Comments Add Comment

प्रधानमन्त्री भन्छन्- नेपालले भारत र चीनलाई अप्ठेरोमा पार्नसक्छ

'संविधान कार्यान्वयन र तीनवटा निर्वाचन गर्न मुख्य चुनौति'

Prachanda_2

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको स्वीकार्यतालाई फराकिलो पार्ने र निर्वाचनमा जाने नै सरकारको सबैभन्दा ठूलो चुनौति रहेको बताएका छन् । उनले अहोरात्र खटेर यसैको निम्ति काम गरिरहेको उनले बताए ।

आइतबार रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रमलाई बालुवाटरमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो अगाडिको सबैभन्दा ठूलो चुनौति भनेको संविधान कार्यान्वयन गर्ने नै छ ।’

अहिलेसम्मको उपलब्धीको रक्षा गर्ने बाटो नै स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हो भन्दै उनले यसमा कोही पनि द्विविधामा पर्न नहुने उनले बताए ।

‘देशलाई एकताबद्ध गर्ने, सबै राजनीतिक दल र शक्तिहरुलाई पनि सहमतिमा ल्याउने, संविधानमा केही संशोधन गरेर यसको स्वीकार्यतालाई फराकिलो पार्ने र निर्वाचनमा जाने । सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन गर्ने र त्यसपछि प्रदेश र केन्द्रको । यो नै अहिलेसम्मको उपलब्धीको रक्षा गर्ने बाटो हो । यो बाटोमा कोही कतै द्विविधामा पर्नु हुँदैन,’ प्रचण्डले भने ।

प्रचण्डले संविधान कार्यान्वयन गर्ने र तीनवटा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन नै अहोरात्र खटेर जोड गरिरहेको जानकारी दिए ।

‘संविधानलाई सहमतिका आधारमा संशोधन गर्ने अनि कार्यान्वयन तिर लैजाने र तीनवटा निर्वाचन सम्पन्न गर्ने । यसैमा नै सबभन्दा बढी ध्यान केन्द्रित छ । मैले प्रधानमन्त्रीको हैसियतले अहोरात्र खटेर बल गरिरहेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

संविधान संशोधन लगायतका विषयमा आइतबारै मधेसी मोर्चासाग वार्ता गर्न लागेको उनले जानकारी दिए ।

‘प्रतिपक्षसँगको सम्बन्ध निकै उत्साहपूर्ण छ’

आफू प्रधानमन्त्री बन्दा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध बिग्रिने हो कि भनेर शंका लागे पनि अहिले सम्बन्ध निकै नै सुध्रिएको उनले दावी गरे ।

‘म प्रधानमन्त्री बन्दै गर्दा सत्ता पक्ष र प्रतिपक्षको बीचमा अलि बढी नै तिक्तता बढ्ने हो कि भन्ने पनि थियो,’ प्रचण्डले भने, ‘तर यहाँसम्म आइपुग्दा अहिले वातावरण निकै नै सहज, सकारात्मक र सम्वाद पनि उत्साहपूर्ण ढंगले अगाडि बढेको छ ।’

आफू गोवा भ्रमणमा रहँदा नेपालको कारणले चीन र भारतलाई पनि अफ्ठ्यारो पर्नसक्नेतर्फ दुबै देशलाई सचेत पारेको समेत उनले जानकारी दिए । नेपाल गरिब भइरहने र दुई छिमेकी मुलकमात्र धनि भएर आनन्दसँग बस्न नसक्ने भनेर आफूले गोवा बैठकमा राखेको उनले जानकारी दिए ।

‘नेपाल गरिब नै रह्यो, नेपालमा राजनीतिक स्थीरता रहेन भने नेपाल सानो भूगोलमा त होला तर यसले चीन र भारत जस्ता देशहरुलाई पनि अफ्ठ्यारोमा पार्न सक्छ,’ प्रचण्डले भने, ‘नेपाल गरिबै रहने अनि हाम्रा छिमेकीहरु मात्रै धनि हुने र आनन्दसँग बस्ने स्थिति हुन सक्दैन भनेर मैले त्रिदेशीय समझदारीको रणनीतिको कुरा गर्दा दुबै छिमेकीका ठूला नेताहरुसँग कुरा राख्ने अवसर प्राप्त गरें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment