Comments Add Comment

गाविस कर्मचारीको नेतृत्वमा लुटियो सुर्खेतको प्रहरी चौकी

प्रहरीले प्रतिकार नगर्दा हतियार लुटियोः डिआइजी नेपाल

Nepal Police

१७ कात्तिक, काठमाडौं । सुर्खेतको आग्री गाविसस्थित देउली प्रहरी चौकी आक्रमणमा गाविसकै कर्मचारीले नेतृत्व गरेको प्रहरीले जनाएको छ । चौकीमा आक्रमण गरेर हतियार लुटेको आरोपमा प्रहरीले गाविसका प्राविधिक सहायक बीपी सिंहसहित स्थानीय केही युवाहरुलाई पक्राउ गरेको छ ।

मंगलबार राति आग्रीस्थित देउली प्रहरी चौकीमा पुगेको स्थानीयको समूहले चौकीमा आक्रमण गरेर हतियार लुटेको थियो । आक्रमणकारीले दुई नाल थ्री नट थ्री राइफल, त्यसमा लाग्ने १ सय ५० राउण्ड गोली, एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने ८ राउण्ड गोली लुटेर लगेका थिए ।

‘प्रहरीले प्रतिकार गरेन’

प्रहरी प्रवक्ता डीआइजी हेमन्त मल्लका अनुसार चौकीका एक जवान साँझ बजार गएका थिए । बजारमा रहेका केही व्यक्तिसँग ती जवानको विवाद भएको थियो । तर, विवादको कारण खुलेको छैन । त्यही विवादलाई लिएर स्थानीयले गएराति करिब साढे ८ बजे प्रहरी चौकी घेर्न पुगेका थिए ।

घरेलुहतियार सहित ठूलो संख्यामा पुगेको समूहलाई नियन्त्रण गर्न प्रहरीले कुनै प्रयास नगर्दा घटना भएको देखिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीआइजी माधव नेपालले बताए । डीआइजी नेपालका अनुसार करिब २ सय जनाको समूहले चौकीमा आक्रमण गरेको थियो ।

‘एकाएक चौकी घेरिएपछि पनि प्रहरीले नियन्त्रण प्रयास नगर्दा चौकीमा भएको हतियार लुटिएको देखिन्छ,’ डीआइजी नेपालले अनलाइनखबरसँग भने ।

चौकीको हतियार लुटिँदा समेत कुनै जवाफी कार्वाही नगरेकाले छानविन गरिरहेको मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

गाविस कर्मचारीको घरमा भेटियो राइफल

चौकीबाट लुटिएका हतियारमध्ये एक थान राइफल गाविसका प्राविधिक सहायक बीपी सिंहको घरमा भेटिएको छ । हराएको भनिएका मध्य २ थान थ्री नट थ्री राइफल, एक थान चाइनिज पेस्तोल र एक सय ५० राउण्ड गोली पनि भेटिएको छ । तर राइफलमा लाग्ने ५० राउण्ड गोली, पेस्तोलमा लाग्ने ८ राउण्ड गोली र एक थान हत्कडी भने अझै नभेटिएको प्रहरीले जनाएको छ ।

असइको नेतृत्वमा ७ जना प्रहरी रहने देउली चौकीमा हतियार लुट्न मुख्यरुपमा नौ जना सक्रिय भएको देखिएको प्रहरी प्रवक्ता डीआइजी हेमन्त मल्लले बताए ।

‘कतिपयले यस्तो गर्न हुँदैन भन्दाभन्दै बीपी सिंहसहित ९ जनाको समूहले चौकीका प्रहरी माथि आक्रमण गरेर हतियार लुटेको देखिन्छ । त्यसमध्ये ६ जना पक्राउ परिसकेका छन्,’ डीआइजी मल्लले भने ।

चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले देउली गाविससँग सीमाना जोडिएको काफलकोट गाविसका केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायतलाई पक्राउ गरेको छ ।

चौकी आक्रमणबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट एसपीसहितको टोली घटनास्थल पुगेको छ । टोलीले आक्रमणमा संलग्नहरु कुनै पार्टी वा समूहमा आवद्ध नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment