Comments Add Comment

अझै दुई चार सय जोडी धुर्मुस सुन्तली भइदिएको भए….

giranchaur-basti-hastantaran-17उदेकलाग्दा समाचारहरुका वीचमा अस्ति एउटा मनै प्रफुल्ल हुने समाचार सुन्न र देख्न पाइयो, जुन समाचारको प्रत्यक्ष प्रसारण हेरेपछि देश प्रेमको हुटहुटीले धेरैलाई जस्तै मलाई पनि जुरुक्क उचाल्यो ।

प्रसंग हो : हास्य कलाकारद्वय धुर्मुस सुन्तलीको अथक परिश्रम र तदारुकता अनि धेरै मनकारी नेपाली नागरिकहरुको सहयोगले  ढलेको गरीबहरुको बस्ती गिरानचौर एउटा नमूना बस्तीको रुपमा उभिएको, जो एउटा जीवन्त उदाहरण बन्न पुगेको छ नेपाली राजनीति र समाजसेवाका लागि ।

देशमा राजनीति र समाजसेवा कमाई खाने भाँडो बनिरहँदा एउटा सामान्य कलाकारको जोडीको राष्ट्रनिर्माणको अठोटले गरेको यो सुन्दर कामले सबैलाई पाठ पढाएको छ: दुनियाँमा असम्भव भन्ने केही छैन । एउटा नागरिकले पनि धेरै गर्न सक्छ ।

भूकम्पले देश भताभुंग पारेको खबर पाएपछि  सपनाको देश अमेरिकालाई चटक्कै छाडेर नागरिकको दायित्व पूरा गर्न नेपाल फर्केका यी कलाकार जोडीले भनेका थिए: परदेशमा छँदा देश धेरै दुख्दोरहेछ ।

यो पंक्तिकारको धुर्मुससँग गत बैशाखमा टेलिफोन कुराकानी हुँदा धुर्मुस सुन्तली आफ्नी काखे छोरी छाडेर गिरानचौरमा अहोरात्र श्रम गरिरहेका थिए । तर, त्यसबेलासम्म फाउन्डेशनको खातामा जम्मा एक लाख पचहत्तर हजारको हाराहारीमा मात्र रकम थियो । त्यसमाथि पुनर्निर्माणमा सरकारी मापदण्डसमेत पुर्याउनु पर्ने हुँदा लागत भने क्रमश बढिरहेको थियो । देश बिदेशबाट सहयोग त आइरहेको थियो, तर अत्यन्त सुस्त गतिमा । पाँच करोड रुपैयाँ भन्दा बढी रकम जुटाउनु चानचुने कुरा थिएन ।

धुर्मुस डर मिश्रित लामो सास फेरिरहेका थिए । तर, त्यससँगै उनको एउटा बलियो अठोटले भनिरहेको थियो: धुर्मुस तँ अघि बढ् तेरो लक्ष्य अवश्य पूरा हुनेछ । यो पंक्तिकारले बिभिन्न मिडियामा धुर्मुसलाई प्रोत्साहन स्वरुप खुला पत्र “धुर्मु सुन्तु तिमी हाम्रो प्यारो नेता भएर किन जन्मेनौँ”  लेखेर अनलाइन मिडियामा चर्चित भएपछि धुर्मुसले मुस्कानका साथ भनेका थिए: साँच्चै अब बस्ती बन्ने भो । अहा, मेरो सपना पूरा हुने भो…

सरगम भट्टराई
सरगम भट्टराई

यो पंक्तिकारसहित धेरै परदेशी र घरदेशी नेपालीहरु र अख़बारहरुले पनि यो बस्ती बनोस भनेर कामना गरे । जात, पात, धर्म, सम्प्रदाय केही भनेनन् । समानताको प्रतिबिम्ब यो बस्ती बनाउन सबै लागि परे । आर्थिक रुपमा ब्यक्तिगत र संस्थागत गरी पाँच हजार बढी हितकारी मनहरु र लाखौँ मनहरुले भावनात्मक सहयोग गरे ।

हुन पनि धुर्मुस सुन्तलीको यो पवित्र कामको जताततै चर्चा भयो । सबै मिडियाहरुले खुलेर यो अभियानको प्रचार प्रसार गरे । देशभित्र बाहिर जताततैबाट सहयोगको बर्षा हुन थाल्यो ।

यहाँसम्म कि लक्ष्य प्राप्तिको सहयोग रकम उठेपछि तत्कालीन अवस्थामा निर्माण रकम पुगेकाले तत्कालीन कामका लागि सहयोग जम्मा गर्ने क्रम रोक्न समेत आग्रह गर्नुपर्यो ।

एउटा सामान्य कलाकारले गरेको यो अठोटमा होष्टेमा हैँसे गर्ने धेरै घरदेशी र परदेशीहरु निस्किए । यहाँसम्म कि युरोप अमेरिकाबाट आएका स्वयंसेवक पर्यटकहरुसम्म स्वत:स्फूर्त खटिरहँदाको त्यो अभियानमा अरु धेरै तह र तप्काका मान्छेलाई लाग्न प्रेरित गर्यो ।

दशैँको घटस्थापनामा बस्ती हस्तान्तरण गर्ने योजना निरन्तर बर्षा र भौगोलिक विकटताले गर्दा पूरा हुन सकेन : धुर्मुस जोडीले फेरि क्षमा मागेर अर्को उदाहरण दिए नेपाली राजनीति र समाजसेवालाई ।

दिन रात खटेर दशैँसमेत गिरानचौरमा मनाएका यी कर्मठ जोडीलाई माफ नगर्ने को निस्कन्थ्यो र !  बरु कागतिहारमा बस्ती हस्तान्तरण गर्न ब्यक्ति तथा संघ संस्था र राज्यका निकायहरु समेत कृयाशील भए ।

धुर्मुस-सुन्तली फाउन्डेसनले तयार पारेको ६६ सोलारजडित घर, एक सामुदायिक केन्द्र, चिल्ड्रेन पार्क, पार्किङ, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचासहितको बाल, अपांग, वातावरणमैत्री एकीकृत नमूना बस्तीका भवन भूकम्प प्रतिरोधी  सबै पूर्वाधारयुक्त सुन्दर बस्ती तयार हुने बेलासम्म त्यसको जस लिन खोज्नेहरु धेरै भइसकेका थिए । तर, धुर्मुस सुन्तलीको निष्कपट समाजसेवाको अगाडि अरुहरु अनुमोदित भएनन् । सहयोग गर्ने परदेशी र घरदेशी नेपालीहरुको एउटै चाहना थियो, यो महाअभियानको जस कसैले राजनीतिक रुपमा नलियोस, किनकि यो बस्ती बन्नुमा परदेशिएका नेपालीको ठूलो आर्थिक र भावनात्मक सहयोग थियो ।

बस्ती हस्तान्तरणको औपचारिक समारोहमा धुर्मुस सुन्तलीको समाजसेवाको तारिफ गर्न हिचकिचाउनेहरुका भाषणहरु अनुमोदन भएनन्, सबैका लागि प्रेरणाको श्रोत बन्न पुगेका धुर्मुस सुन्तलीलाई तारिफ र सरकारको ब्यंगात्मक आलोचना गर्दै बरिष्ठ कलाकार हरिबंश आचार्यले भनेका थिए: धुर्मुस सुन्तली पनि राज्यका अंग भएकाले यो सुन्दर बस्ती पनि राज्यले बनाएको हो, बरु उनीहरुबाट राज्यले सिके राम्रै हुन्छ ।

साँच्चै ! दृढ मनले सोचेर काम गरे असम्भव के नै  रहेछ र ? दुईदुई वटा वस्ती बसाएर हस्तान्तरण गर्दा पुनर्निर्माणको स्वदेशी बिदेशी बजेट डकारेर बस्नेहरुले लाजले आत्महत्या गर्नुपर्ने  हो । तर, भोलि प्रतिवेदन बनाउँदा जस आफ्नै हातमा लिएको दिन देख्न परेपनि आश्चर्य मान्नुपर्ने छैन ।

जे जस्तो भने पनि देश बनाउने राजनीतिले नै हो, ब्यक्तिले त यस्तै दुई चार बस्ती बनाउने हो । तर, राज्यलाई नै बाटो देखाउने यस्तै धेरै धुर्मुस र सुन्तलीजस्ता दुई चार सय जोडी भइदिएको भए  हो भने त देश बन्न कति बेर लाग्थ्यो र ?

अझै पनि धेरै बस्तीहरु ढलेकै छन, धेरै मान्छेहरु त्रिपालमुनि छन् , त्यसैले सबैभन्दा पहिले हामी सबैले एउटा सचेत नागरिक बनेर पुनर्निर्माणमा लाग्नुपरेको छ । आलोचना मात्रै समस्याको समाधान होईन रहेछ, सरकारले नागरिकबाट सिक्नु भनेको नागरिकतन्त्रको सुन्दर पक्ष रहेछ ।

गिरानचौर र नागरिकको स्वाभिमान ठड्याउने धुर्मुस सुन्तलीको जय होस, यो महान अभियानमा एउटा एउटा ईट थप्ने सबै हितकारी मनहरुको जय होस । दुई चार सय धुर्मुस सुन्तलीहरुको पर्दार्पण होस् । एक दिन हाम्रो स्वाभिमान सगरमाथा जस्तै अटल ठडिरहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment