटना म निकै सम्झिन्छु । उहाँले तलब थापेको एक दिन पैसा मैले बोकेको थिएँ । नोट नभई सिक्कैसिक्का गहु्रंगो हुने भएकोले मैले सघाएको थिएँ । सँगै उहाँको घरतिर जाँदै थियौं, बाटोमा एउटा फलफूल पसलमा उहाँ रोकिनुभयो । पसलको एउटा कुनामा मेवाको रास थुपारिएको थियो ।

उहाँले सोध्नुभयो, ‘यो मेवा एउटाको कति पर्छ ?’

पसल्नीले देवकोटालाई बडो उपेक्षाको भावले हेरी । उसले रुखो स्वरमा भनी, ‘यो मेवा बेच्नका लागि होइन !’

मलाई झसंग भयो । यत्रो ठूलो लेखकलाइ पनि उसले चिनिन, मेवा किन्न खोज्दा पनि पत्याइन, सिल्ली जस्तै ठानी भन्ने लाग्यो मलाई । देवकोटालाई कतिपयले सिल्ली भन्थे । त्यो फलफूल पसल उहाँको पुरानो घर (धोबिधारा) को सोझै अगाडि थियो ।

देवकोटाले नाटक पनि लेख्नुभयो । डिल्लीबजारको नाटक मण्डलीमा म काम गर्थेँ । नाटक मण्डलीले देवकोटालाई नाटक लेख्न दिएको थियो । मण्डलीका सञ्चालकले देवकोटाको धेरै काम हुन्छ, नाटक छिटो लेखाउन तिमी ताकेता गर्दै गर भनेर मलाई अह्राएका थिए ।

मैले देवकोटा कहाँ गएर ताकेता गरे जस्तो गरेँ । उहाँले ‘भरत विलाप’ भन्ने नाटक लेखेर दिनुभयो । उतिबेला राणाजीको ढोका अगाडि अस्थायी रंगमञ्च बनाएर नाटक देखाइन्थ्यो ।

मासुका सौखिन

खानपानमा देवकोटाको विशेष सौख थियो । त्यसमा पनि मासु भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । एक बाजि काठमाडौंमा हिउँ पर्‍यो । म देवकोटाको धोबिधारास्थित घरमा बसिरहेको थिएँ । हिउँ परेपछि देवकोटाजीले श्रीमतीसँग भन्नुभयो, ‘मलाई त मासु खान मन लाग्यो बज्यै !’

म त्यस्तै १८/२० वर्षको ठिटो थिएँ, मासु म ल्याउँछु नि त भनेर फूर्तिसाथ अघि सरेँ । त्यस्तै पाँच रुपैयाँ जति लिएर मासु पसल खोज्दै हिँडेँ ।

हिउँ परेको बेला त्यस्तो जाडोमा कसले पसल खोल्ने ! खोज्दै जाँदा एउटा पसल खुलेको देखेँ, अगाडि मासु राखेर जाडोमा हात चपक्क बाँधेर पसले बसिरहेका थिए । मासु किनेर देवकोटाको घरमा बुझाइदिएँ ।

त्यो देखेर बज्यैलाई आश्चर्य लागेछ । उहाँले मायालु पारामा झपार्नुभयो, ‘यस्तो हिउँ परेको बखतमा हिँड्न हुन्थ्यो ? रुखको हाँगा भाँच्चिएर लाग्न सक्थ्यो । कस्तो विचित्रको काम गरेको यो !’

बाजे मासु खाने भन्ने, बज्यैले चाहिँ विचारै नगरीकन बाहिर निस्कियो भनेर कराउने ! म चाहिँ उतिबेला मासु खान्नथेँ ।
हिउँ परेको त्यही राति उहाँले ‘तुषार वर्णन’ भन्ने काव्य लेख्नुभएछ । मासु खाएको फल, खण्डकाव्य जन्मियो ! खसीको मासुभन्दा पनि अझ टाउको मन पथ्र्यो देवकोटालाई । टाउकोको रस खान रुचाउनुहुन्थ्यो ।

shyamdas-4

पासा खेल्दा दाउमा फाउन्टेन पेन !

एक बाजि आफ्नै दाजुभाइसँग पासा खेल्नुभएछ । पासा खेल्दा देवकोटाजी हार्दै जानुभयो । त्यस क्रममा दाजुभाइले सोधेछन्, ‘अब दाउमा के राख्ने ?’

त्यो बेला देवकोटाले फाउन्टेन कलम अघि सार्नुभएछ ।

पछि यो कुरा सुनेर मलाई त आश्चर्य लाग्यो, महाकवि जस्तो मान्छेले फाउन्टेन कलम धितो राखेर पासा खेल्नुभयो । नमज्जा लागेर त्यही कुरा मैले भाषानुवादमा पण्डितहरुसँग चर्चा गरेँ । त्यो कुराले त पण्डितहरुले देवकोटालाई जिस्क्याउने बाटो भयो, ‘महाकवि भएर कलमलाई बाजीमा प्रयोग गरेर के गर्‍या कविजी ?’

अरुहरुले पनि जिस्क्याउन थाले ।

पछि मलाई देवकोटाले भन्नुभयो, ‘त्यस्तो कुरा पनि भन्दिनुहुन्थ्यो ?’

त्यसभन्दा बढी केही भन्नुभएन ।

वास्तवमा देवकोटा एकसुरमा लागिरहने स्वभावका हुनुहुन्थ्यो । बसेर घोप्टो परेर लेखिरहनुहुन्थ्यो । अगाडि जे भेट्यो, त्यसैलाई साधन बनाएर लेख्ने गर्नुहुन्थ्यो । अरु प्रपञ्च र लप्पनछप्पन केही पनि आउँथेन

आनीबानी:  मिजासिलो, घन्टौं बोल्ने

देवकोटाजी मिजासिलो हुनुहुन्थ्यो । जोसित पनि नरम भएरै व्यवहार गर्ने । कसैलाई कडा शब्द प्रयोग गर्नुहुन्नथ्यो । सबैलाई बराबर मन पराउनुहुन्थ्यो । बरु यसो गरौं, उसो गरौं भन्नुहुन्थ्यो ।

मुख च्यापच्याप गरेर घन्टौं बोलिरहनुहुन्थ्यो । बोल्नुपर्‍यो भने बोलिरहने । एक-दुई वटा सभामा उहाँले बोल्नुभएको मलाई सम्झना छ । सरस्वती सदनमा साहित्य सम्मेलन भएको थियो । त्यहाँ देवकोटाजीलाई विशेष स्थान दिइएको थियो । उहाँले त्यस बखतमा साहित्यको बारेमा बोल्नुभएको थियो ।

वास्तवमा देवकोटा एकसुरमा लागिरहने स्वभावका हुनुहुन्थ्यो । बसेर घोप्टो परेर लेखिरहनुहुन्थ्यो । अगाडि जे भेट्यो, त्यसैलाई साधन बनाएर लेख्ने गर्नुहुन्थ्यो । अरु प्रपञ्च र लप्पनछप्पन केही पनि आउँथेन । खालि लेखन कर्म उहाँको विषय रह्यो । त्यही लेखन कार्यले उहाँलाई देश-विदेश पनि पुर्‍यायो । महाकाव्य लेखेको हुनाले उहाँलाई महाकवि भनिएको हो । कुनै औपचारिक पद दिइएको होइन ।

देवकोटा एउटा तपसी हुन् । समग्रमा देवकोटा भन्नु कलम र देवकोटा हो, त्यही नै सम्झनुपर्छ ।

प्रस्तुतिः  जोतारे धाइबा
नोटः महाकवि देवकोटाको यो स्केच ड्रिम्स डटबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment